एक सातामा ८ फरार कसुरदार पक्राउ
![एक सातामा ८ फरार कसुरदार पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/police-office-udayapur_eYKL0okAnH_Rs50wGVsiw.jpg)
उदयपुर : जिल्ला अदालत उदयपुरले गरेको फैसला कार्यान्वयनमा जिल्ला प्रहरी कार्यालयले सक्रियता बढाएको छ। घटना लगत्तै र अदालतको फैसला पछि फरार रहेका कसुरदारलाई पक्राउ गर्न प्रहरीले ‘फरार प्रतिवादी पक्राउ' अभियान नै सञ्चालन गरी सकृयता बढाएको हो।
अभियानअन्तर्गत पछिल्लो एक सातामा ८ जना पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले बताए। उनले भने,‘अदालतका फैसलापछि धेरै प्रतिवादीहरु फरार रहेको देखियो, फैसला कार्यान्वयन नगर्ने हो पीडित थप पीडामा पर्छन्, त्यसैले हामीले छुट्टै टीम बनाएर परिचालन गरेका छौँ।’
उनले प्रतिवादी पक्राउका लागि प्रविधिको अधिकतम प्रयोग गरिएको बताए। प्रहरीले सोमबार त्रियुगा नगरपालिका–१२ सोनापुरका २६ वर्षीय रबिन मगर पक्राउ गरेको छ।
सार्वजनिक अपराध कसुरमा अदालतको २०७३ असार २९ गतेको फैसला अनुसार मगर पक्राउ परेको सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले बताए। मगरलाई प्रहरीको विशेष टोलीले बरुवा बसपार्क क्षेत्रभित्रबाट पक्राउ गरिएको उनले बताए।
त्यसैगरी आइतबार त्रियुगा नगरपालिका- १२ का ४५ वर्षीय कृष्णदेव बहडी शर्मा चेक अनादर गरेको कसुरमा पक्राउ परेका छन्। उनलाई अदालतले एक वर्ष कैद र ७ लाख जरिवाना तोकेको डीएसपी चौधरीले बताए। सिरहाको ठाँडिबाट पक्राउ गरेको हो।
त्यसैगरी सोही दिन सुनसरीको ईनरुवा नगरपालीका वडा नम्बर २ का ५५ वर्षीय ईनरलाल मेहतालाई प्रहरीले चोरी मुद्दा पक्राउ परेको छ। ५० हजार जरिवाना तोकिएपछि फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको उनले बताए।
प्रहरीले वन मुद्दामा फरार रहेका त्रियुगा नगरपालिका–१२ का ३१ वर्षीय भोजकुमार बोटेलाई पक्राउ गरेको छ। उनलाई अदालतले १ हजार ८३० जरीवाना तोकेको छ।
त्यस्तै लागुऔषध ओसारपसारको कसुरमा त्रियुगा नपा–१३ का २३ वर्षीय रोनिस ठटाल पक्राउ परेका छन्। प्रहरीले अदालतको फैसलापछि फरार रहेका त्रियुगा १३ का २६ वर्षीय रोयल राईलाई गाउँघरबाटै पक्राउ गरेको जनाएको छ। प्रहरीले लागुऔषध मुद्दामा फरार रहेका त्रियुगा–१० का २९ वर्षीय गणेश भुजेल र ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका बेलका नगरपालिका- ९ रामपुरका ३६ वर्षीय रुपेश नेपालीलाई पनि पक्राउ गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)