सिण्डिकेटको विरुद्धमा लागेको भन्दै निर्माण व्यवसायीमाथि कुटपिट
गोरखा : सिण्डिकेटको विरुद्धमा लागेको भन्दै एक समूहले भट्ट निर्माण सेवाका प्रोपाइटर रमन भट्टमाथि कुटपिट गरेको छ । ठेक्का मिलाउन बारम्बार आएको चेतावनी उल्लङ्घन गरी ठेक्का फर्म दर्ता गरेको भन्दै निर्माण व्यवसायी संघका जिम्मेवार पदाधिकारीको नेतृत्वमा आएको टोलीले आफूमाथि सांघातिक आक्रमण गरेको भट्टले जानकारी दिए ।
गोरखा नगरपालिका १ छापथोकस्थित निवासमा सुतिरहेको अवस्थामा साँझपख आफूमाथि कुटपिट भएको उनको भनाइ छ । ‘ठेक्का मिलाउनु पर्छ, फर्म दर्ता नगर् भनेर निर्माण व्यवसायी संघका जिम्मेवार पदाधिकारीहरुले बारम्बार चेतावनी दिने गरेका थिए, तर मैले प्रतिस्पर्धा गर्नुपर्छ भनेर बिहीबार अन्तिम दिन फर्म दर्ता गरेँ’, उनले भने, ‘एक्कासी एकजना जिम्मेवार पदाधिकारीको नेतृत्वमा १४ वटा बाइकमा २०/२२ जना केटाहरु आएर बाहिर निस्की भने । अनि घरभित्रै पसेर कुटपिट गरे ।’
गाउँले जम्मा भएपछि उनीहरु भागेका भट्टले बताए ।
बिहीबार साँझ ७ बजेतिर आक्रमण गरेको उनको भनाइ छ । ‘घटना घट्नेबित्तिकै सबैभन्दा पहिले प्रहरीलाई खबर गरेको थिएँ, तर प्रहरी एकघण्टा बितिसक्दा पनि आइपुगेन’, उनले भने ।
भट्टले ठेक्का नम्बर ७ अन्तर्गत कयपानी, ताराखसे, सिमलफेद सडक स्तरोन्नतिको र ठेक्का ५ अन्तर्गत कोखेभञ्ज्याङ, सिख्रे्र, खानचोक, कोयपानी, आहालभञ्ज्याङ, खानचोकभञ्ज्याङ, कयभञ्ज्याङ सडक स्तरोन्नतिको ठेक्कामा फर्म दर्ता गरेका थिए । मिलेमतो गरी ठेक्का पार्ने योजना असफल बनाएको आक्रोशमा आफूमाथि आक्रमण भएको उनको आरोप छ ।
घटनाको बारेमा सूचना पाउनेबित्तिकै प्रहरी परिचालन गरिएको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए । कुटपिटबाट घाइते भट्टको अहिले काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
एघारकिलो, छेपेटार, भालुस्वाँरा, बारपाक सडक योजना कार्यालयले आह्वान गरेको नौ वटा प्याकेजको ठेक्काको दर्ता गर्ने बिहीबार अन्तिम मीति थियो । कार्यालयका अनुसार ठेक्का नं. १ मा ४ वटा फर्म दर्ता भएका थिए । ठेक्का नं. २ मा ९ वटा, ठेक्का नं. ३ मा चार वटा, ४ मा ५ वटा फर्म दर्ता भएका थिए । त्यस्तै, ठेक्का नं. ५ मा १३ वटा, ६ मा ४ वटा, ७ मा ६ वटा, ८ मा एउटा र ठेक्का नं. ९ मा सातवटा फर्म दर्ता भएका कार्यलयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !