उर्लंदो नदी तर्दै स्कुल जान्छन् बालबालिका

उर्लंदो नदी तर्दै स्कुल जान्छन् बालबालिका
साङ्डा र थलार टोलका विद्यार्थी गणेश माविमा अध्ययन गर्न जाने क्रममा न्वाघरी नदी तर्दै ।  तस्बिर : शिक्षिका लक्ष्मी चन्द

बैतडी : बिहान न्वाघरी नदी छेउमा विद्यार्थी जम्मा हुन्छन्। शिक्षिका लक्ष्मी चन्द आइपुग्छिन्। अनि, सबैले जुत्ता, चप्पल हातमा लिन्छन्। शिक्षिका चन्द नदीमा पस्छिन्। विद्यार्थीहरू उनको सहारामा एकले अर्कोको हात समात्दै नदीमा पस्छन्। अनि, सबै मिलेर नदी तर्छन्। विद्यालयबाट फर्केपछि पनि त्यसैगरी नदी तरेर घर आइपुग्छन्। कम्मरसम्मको नदी तर्दा कतिबेला के हुने हो ? डर र त्रास पाल्दै स्कुल आउजाउ गर्नुपर्छ। यो व्यथा हो– बैतडीको सिगास गाउँपालिका–७ का साङ्डा र थलारका विद्यार्थीको। 

साङ्डा र थलारका ३५ जना विद्यार्थी वडा नं ६ को गणेश माविमा अध्ययन गर्छन्। उनीहरू पढ्न जाने बाटोमा पुल छैन। त्यसैकारण कम्मरसम्मको न्वाघरी नदी छिचोल्दै विद्यालय पुग्ने गर्छन्। न्वाघरीको भेलले ३ जनाको ज्यान लिइसकेको छ। तर, पनि, नदीसँग दैनिक पौठेजोरी गरेर पढ्न जानुको विकल्प उनीहरूसँग छैन।

म नआउँदासम्म सबै विद्यार्थी नदी किनारमा बसिरहन्छन्। त्यसपछि लहरै नदी तरेर विद्यालय पुग्छौं। - लक्ष्मी चन्द,शिक्षिका, गणेश मावि

शिक्षिका चन्द भन्छिन्– म नआउँदासम्म सबै विद्यार्थी नदी किनारमा बसिरहन्छन्। त्यसपछि लहरै नदी तरेर विद्यालय पुग्छौं।’ बर्खामा कुन बेला भेल आउँछ, पत्तो नै हुँदैन। त्यसैकारण नदी आउजाउ गरेर विद्यालय पुग्न निकै कठिन हुने गरेको विद्यार्थीहरू बताउँछन्।

‘हिउँदकै समयमा कम्मर र छातीसम्मको नदी तरेर विद्यार्थीहरू पढ्न जानुपर्छ,’ शिक्षिका चन्दले भनिन्। ‘विद्यार्थी मात्रै खोला तर्न सक्दैनौं, कक्षा १० मा अध्ययनरत साङडाकी बिन्दु चन्दले भनिन्, ‘म्याडम पुगेपछि मात्रै नदी तर्छौं।’ 

नदी तर्दा लुगा भिजेर निथु्रक्कै हुने र भिजेकै लुगा लगाएर दिनभर अध्ययन गर्नुपर्ने बाध्यता हुने गरेको विद्यार्थी चन्दले बताइन्। कहिलेकाहीँ त कापी कलम नै नदीले बगाई दिने गरेको पनि उनले सुनाइन्। न्याघरी नदीमा पुल नहुँदा जोखिम मोलेर बालबालिकाले नदी तर्नुपर्ने अवस्था रहेको गणेश माविका प्रधानाध्यापक कालुसिंह साउदले बताए। पुल नभएकै कारण त्यहाँका विद्यार्थीको पढाइ पनि प्रभावित बन्ने गरेको साउदले बताए।

पुल निर्माण गरिदिन तीनै तहका सरकारसमक्ष आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो गर्छन्, स्थानीय दानसिंह ऐर। ऐरले भने, ‘नेताहरू चुनावको बेला आउँछन्। समस्या राख भन्छन्। हामीले कतिपटक पुल निर्माणका लागि माग राख्यौँ। तर, केही सुनुवाइ भएन।’  

गाउँपालिकाले निर्माण गरेको पुल तीन वर्ष पहिले बाढीले बगाएको थियो। त्यस यता पुल निर्माणका लागि कुनै पहल भएको छैन। कहिलेकाहीँ त स्थानीयले विद्यार्थीलाई नदी तारिदिने गरेको बताउँछन्। यसअघि निर्माण गरिएको पुल बगाएर लगेको र फेरि पनि पुल निर्माण गर्नका लागि गाउँपालिकाले प्रदेश सरकारसँग आवश्यक पहल गरिरहेको वडा नं ७ का वडाध्यक्ष कर्णसिंह साउदले बताए।

गाउँपालिका उपाध्यक्ष धाना धामीले न्वाघरी नदीमा ४ वटा पुलहरू निर्माण भए पनि विद्यार्थी ओहोरदोहोर गर्ने ठाउँमा पुल नभएको बताइन्। ‘विद्यार्थी आउजाउ गर्ने ठाउँमा अभाव रहेछ,’ उनले भनिन्, ‘पुल निर्माणका लागि पहल गर्छाैं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.