मणिपाल अस्पतालमा चिकित्सकमाथि हातपात : पोखराका अस्पताल बन्द
पोखरा : मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि सोमबार दिउँसो हातपात भएको घटनाका कारण मंगलबार मणिपाल शिक्षण अस्पताललगायत पोखराका अस्पतालका इमरजेन्सी सेवाबाहेक अरु सेवा बन्द भएका छन्।
गण्डकी प्रदेशकै ठूलो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) बिहान साढे दस बजेसम्म कुपन लिएका बिरामीको जाँचपछि ओपीडी सेवा बन्द भएको थियो। पोखराका अन्य निजी अस्पताल पनि बन्द रहे। चिकित्सकमाथि एकपछि अर्को आक्रमण भएकोले माग पुरा नभएसम्म आन्दोलन जारी रहने चिकित्सकले बताएका छन्। बुधबार पनि पोखराका अस्पताल बन्द रहने नेपाल चिकित्सक संघ गण्डकीका संयोगक डा. राजन शर्माले बताए।
लमजुङ सुन्दर बजारकी ५७ वर्षीया सुकमाया दुरा श्वासप्रश्वास तथा ढाड दुख्ने समस्यासम्बन्धी बिरामी भई मणिपाल अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको थियो। मृतकका आफन्तले उपचारमा डाक्टरको लापारबाहीको कारण आफन्तको मृत्यु भएको आरोप लगाउँदै मृत्युको कारण खुलाउन माग राखी आन्दोलित भई उपचारमा संलग्न चिकिन्सकमाथि हातपात भएको थियो।
चिकित्सकमाथि हातपात भएको घटनालाई लिएर सुरक्षाको माग गर्दै डाक्टरहरू आन्दोलनमा उत्रेका हुन्। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाही गर्नुपर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघ गण्डकी शाखाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। पीडितका आफन्तले मृत्यु हुनुको कारण स्पष्ट पार्न र दोषीउपर कारबाहीको माग गरेका छन्।
मणिपाल शिक्षण अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा गम्भीर अवस्थामा ल्याइएका बिरामीको उपचारमा अस्पतालमा उपलब्ध सेवा सुविधा प्रयोग गर्दै चिकित्सकले गरेको अथक प्रयत्नका बाबजुद बिरामीको सोमबार दिनको १ः१५ बजे मृत्यु भएको जनाएको छ।
शरीरमा ब्लडप्रेसर अत्यन्तै न्यून रहेको अवस्थामा स्थानीय क्षेत्रका स्वास्थ्य संस्थाहरूबाट रिफर भई आएका बिरामीको स्वास्थ्य अवस्था नाजुक रहेको र उहाँलाई बचाउन चिकित्सकहरूले सक्दो प्रयास गर्ने चिकित्सकको परामर्श स्वीकार गरी उपचार गराउन मन्जुर हुने तर उपचारको क्रममा बिरामीको मृत्यु भएपछि अन्य कुनै कुण्ठित उद्देश्य लिएर चिकित्सक माथि आक्रमण गर्ने कार्य निन्दनीय रहेको मणिपाल शिक्षण अस्पतालले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !