समावेशीका विषयमा नेपाल निकै अगाडि छ : सभापति देउवा
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशीका विषयमा नेपाल निकै अगाडि रहेको बताएका छन्। आइतबार काठमाडौंमा नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै देउवाले भारतमा भर्खरै मात्र महिला सहभागिता सुनिश्चित गरेको अवस्थामा नेपालले यसअघि नै समावेशीसहितको संविधान जारी गरिसकेको बताएका हुन्।
उनले राष्ट्रिय सहमति कायम गर्न सके सबै जातजातिका लागि समावेशी सहभागिता बढाउन सकिने जिकिर गरे। देउवाले नेपालमा जातभन्दा पनि व्यक्तिलाई हेरेर भोट दिने गरेको भन्दै निर्वाचनमा योग्य भएर राज्यको विभिन्न निकायमा सहभागिता जनाउन सकिने उल्लेख गरे।
त्यस्तै उनले नेपालमा मुस्लिम समुदायले सदियौँदेखि राष्ट्रहितमा काम गरेकाले मुस्लिम संघले पनि मुलुकको हितमा काम गर्ने विश्वास व्यक्त गरे। कार्यक्रममा नेपाल मुस्लिम संघले सभापति देउवालाई अभिनन्दन गरेको थियो ।