१८ अर्ब भित्रियो, १५ अर्ब बाहिरियो

विदेशी लगानीकर्तालाई नेपालमा लाभैलाभ

विदेशी लगानीकर्तालाई नेपालमा लाभैलाभ
सुन्नुहोस्

काठमाडौं : आर्थिक वर्ष ०७८/७९ मा १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ विदेशी लगानी भित्रियो। यो विदेशी लगानीकर्ताले गरेको प्रतिबद्धताको ३४ दशमलव ३ प्रतिशत मात्रै हो। तर, सोही वर्ष लाभांशबापत १५ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ बाहिरियो। यसले नेपालमा लगानी गरे राम्रै प्रतिफल लैजान पाइन्छ भन्ने सन्देश दिएको विज्ञहरू बताउँछन्। 

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७८/७९ मा विदेशी लगानीकर्ताले स्वीकृत रकमको ३४ दशमलव ३ प्रतिशत मात्रै लगानी ल्याएका थिए। राष्ट्र बैंकका अनुसार सो वर्ष १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ लगानी भित्रिएको थियो। तर, सोही वर्ष लगानीको लाभांशमार्फत १५ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ हाराहारीमा बाहिरिएको छ। 

आर्थिक वर्ष ०७७/७८ मा त विदेशी लगानी भित्रिएको भन्दा लाभांशबापत बाहिरिने रकम धेरै थियो। त्यो वर्ष १९ अर्ब ५१ करोड २७ लाख रुपैयाँ भित्रिएको थियो। लाभांशबापत २६ अर्ब ७ करोड ६६ लाख रुपैयाँ बाहिरिएको थियो। अर्थात्, बाहिरबाट आएको भन्दा ६ अर्ब ५६ करोड ३९ लाख रुपैयाँ बढी रकम बाहिरिएको थियो। 

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानीका लागि खर्बौंको प्रतिबद्धता हुन्छ। तर, मुस्किलले अर्बमा मात्रै रकम भित्रिने गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। बरु, विदेशी लगानीकर्ताले बर्सेनि ठूलै रकम लाभांशबापत लैजाने गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। राष्ट्र बैंंकको तथ्यांकअनुसार २७ वर्षमा ४ खर्ब ११ अर्ब ५० करोड ७२ लाख ९० हजार रुपैयाँ विदेशी लगानी स्वीकृत भयो। तर, त्यसको ३६ दशमलव २ प्रतिशत अर्थात् १ खर्ब ४८ अर्ब ९९ करोड २७ लाख २० हजार रुपैयाँ मात्रै लगानी नेपाल आयो। 

null

अर्थविद् डा. डिल्लीराज खनाल विदेशी लगानी भित्रिनेभन्दा लाभांश फिर्ता लैजाने रकम धेरै हुन थालेकोमा चिन्ता व्यक्त गर्छन्। प्रतिबद्धता र भित्रिने रकमको ठूलो अन्तर प्रमुख समस्या रहेको उनले औंल्याए। ‘राजनीतिक स्थायित्व र स्थिर नीति नभएसम्म विदेशी लगानी (एफडीआई) आकर्षित हुन गाह्रो छ, डा. खनालले अन्नपूर्णसँग भने। यद्यपि, नेपालमा लगानी गरे राम्रै प्रतिफल लैजान पाइन्छ भन्ने सन्देश विदेशी लगानीकर्तालाई गएको उनको भनाइ छ।

राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागकाअनुसार ०७९ असार मसान्तसम्ममा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी आएको थियो। जसमा भारतबाट सबैभन्दा बढी ८८ अर्ब ५९ करोड आएको थियो। त्यसपछि चीनबाट ३३ अर्ब ४५ करोड, आयरल्यान्डबाट २० अर्ब ९० करोड, सिंगापुरबाट १६ अर्ब ७ करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी आएको थियो। यस्तै, प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७.३ प्रतिशत सेवा क्षेत्रमा आएको देखिन्छ। 

औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३२.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी आएको प्रतिवेदनले देखाएको छ। यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूमा रहेको छ। प्रतिवेदनअनुसार वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरूको क्षमता उपयोग ७१.१ प्रतिशत रहेको पाइएको छ भने समग्रमा वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूको नाफाको दर करिब १४.३ प्रतिशत रहेको छ। 

प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित २ सय ३१ वटा कम्पनीको नमुना छनोट गरी सर्वेक्षण गरिएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी प्रत्येक आर्थिक वर्षमा स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.