पढाउने गुरुहरू खै ?

पढाउने गुरुहरू खै ?
प्रभाना बिष्ट । विष्ट नरहरीनाथ गाउँपालिका–८ लालु, कालीकोटस्थित मंगलाशैनी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा हुन्।

'भोलि बुधबारदेखि विद्यालय अनिश्चितकालीन बन्द हुन्छ,’ गत मंगलबार नै नेपाली पढाउने सरले हामीलाई यस्तो सूचना सुनाउनुभयो। किन सर भनेर प्रश्न गरें ? उहाँले सरकारले सामुदायिक विद्यालयका शिक्षकलाई अन्याय हुने गरी नयाँ शिक्षा विधेयक संसद्मा दर्ता गराएकाले शिक्षकहरू आन्दोलनमा जाने भए भन्नुभयो। 

संघीय सरकार, प्रदेश र स्थानीय तहको अनुदान र निजी स्रोतमा सञ्चालन भएको हाम्रो विद्यालयमा विषय अनुसारका शिक्षक पनि छैनन्। जसोतसो पढाइ भएको थियो। तर, शिक्षक आन्दोलनमा गएका कारण विद्यालय बन्द भयो। म त बिर्सिएर बिहान स्कुल जान तयार भएछु। पछि आमाले सम्झाएर तेरो त आज बन्द हो भन्नुभयो। हो त नि भनेर लगाएको ड्रेस खोलेँ। दिनभर विद्यालय कहिले खुल्छ होला भनेर सोचिरहेँ। 

यो वर्ष हाम्रो एसईई छ। कक्षा १० का सबै विषयहरूको पढाइ अहिलेसम्म निकै कम भएको छ। हुन त हाम्रो विद्यालयमा प्रायः हरेक वर्ष एसईई परीक्षा दिने विद्यार्थीले पूरै कोर्ष नपढेरै परीक्षा दिन्छन्। एकै शिक्षकले धेरै विषय पालैपालो शिक्षण गर्नुपर्ने अवस्था छ। जसले गर्दा हरेक विषयको पढाइ पहिलो एकाइ पनि पूरा भएको छैन। 

आफ्ना बालबालिकाको पढाइका विषयमा अभिभावकले विद्यालय आएर चासो राख्ने काम पनि पटक्कै गर्दैनन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमेश बिष्टले भने हाम्रो पढाइको विषयमा चासो र चिन्ता राख्नु हुन्छ। सबैले राम्रो जीपीए ल्याउनुपर्छ भनेर हामीलाई हौसला दिनुहुन्छ। तर, शिक्षक आन्दोलन भन्दै विद्यालय नै बन्द भएपछि अब कसरी हामीले पढ्ने ? कसरी राम्रो नतिजा ल्याउने ? अझ विद्यालय बन्द भनेर सूचना दिने सरले असोजमा शिक्षक आन्दोलन, कात्तिकमा दसैं र तिहार भएकाले विद्यालय बन्द रहने र एकैपटक मंसिर ६ गतेपछि विद्यालय खुल्ने बताउनुभएको छ। यसले त हाम्रो पढाइमा धेरै बाधा पुग्ने भयो। 

मैले सुनेको विद्यालय शान्ति क्षेत्र हो। जहाँ बन्द, हड्ताल र आन्दोलन हुँदैन। न कुनै राजनीतिक कार्यक्रम नै। तर, विद्यालय सञ्चालन गर्ने शिक्षकहरूले नै आन्दोलन गरेर विद्यालय बन्द गर्दा हाम्रो पढ्न पाउने अधिकार खोसियो।  अब सरकारले शिक्षकहरूले राखेका माग ठीक भए पूरा गर्नुपर्‍यो नभए शिक्षकलाई विद्यालय सञ्चालन गर्न निर्देशन दिनुपर्छ। 

(विष्ट नरहरीनाथ गाउँपालिका–८ लालु, कालीकोटस्थित मंगलाशैनी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा हुन्।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.