एनआरएनए नेतृत्वमा ५ को दाबी, कसका एजेन्डा के ?
लन्डन : गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वयपरिषद् (आईसीसी) को ११औं महाधिवेशन नजिकिएसँगै चुनावी माहोल पनि तात्दै गएको छ। आगामी अक्टोबर १७ देखि २० सम्म काठमाडौंंमा तय महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि यतिबेला उम्मेदवारी घोषणाको लहर चलेको छ।
अध्यक्षसहित आईसीसीका सबै पद र क्षेत्रीय समितिका विभिन्न जिम्मेवारीमा पनि आफ्नो आकांक्षा सार्वजनिक गर्नेहरू प्रशस्तै देखिएका छन्। महाधिवेशनमा संसारभरका राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरूबाट चुनिएर आउने करिब चार हजार प्रतिनिधि(डेलिगेट) ले भाग लिनेछन्। यिनै डेलिगेटले दिने मतका आधारमा नयाँ नेतृत्व चयन हुनेछ। विवादका कारण महिना पर सरेको दुई वर्षअघिको अधिवेशनमा अन्ततः भागबन्डाबाटै तीन अध्यक्षसहितको जम्बो कार्यसमिति बन्यो। त्यसमाथि शेष घले पक्षधरहरू चोइटिएर छुट्टै अधिवेशन गरेपछि संस्था विभाजित भयो।
संस्थामा चरम आलोचना र निराशा निम्त्याएको पछिल्लो अधिवेशनले पुर्याएको क्षतिलाई पूर्ति गर्दै आसन्न अधिवेशनले गलत बाटो हिँडेको संस्थालाई सही बाटोमा फिर्ता ल्याउने आशा गरिएको छ। संघलाई आगामी दुई वर्ष नेतृत्व प्रदान गर्ने अध्यक्ष पदमा स्वभाविकतः रोचक प्रतिस्पर्धा छ। हालसम्म विभिन्न पाँच आकांक्षीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
आईसीसीका वर्तमान अध्यक्षद्वय डा. बद्री केसी र रविना थापा, उपाध्यक्षद्वय महेश श्रेष्ठ र आरके शर्मा तथा उपमहासचिव विनय अधिकारी मैदानमा देखिएका अध्यक्ष उम्मेदवार हुन्। अध्यक्ष उम्मेद्वारमध्ये केसी, श्रेष्ठ र शर्मा प्यानलसहित निर्वाचनमा जाने तयारीमा देखिन्छन्। एनआरएनएभित्र संस्थापन र इतर पक्षबीचको दूरी नै प्यानल निर्माणको प्रमुख आधार देखिन्छ । राजनीतिक आस्था, क्षेत्रीय तथा व्यक्तिगत निकटताले पनि प्यानलमा भूमिका खेल्ने गरेका छन्।
लामो अनुभव र योगदान मेरो उम्मेदवारीको आधार
- डा. बद्री केसी
एनआरएनएको भावी अध्यक्ष दौडमा फ्रन्टलाइनमा छन् रसियावासी वर्तमान कार्यकारी अध्यक्ष डा. बद्री केसी। डा. केसीलाई उनको उम्मेदवारीमा एनआरएनए संस्थापन पक्षको साथ छ। उनलाई संस्थामा बलियो पकड राख्ने पूर्वअध्यक्ष जीवा लामिछानेको समर्थन रहने ठानिन्छ। राजनीतिक कोणले नेकपा एमालेनिकट उनलाई संसारभरका एमालेजनको सद्भाव त छँदैछ। एनआरएनए आईसीसीमा कोषाध्यक्ष, दुई कार्यकाल महासचिव, उपाध्यक्ष हुँदै अध्यक्षसम्मका जिम्मेवारीको अनुभव लिइसकेका केसीलाई संस्था बुझेको र नेतृत्व क्षमता रहेको नेताको रूपमा चित्रण गर्ने गरिएको छ। संस्थामा योगदानका हिसाबले अध्यक्षका अरू प्रत्यासीभन्दा ‘सिनियर’ हुनुको पनि लाभ उनलाई छ।
विवाद मिलाउने प्रयासमा अघिल्लोपटक तीनजना अध्यक्ष बनाइँदा ६ महिना मात्रै कार्यकारी भूमिका पाएका डा. केसी अब भने सिंगो कार्यकाल एकल अध्यक्षका रूपमा काम गर्न आतुर छन्। ‘यो कार्यकाल त विवाद मिलाउनमै सकियो। चाहेजसरी संस्थागत कामहरू गर्न सकिएन। अब निर्वाचनमार्फत् पूर्ण म्यान्डेट लिएर फुल फेजमा काम गर्ने मेरो चाहना छ।’, उनले भने। एनआरएनएमा विगत २० वर्षदेखि आफ्नो निरन्तर लगाव र योगदान रहँदै आए पनि त्यसबाट संस्थाले लिनुपर्ने जति लाभ लिन नपाएको केसीको निष्कर्ष छ। ‘भित्तामा मेरो फोटो त पहिल्यै टाँसिएको छ नि। अब फेरि अध्यक्ष बन्नकै लागि होइन, नतिजा देखिने गरी काम गर्न इच्छुक छु’, उनले भने।
आईसीसी निर्वाचनमा संसारभरका सबै सदस्यलाई मताधिकार व्यवस्था, गैरआवासीय नेपालीका सबै आर्थिक, सांस्कृतिक तथा सामाजिक अधिकार सुरक्षित हुने गरी नागरिकता ऐन संशोधन, विदेशमा अध्ययनरत नेपाली विद्यार्थी तथा थाइल्यान्ड, बर्मालगायतका देशमा रहेका नेपालीमूलका नेपालीभाषीलाई समेत समेट्ने गरी एनआरएनको पुनः परिभाषालगायत डा. केसीका मूल एजेन्डा छन् ।
त्यसैगरी, १० अर्बको संयुक्त लगानी कोषलाई पूर्णता, संस्थामा बौद्धिक वर्ग र नयाँ पुस्ताको सहभागिता, वैदेशिक रोजगारीमा जाने श्रमिकलाई रोजगारदाताकै योगदानबाट सामाजक सुरक्षा कोष व्यवस्थालगायतका मुद्दा पनि उनले प्राथमिकतामा राखेका छन्। गत महाधिवेशनमा निर्वाचन हुन नसक्नु संस्थाका लागि दुर्भाग्य बनेको ठहर डा. केसीको छ ।
‘निर्वाचन हुन नसक्दा एकदमै नराम्रो भयो। त्यसैले काम गर्ने गतिलो वातावरण बन्न सकेन। तर, संस्था टुक्रिएला कि भन्ने डर सबैलाई थियो। संस्था जोगाउनकै लागि हामीले त्याग गर्यौं। कमसेकम अहिले संस्था एकताबद्ध छ’, उनले भने। आसन्न अधिवेशन पनि दुई वर्षअघि जस्तै विवाद, राजनीतिक हस्तक्षेप हुँदै पदीय भागवन्डामै गएर टुंगिने हो कि भन्ने आशंका कतिपयलाई छ। तर, अहिले कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हालेका डा. केसी भने त्यो जोखिम नरहेकोमा ढुक्क छन् ।
‘गैरआवासीय नेपाली संघलाई गैरराजनीतिक नै राख्दा राम्रो हुन्छ भनेर सबै राजनीतिक पार्टीले मनन गरिसकेका छन्। फेरि अहिले सदस्यतादेखि डेलिगेट चयनसम्ममा खासै विवाद छैन। कार्यकारी अध्यक्षका हैसियतमा म पनि विधि र प्रक्रियासंगत ढंगले नै अधिवेशन सम्पन्न गर्नुपर्छ भन्ने पोजिसनमा दृढ छु।’
संस्थामा हालसम्म पुर्याएको योगदान र अनुभवकै आधारमा अबको नेतृत्वमा आफ्नो उम्मेदवारीको औचित्य पुष्टि हुने डा. केसीको तर्क छ। ‘अरु आकांक्षी साथीहरूले पनि यसपटक मलाई सहयोग गर्नुपर्छ। मैले सबैसँग संवाद गरेर सहमति जुटाउने कोसिस पनि गर्दैछु’, उनले भने, ‘सर्वसम्मत भयो भने त राम्रो। नभए निर्वाचनमा गएर परीक्षित भएर आउनु पनि झन् राम्रो। म दुवै विकल्पमा तयार छु।’
क्षमता देखाएकी छु, विश्वास जित्छु भनेर ढुक्क छु
- रविना थापा
एनआरएनए आईसीसीका वर्तमान तीन अध्यक्षमध्ये एक रविना थापा पनि भावी अध्यक्षकी उम्मेदवार छन्। अमेरिकाबासी थापाले एनआरएनए आईसीसीमा पहिलो महिला अध्यक्षको रेकर्ड बनाइसकेकी छन्। वर्तमान कार्यकालमा ६ महिना कार्यकारी भूमिका पाएकी उनी पनि अब भने एकल अध्यक्ष बन्ने प्रयासमा छन्।
पछिल्लो अधिवेशनमा बहुअध्यक्षीय प्रणाली स्वीकारेर भए पनि संस्था जोगाउने पहल गरेको उनी बताउँछिन्।’ विषम परिस्थितिमा चुनाव हुने अवस्था भएन। सम्झौता गरेरै पनि संस्था जोगाउने काम भयो’, उनले भनिन्।
असहज र छोटो कार्यकालमा पनि गतिलो काम गरेर देखाउन सकेको आत्मविश्वास भने थापासँग छ। ‘मेगा प्रोजेक्टहरू अघि बढाउने, कार्यालय व्यवस्थित गर्नेदेखि थुप्रै च्यारिटी कामहरू पनि भएका छन्। विभिन्न देश पुगेर एनसीसीका विवाद मिलाउने काम गरेकी छु’, उनी भन्छिन्, ‘मैले कति काम गर्न सक्छु भनेर देखाइसकेकी छु। त्यसैले अब फेरि जिम्मेवारी पाउँछु भन्नेमा ढुक्क छु।’
सन् २००२ देखि अमेरिका बस्दै आएकी थापाले त्यहाँका थुप्रै सामाजिक संघसंस्थाको नेतृत्व सम्हालिसकेकी छन्। सन् २००९ मा एनसीसी अमेरिकाको बोर्ड अफ डाइरेक्टरबाट सुरु भएको उनको एनआरएनए यात्रा त्यसयता निरन्तर छ। एनसीसी अमेरिकाको उपाध्यक्ष, आईसीसीको उपाध्यक्ष हुँदै संस्थाको पहिलो महिला अध्यक्षको किर्तिमानसमेत बनाइसकेकी छन् उनले।
संस्था चुनावमुखी भएको, डेलिगेट छनोटकै कारण निम्तिने विवादले संस्था विभाजनसम्म पुर्याएको तथा एनआरएनएकै विभाजनले डायस्पोराको सिंगो नेपाली समाजसमेत विभाजित भएको थापाको ठहर छ। ‘त्यसैले मेरो पहिलो एजेन्डा नै विभाजित समाजलाई एकबद्ध गर्नु छ। डेलिगेट प्रथा अन्त्य गरेर सबै पञ्जीकृत सदस्यलाई मताधिकार दिएपछि मात्रै मुख्य विवाद आफैं हल हुन्छ भन्ने मलाई विश्वास छ।’
गैरआवासीय नेपालीलाई व्यवस्था भएको एनआरएनए नागरिकता अधुरो रहेकाले वंशजकै नागरिकता निरन्तरताको पहल प्रभावकारी ढंगले अघि बढाउने थापाको अठोट छ।
‘नागरिकलाई त पूर्ण अधिकार हुनुपर्छ नि ! राजनीतिक अधिकार कटौती गरिएपछि पनि कसरी नागरिकता हुन सक्छ ? त्यो त खास एनआरएनए परिचयपत्र मात्र हो। मैले पूर्ण नागरिकताको पहल गर्नेछु’, उनले भनिन्।
वैदेशिक रोजगारीमा जाने नेपालीलाई अन्तर्राष्ट्रिय श्रमिक कानुनले व्यवस्था गरेबमोजिम सुरक्षा दिलाउने, नेपालमा विकट क्षेत्रका महिला तथा बालबालिकाको स्वास्थ्य र शिक्षामा सहयोग पुर्याउने, विदेशमा ज्ञान, सिप सिकेर फर्किनेहरूलाई उद्धमशीलतामा प्रोत्साहन गर्नेजस्ता अरू एजेन्डा पनि थापाले महत्वकासाथ अघि सारेकी छन्।
एनआरएनए विधानले निर्वाचनमा गुट वा प्यानल बनाउन बन्देज गरेकोबारे आफू सचेत रहेको थापा बताउँछिन्। ‘कुनै राजनीतिक, जातीय वा क्षेत्रीय हिसाबले प्यानल बनाउने छुट हाम्रो विधानले दिँदैन। कसैले यो नियम उल्लंघन गर्छ भने अब त सिधैं अदालतको सामना गर्नुपर्ने अवस्था छ’, उनी भन्छिन्, ‘म कुनै प्यानल निर्माण गर्दिनँ। तर मेरो एजेन्डामा सहमत हुने साथीहरूको समर्थन जुटाएर अघि बढ्छु।’
उम्मेदवारीमा अडिग रहने र निर्भिक रूपमा निर्वाचनको सामना गर्ने मनसायमा आफू रहेको थापाको भनाइ छ। तर सर्वसम्मति बन्ने अवस्थामा भने सहमति र सहकार्यका लागि आफू बाधक नबन्ने पनि उनले बताएकी छन्।
मध्यपूर्वलाई पहिलोपटक नेतृत्व दिलाउँछु
- आरके शर्मा
एनआरएनए अध्यक्षको दौडमा रहेका मुख्य प्रत्यासीमध्ये एक हुन् कतारका आरके शर्मा। सन् २००३ मा श्रमिकको हैसियतमा कतार पुगेका उनको परिचय अहिले भने थुप्रै कम्पनीका मालिक ‘बिजनेसम्यान’ का रूपमा फेरिएको छ। कतारमा मेडिकल सेन्टर, फेसिलिटी मेनेजमेन्ट, निर्माणसहितका व्यवसाय सञ्चालन गरेका उनले नेपालमा पनि हाइड्रो, बैंकिङ, केबलकारलगायतका क्षेत्रमा लगानी गरेका छन्।
एनआरएनए अभियानमा शर्माको यात्रा १७ वर्ष लामो छ। आईसीसी सदस्य, मध्यपूर्व संयोजक, आईसीसी सचिव हुँदै वर्तमान समितिमा उपाध्यक्षसम्मको जिम्मेवारी उनले सम्हालिसकेका छन्। त्यसअघि कतार एनसीसीको सल्लाहकारदेखि आईसीसीका विभिन्न टास्कफोर्समा रहेर पनि उनी एनआरएनमा सक्रिय रहे।
शर्माको अध्यक्ष उम्मेदवारीमा सबैभन्दा चर्को मध्यपूर्वको नारा घन्किएको छ। श्रमिक एनआरएनहरूको बाहुल्य रहेको मध्यपूर्वलाई पहिलोपटक आईसीसीको अध्यक्ष दिलाउने अठोट उनले व्यक्त गरेका छन्।
राजनीतिक रूपमा नेकपा माओवादीनिकट मानिने शर्मालाई उक्त पार्टीका समर्थकहरूको सहयोग मिल्ने देखिन्छ। कुनै पनि पार्टीको क्रियाशिल सदस्य नरहेको बताउने उनी आफूले सबै पार्टीको साथ पाउने र मिलेर काम गर्न सक्ने विश्वास व्यक्त गर्छन्।
चुनावी अभियानमा अन्य उम्मेदवारको तुलनामा झन् बढी सक्रिय देखिएका शर्मा यतिबेला विश्व दौडाहामा छन्। हालसम्म विभिन्न ३६ देश पुगेर उनले स्थानीय एनआरएनए अभियन्ताहरूसँग अन्तरक्रिया गरिसकेका छन्।
‘संसारभरका एनआरएनए साथीहरूसँगको भेटले मलाई ठूलो ऊर्जा र हौसला दिएको छ। आशा राखेभन्दा पनि अझ बढी समर्थन र साथ पाएको छु’, उनी भन्छन्, ‘मूल नेतृत्वमा परिवर्तन गरेर मात्रै संस्थाको परिवर्तन र सुधार सम्भव छ भन्ने सबैको राय छ। त्यसकारण पनि संस्थामा मेरो नेतृत्व अब निर्विकल्प र जरुरी बनेको छ।’
हालसम्म पनि च्यारिटीमै केन्द्रित रहेको एनआरएनएमा अब नीतिगत तहमा काम गर्न जरूरी रहेको शर्मा बताउँछन्। ‘च्यारिटी त छँदैछ, अब पोलिसीमा काम गर्नुपर्नेछ । तब मात्रै गैरआवासीय नेपालीका हकअधिकार स्थापित गर्नेदेखि नेपालको आर्थिक समृद्धिको यात्रामा सघाउने लक्ष्य सम्भव रहन्छ।’ उनी भन्छन।
केही हजारमा सीमित संस्थामा सबै गैरआवासीय नेपालीको अपनत्व स्थापित गर्ने, सामूहिक लगानी प्राधिकरणमार्फत् उपभोगमै खुम्चिएको रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा प्रोत्साहित गर्नेदेखि एनआरएनए नागरिकताको निरन्तरता, विदेशका नेपालीको भोटिङ अधिकार, पूर्व गोर्खाहरूको अधिकार स्थापना लगायतका मुद्दालाई शर्माले आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्।
कतिपयले आशंका गरेजस्तो आफ्नो उम्मेदवारी फिर्ता गर्ने वा सहमतिका लागि त्याग गर्ने कुनै सम्भावना बाँकी नरहेको शर्मा बताउँछन्। ‘संसारभरका यति धेरै साथीहरूको साथ, समर्थन पाएपछि अब मेरो उम्मेदवारी केबल व्यक्तिगत रहेन। सबैको भावनाको कदरका लागि पनि मसँग अब पछाडि फर्किने सुविधा छैन ,’ उनले भने।
आगामी कार्यकाललाई फलदायी बनाउने गरी योगदान गर्न सक्ने र कम विवादित पात्रहरूलाई समेटेर टीम बनाउने योजना शर्माले सुनाए।
सबैलाई मिलाउँछु र गुमेको साख फर्काउँछु
- महेश श्रेष्ठ
एनआरएनए आईसीसीको भावी अध्यक्षमा बलिया मानिएका एक उम्मेदवार हुन् जापानबासी महेश श्रेष्ठ। यसअघि आईसीसी सदस्य, कोषाध्यक्ष हुँदै वर्तमान समितिमा उपाध्यक्ष रहेका उनले काठमाडौंमा औपचारिक सभामार्फत अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन्।
नेपाली कांग्रेससँग नजिक मानिने श्रेष्ठ एनआरएनएभित्रका धेरै डेमोक्रयाटहरूको रोजाइमा पर्ने निश्चित छ। वर्तमान अध्यक्षमध्ये एक कुल आचार्य समूह पनि उनको समर्थनमा छ। जापानमै बस्ने नाताले उनलाई पूर्वअध्यक्ष भवन भट्टको पनि समर्थन मिल्ने आशा छ।
शालीन र भद्र व्यक्तित्वका श्रेष्ठलाई सबैसँग समन्वय र सहकार्य गर्न सक्ने पात्रका रूपमा लिइन्छ। दुई वर्षअघि संस्था फुटको चरणमा पुग्दा पनि दुवै पक्षलाई संवादमा ल्याएर विवाद मिलाउन पहल गर्ने भूमिकामा उनी देखिएका थिए।
अध्यक्षको उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले पाँच बुंदामा आफ्ना नीतिगत प्राथमिकता सार्वजनिक गरेका छन्। जसमा ‘एनआरएनएको संकल्पः नेपालको समुन्नति’, ‘जन्मभूमिका नेपालीलाई कर्मभूमिका नेपालीको साथ’, ‘अबको कार्यभारः एनआरएनएको हक, हित र अधिकार’ ‘एनआरएनएको संरचनागत सुधार र संस्थागत विकास’, र ‘मेरो प्राथमिकताः युवा, महिला र दोस्रो पुस्ता’ छन्।
यीनै लक्ष्यहरू हासिल गर्न नेपालमा वैदेशिक लगानीका साथै ज्ञान, सीप र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने, पर्यटन प्रवद्र्धनको पहल गर्ने, सबैको अपनत्वसहितको दिगो र स्मार्ट एनआरएनए बनाउने, महिला सहभागिता प्रोत्साहन गर्ने, नेपाल सरकारसँगको निकट सहकार्य बढाउनेलगायतका कार्ययोजना पनि श्रेष्ठले सार्वजनिक गरेका छन्। उनका कार्ययोजना ‘समुन्नत नेपाल र सम्मानित गैरआवासीय नेपाली’ बनाउने प्रण गरेका श्रेष्ठको मुख्य नारा ‘सबल, साझा र एकताबद्ध एनआरएनएः परिणाममुखी, पारदर्शी र समावेशी एनआरएनए’ छन्।
विगतमा कोषाध्यक्षको जिम्मेवारी सम्हाल्दा संस्थामा आर्थिक पारदर्शिता र व्यवस्थापनमा देखिने गरी सुधार गर्न सकेकोमा उनले गौरव व्यक्त गरेका छन्। ‘हरेक तीन महिनामा आन्तरिक अडिट, वार्षिक रूपमा बाह्य अडिट गराउनेदेखि तीन–तीन महिनामा वेबसाइटमै सबै हिसाबकिताब सार्वजनिक गर्ने सिस्टम बसाल्यौं। सोही सिस्टमले संस्थाको आर्थिक पक्षलाई पूर्ण व्यवस्थित गर्न सक्यो। र आज पनि त्यही सिस्टमले राम्रोसँग काम गरेको छ’, श्रेष्ठ भन्छन्, ‘म अध्यक्ष भएपछि यस्ता धेरै कुरामा सिस्टम बसाल्छु । जसले गर्दा मेरो कार्यकालपछि पनि सोही सिस्टममा रहेर संस्था राम्रोसँग अघि बढ्न सकोस् ।’
एनआरएनएमा हल्ला बढी तर काम कम हुन्छ भन्ने आमधारणा बन्दै गएको उनको बुझाइ छ। सोही बुझाइलाई परिवर्तन गरी हल्ला कम र काम बढी गरेर देखाउने अठोट उनले गरेका छन्। अध्यक्षमा शपथ लिएकै दिनदेखि सिंगो दुई वर्षकै क्यालेन्डर बनाएर काम गर्ने योजना सुनाउँदै श्रेष्ठले परिणाममुखी काममा जोड दिने बताएका छन् ।
दुई वर्षअघिको अधिवेशनमा सिर्जित विवादले संस्थाको गरिमा र प्रतिष्ठामा ठूलो आँच आएको अनुभव श्रेष्ठलाई पनि छ। यही विशिष्ट परिस्थितिमा सम्पूर्ण गैरआवासीय नेपालीलाई एकताबद्ध गर्दै संस्थाको गुमेको साख पुनस्र्थापित गर्नु नै अबको नेतृत्वसामु सबैभन्दा ठूलो चुनौती र जिम्मेवारी रहेको उनले बताएका छन् । सोही जिम्मेवारी पूरा गर्ने दृढ आत्मविश्वास र अठोटसहित संस्थाको अध्यक्षमा उम्मेदवार बनेको उनले बताएका छन्।
पुरानाले सकेनन्, अब नयाँको पालो
- विनय अधिकारी
एनआरएनए आईसीसीका वर्तमान उपमहासचिव विनय अधिकारीले पनि आगामी अध्यक्षका लागि आफ्नो दाबी पेश गरेका छन्।
एनआरएनएमा झन्डै डेढ दशकदेखि सक्रिय अधिकारी एनसीसी यूकेका पूर्वउपमहासचिव हुन्। चार वर्षअघि आईसीसी सचिवमा निर्वाचन लडेका उनी गत निर्वाचनमा महासचिव उम्मेदवार थिए। तर, सहमतिमा बनाइएको जम्बो टीममा उनले उपमहासचिवको जिम्मेवारी पाए।
एनआरएनएभित्रका सबै युवाको प्रतिनिधित्व गर्दै आफूले अध्यक्षमा उम्मेदवारी दिन लागेको अधिकारी बताउँछन्। ‘पुरानो पुस्ताको नेतृत्व परीक्षण भइसक्यो। उहाँँहरूको असक्षमता र विकृत कार्यशैलीले आज संस्थाको साख धुमिल पारेको छ’, उनी भन्छन्, ‘अब युवाको पालो हो। संस्थाको पुरानै
साख र सम्मान फर्काउने गरी काम गर्ने ऊर्जा र क्षमता हामीसँग छ।’
असफल सावित भइसकेको पुरानो नेतृत्वले अब पछाडि बसेर नयाँलाई सहयोग र प्रोत्साहन गर्नुपर्ने उनको धारणा छ। आन्तरिक विवाद, कलह, गुटबन्दी र राजनीतिक हस्तक्षेपजस्ता समस्याले एनआरएनएलाई थला पारेको अनुभव अधिकारीले गरेका छन्।
‘राजनीतिक पावर र पैसाबिना एनआरएनए नेतृत्वमा पुग्न सम्भव छैन भन्ने भ्रम छरिएको छ । यही भ्रमलाई चिर्ने र प्रतिरोध गर्ने आँट गरेरै मैले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको हुँ’, उनले भने।
अधिकारीले आफ्नो उम्मेदवारी निर्वाचनसम्मै कायम रहने स्पष्ट पारेका छन्।’ मेरो उम्मेदवारीबारे कुनै भ्रम र आशंका नराख्न म साथीहरूलाई आह्वान गर्छु’, उनले भने, ‘विगतको ट्र्याक रेकर्ड हेर्दा पनि हुन्छ। म सुरुमा जहाँ उभिन्छु, अन्तिमसम्म त्यहीँ अडिग रहन्छु।’
एनआरएनएमा मौलाएको विकृतिले आम सदस्यहरूमा चरम निराशा छाएको महसुस अधिकारीलाई भएको छ। संस्थामा पद हत्याउन नेताहरूको घर चहार्नेहरूले नै संस्था कमजोर बनाएको उनको ठहर छ। ‘तर अब समय फेरिएको छ। अनलाइन भोटिङ हुनाले पहिलाजस्तो चलखेल र धाँधलीको जोखिम पनि छैन’, उनले भने, ‘स्वतन्त्र मत दिने डेलिगेटहरूले अब पक्कै परिवर्तनको पक्षमा मत दिनेछन्। सक्षम युवालाई नेतृत्व दिनेछन् भन्नेमा म विश्वस्त छु।’
विगतमा विवादका कारण निर्वाचन हुन नसक्नुलाई अधिकारीले दुःखद मानेका छन् । महासचिवमा उम्मेदवारी दिएका उनी आफैंलाई उपमहासचिवमा नाम घोषणा हुँदा चित्त बुझेको थिएन । ‘यसपटक पनि कतै फेरि डेलिगेटमा विवाद गरेर निर्वाचन रोकिने त होइन भन्ने चिन्ता छ’, उनी भन्छन्, ’तर अब बन्द कोठामा सहमति गर्ने होइन, गैरआवासीय नेपालीहरूलाई मतदान गर्ने अवसर दिएर सक्षम र योग्य नेतृत्व चयन गरिनुपर्छ भन्ने मेरो अडान छ ।’
एनआरएनए नेपालको आर्थिक विकासको दरिलो खम्बा बन्नुपर्ने अधिकारीको धारणा छ। लगानीको वातावरण बनाएर आर्थिक समृद्धिको जग निर्माण गर्नुपर्ने भन्दै उनले सोही कार्यमा एनआरएनएको प्लेटफर्म सदुपयोग गर्ने योजना बनाएका छन् ।
त्यस्तै, गैरआवासीय नेपालीको नेपाली नागरिकताको निरन्तरता, पैतृक सम्पत्तिको अधिकार संरक्षण, विदेशमा बस्ने नेपालीललाई मताधिकार व्यवस्था, भूपू गोर्खाको अधिकार स्थापनालगायत उनका प्रमुख एजेन्डा छन्।