डाक्टरले कहिलेसम्म कुटाइ खाइरहने ?
विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकमाथि दुव्र्यवहार एवं हातपातका घटना बढेका छन्। सञ्चो अस्पताल हेटौंडामा कार्यरत डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि आक्रमण भयो। यो घटना सेलाउन नपाउँदै पोखरास्थित मणिपाल अस्पतालमा डाक्टरमाथि आक्रमण भयो। शृंखलाबद्ध भइरहेका आक्रमणले चिकित्सकहरू असुरक्षित महसुस गरिरहेका छौं।
१. उपचारका लागि आएका बिरामीको निधन हुँदा चिकित्सकलाई पनि दुःख लाग्छ। तर, बिरामीका आफन्तले वास्तविकता बुझ्ने प्रयास गरेको पाइँदैन। यथार्थ नबुझी आवेशमा आउने र आक्रोशित हुने गरेको पाइएको छ। एकैपटक भौतिक आक्रमणमा उत्रने गरेका छन्।
२.आफू र आफ्ना आफन्तको मृत्युसमेत डाक्टरले टार्न सक्दैनन्। यो कुरा किन बुझिएको छैन कि बुझ पचाइएको छ ? सडकमा दुर्घटना भए ड्राइभरमाथि कुटपिट गर्ने, सडकमा खाल्डो भए मेयर÷उपमेयर पिट्ने, उपचार गर्दा बिरामीको निधन भए डाक्टरमाथि आक्रमण गरेर कस्तो समाज निर्माण गर्न गइरहेका छौं ?
३. चिकित्सकमाथि भौतिक रूपमा भइरहेका शृंखलाबद्ध आक्रमणले डाक्टरहरू विदेश पलायनको मनस्थितिमा छन्। यस खालको अवस्थाले अन्ततः मुलुक र सर्वसाधारणलाई नै आघात पुग्छ।
४. उपचारमा लापरबाही वा हेलचक्र्याइँ भएमा गुनासो सुन्ने वा छानबिन गर्ने निकाय नेपाल मेडिकल काउन्सिल हो। काउन्सिलमा उजुरी गर्न सकिन्छ। तर, उजुरी नगरी चिकित्सकमाथि भौतिक आक्रमण गर्नु कानुनी शासनको बर्खिलाप हो। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन ऐन २०७९) को प्रभावकारी कार्यान्वयन हुनुपर्छ।
(डा. कार्की, नेपाल चिकित्सक संघका अध्यक्ष हुन्।)