साहसकी प्रतिमूर्ति पिप्पी

साहसकी प्रतिमूर्ति पिप्पी

विश्वका ७६ भाषामा अनुवाद भइसकेपछि ७७औं भाषाका रूपमा नेपाली भाषामा अनुवाद गरिएको पुस्तक हो, ‘पिप्पी’।

पाठकलाई विश्व साहित्यका बारेमा बुझ्न बुझाउन अनुवादले पुलको कार्य गर्दै आएको छ। अनुवादरूपी पुल तरेर हामी विश्वसाहित्यलाई चिहाउँछौं। विश्वका सबै व्यक्तिलाई विश्वमा बोलिने सबै भाषाको ज्ञान नहुने भएकाले अनुवाद साहित्यको महत्त्व अत्यधिक छ। विभिन्न भाषामा लेखिएका साहित्यलाई विश्वबजारमा पुर्‍याउन अनुवादकको आवश्यकता पर्छ। वाल्मीकिले संस्कृतमा रचना गरेको रामायणलाई नेपालीमा अनुवाद गर्ने आदिकवि भानुभक्त आचार्यलाई नेपाली साहित्यका उत्कृष्ट अनुवादक भनेर चिनिन्छ। नेपाली साहित्यलाई अंग्रेजीमा अनुवाद गर्ने श्रेय भने लक्ष्मीप्रसाद देवकोटालाई दिनुपर्छ। शब्दार्थ प्रकाशनले विदेशी कथा संग्रहलाई नेपाली अनुवादको पुस्तक प्रकाशन गरेको छ। यो महान् कार्यका लागि शब्दार्थ प्रकाशनलाई धन्यवाद भन्नैपर्छ।

विश्वका ७६ भाषामा अनुवाद भइसकेपछि ७७औं भाषाका रूपमा नेपाली भाषामा अनुवाद गरिएको पुस्तक हो, ‘पिप्पी लङ्गस्टोकिङ’। स्विडेन निवासी अस्ट्रिढ लिन्डग्रेनको यो विश्वप्रसिद्ध पुस्तकलाई नेपालीमा अनुवाद गर्ने कुशल अनुवादक हुन्, सुरेन्द्रबहादुर न्यौपाने। नेपाली साहित्यको श्रीवृद्धिका निम्ति बाहिरी दुनियाँसँग सम्बन्ध स्थापित गर्न अत्यन्तै जरुरी छ। ओझेलमा परेका अब्बल पुस्तकको पहिचान गरी अनुवाद गर्ने गराउने काम नेपाल सरकारको कुन निकायअन्तर्गत पर्छ भन्दै प्रज्ञा प्रतिष्ठानको मात्र मुख ताकेर बस्नुभन्दा नाम चलेका विभिन्न प्रकाशनले पनि यसैगरी साथ दिए धेरै राम्रो हुने थियो।

शब्दार्थ प्रकाशनले निकालेको यो किताब पिप्पी बालकथा संग्रह हो। जसमा १७ कथा छन्। प्रत्येक कथामा पिप्पी नाम गरेकी सानी नानी मुख्य पात्र छन्। यिनी सानै छँदा उनकी आमाको देहान्त भएको हुन्छ भने यिनका बुवा पानीजहाजका क्याप्टेन हुन्छन्। लगभग १ सय ५० जनाको जनसंख्या रहेको सानो काँडे डाँडा नाम गरेको टापुमा उनीहरू मिलेर बसेका हुन्छन्। त्यो टापुमा क्याप्टेन बाको कुरा सबैले मान्थे। उनी धेरै सज्जन र सहयोगी भएकैले छोरी पिप्पीलाई सबैले माया गर्थे।

एकदिन पिप्पीका बुवा सिकारीहरूको साथमा आफ्नो टापुबाट अर्को टापुमा सिकार खेल्न निस्कन्छन्। अर्को टापुमा जाँदाजाँदै उनीहरूको पानीजहाज समुद्रको बीचमा पुगेपछि समुद्री आँधीले पल्टाउँदा सबै यात्री बेपत्ता हुन्छन्। त्यस घटनामा क्याप्टेन हराएपश्चात् छिमेकीले पिप्पीलाई उक्त टापुमा भन्दा गाउँको घरमा सुरक्षित हुन्छ भन्ठानेर लगिदिन्छन्। गाउँको त्यो घर क्याप्टेन बाले धेरै पहिले किनेर राखेका थिए। बेलाबेलामा जाने आउने गरेकाले टापुका छिमेकीले त्यो घर देखेका थिए। यहाँबाट कथाले पिप्पीको जीवनमा अनेक उतारचढाव ल्याउँछ। उनकी आमा धेरै अगाडि बितिसकेकी, बुवा पनि समुद्रमा बेपत्ता भएपछि उसको सहारा भनेको सानो बाँदर र घोडामात्र रहन्छन्। एकदिन आफ्ना बा फर्केर आउनेछन् भन्ने आशामा ऊ बाँचेकी हुन्छे। कल्पना गर्नुहोस् त, त्यो सानी केटी बाँदर र घोडाको सहारामा कसरी बाँचेकी होली ?

यसरी एकदिन बाछोरी बस्ने टापुबाट ऊ आफ्नो प्यारो गाउँको भोलेकुलो नाम गरेको निवासमा बसाइँ सर्छे। निले नाम गरेको घोडा र हनुमन्ते नामको बाँदर अब उसका नजिकका आफन्त, साथी र सहारा हुन्छन्। तिनै दुईसँग उसको सबै समय व्यतित हुन थाल्यो। उनीहरूसँगै मिलेर खेल्थे, खान्थे र रमाउँथे। असाधारण केटी पिप्पी गाउँघरका अरू सिँगाने केटाकेटी जस्ती थिइन्। बिस्तारैबिस्तारै दिन बित्दै गए। उसलाई देखेर गाउँका साना केटाकेटी खेल्न आउन थाले। घरछेउमा बस्ने दाजुबहिनी टमी र अनिताले पिप्पीलाई असाध्यै माया गर्थे। विशेषगरी उसको दुई चुल्ठो बाटेको रातो रङको कपाल ती दाजुबहिनीलाई असाध्यै मनपथ्र्यो। पिप्पीको कुरा सुनेर उनीहरू सधैं छक्क पर्थे। संसार पूरै घुमिसकेकी छु भनेर विभिन्न देशको बखान गर्थी पिप्पी, टमी र अनिता उदेक मानेर सुनिरहन्थे। कहिले इजिप्टको, कहिले कंगोको, कहिले भारतको त कहिले ब्राजिलको, यस्ता विभिन्न देशको नाम जोडेर उसले आफ्ना गफमा मिठास भर्ने गर्थी। साँच्चै, पिप्पी एउटी बहादुर, अदम्य आँट हिम्मत भएकी साहसिक केटी थिई।

कहिलेकाहीँ ऊ उल्टो हिँड्थी। तिमी किन उल्टो हिँडेको भनेर साथीले सोध्दा ऊ तुरुन्तै जवाफ फर्काउँथीः ‘यो देशमा सबैलाई स्वतन्त्रता छ। म उल्टोसुल्टो जसरी पनि हिँड्न सक्छु।’ उसको उत्तर सुनेर जिल्ल पर्थे विचरा तिनीहरू। त्यो सानी केटीलाई कसरी थाहा भयो होला, स्वतन्त्रताको कुरा। कहिल्यै औपचारिक शिक्षा नलिएकी तर अथाहा ज्ञानकी भण्डार पिप्पीको कुरा सुनेर जो कोहीलाई ईष्र्या जाग्नु स्वाभाविक थियो। पिप्पी कथा पढ्दा अलिकति पनि दिक्क लाग्दैन। दर्शन र साहित्यका प्रसंगले कथाहरू सुगन्धित बनेका छन्। पिप्पी भन्छे, भारतका मान्छे चार हात खुट्टा टेकेर हिँड्छन्। चार हात खुट्टा टेकेर हिँड्छन्। मतलब त्यो देश अझै जंगली युगमै गुज्रिरहेको छ। यो एउटा मेटाफोर हो।

पिप्पी कहिल्यै भारत आएकी थिइन् तर उसलाई थाहा थियो। त्यो पिछडिएको देश हो, त्यहाँ गरिबी छ। दहेज प्रथाले ग्रसित उक्त देशमा छोरा र छोरीबीचमा रहेको डरलाग्दो विभेदको खाडल छ भनेर। बेलाबेलामा आकाशतिर फर्केर पिप्पी आमा भन्दै बोलाउँथी र भन्थी, ‘आमा मेरो पीर नगर है, म यहाँ सञ्चै छु।’ त्यति मात्रै हो र ? त्यति सानी फुच्ची केटीले म खुँखार समुद्री डाकु बन्छु भनेको पढ्दै गर्दा उल्का र अचम्म दुवै लाग्छ पाठकलाई। एउटा सिंगो घरमा बाँदर र घोडा छन् उनको साथी। तिनैसँग बात मार्छे ऊ। लुटेरा आए कुटेर खेदाउँछे, आफैं खानेकुरा पकाउन सक्छे त्यो अद्भुत केटी। यस्ता कुराले उसको ज्ञानको उचाइलाई सजिलैसँग मापन गर्न सकिन्छ। नयाँ पुस्ताका हाम्रा नानीहरू यस्तै साहसी, दानी र शिक्षित भइदिऊन्।

संसारमै नारी जाति सुरक्षित नहुने रहेछन्, विकसित मुलुकमा पनि यस्ता कथा लेखिँदा रहेछन्। स्विडेनी कथाकार एस्ट्रिडकृत पिप्पी पढ्दा हाम्रै गाउँठाउँको धेरै घटनासँग मेल खान्छ। एउटा कथाको प्रसंगः एक्ली केटी देखेर बदमास छुल्याहा केटाहरू पिप्पीलाई छुने, हेप्ने गर्न थाले। उनीहरूको गुन्डागर्दी सहन नसकेर एउटा अघि बढेको केटोलाई पिप्पीले हात समातेर जुरुक्क उचाली र रुखको हाँगामा अड्काइदिई। त्यो दिनदेखि ती बदमास केटाहरू फर्केर आएनन्। सानी र एक्ली केटी देखेर पुलिसले उनलाई अनाथालय लैजाने विचार गरे। तर उनले प्यारो घर भोले कुलोमा बस्छु भनेर अनाथालय जान मानिनन्। उनीहरूले सानी केटीलाई बोकेर लान खोजे तर सकेनन्। अन्त्यमा उनीहरूले एउटा प्रतिवेदन तयार पारे र त्यसमा लेखे ः ‘यी सानी नानीलाई अहिलेका लागि आफ्नै घर नै ठीक ठानेर ल्याउन उचित लागेन। तिनी स्वस्थ, बाठी र दयालु बालिका छन् भन्नेमा हामी पूरा विश्वाश्त छौं।’

एकदिन पिप्पीले सर्कस हेर्न गएका बेलामा संसारकै सबैभन्दा बलियो पहलमान देख्छे। पैसाको बाजी थापेर त्यो पहलमान चाहिँ दर्शकलाई आफूसँग लाप्पा खेल्न उक्साइरहेको थियो। सानी पिप्पी त्यो डरलाग्दो मान्छेसँग भिड्न सुरिएर जान्छे। सबै दर्शक छक्क पर्छन्। उनलाई साथीले हुन्न नजा, नजा भन्छन् तर ऊ नसुनेझैं गरेर छेउमा जान्छे र त्यो पहलमानलाई अनेक चाल गरेर पछार्छे। एकपटक पिप्पीको गाउँमा चोर पस्छन्। ती चोर त्यो सानी नानीको घरमा पनि घुस्छन्न् तर पिप्पीको चलाखीका कारण केही सामान छुनसम्म पनि सक्दैनन्।

एकदिन पल्लो गाउँमा आगलागी हुँदा दुईजना साना बच्चालाई घरको माथ्लो तलाबाट कसैले निकाल्न सक्दैनन् तर पिप्पी आफ्नो हनुमन्ते बाँदरको सहयोग लिएर ती बच्चालाई जीवितै उद्धार गर्न सफल हुन्छिन्। हाम्रा नानीहरू पनि पिप्पीजस्तै आँटले भरिएका साहसी बनुन्। लोभलालचमा नपर्ने पिप्पी जस्ता केटाकेटीलाई छुनको के कुरा, खराब आचरण भएका मान्छेले शिर ठाडो पारेर हेर्नसमेत सक्दैनन्। कसैको ललाई फकाई र उक्साहटमा नपरून्। विदेशी कथा पढ्दैछु तर मन भने पोहोर सालको बुटवलमा घटेको घटना सम्झेर एकतमासले विचलित छ। चक्लेटको लोभ देखाएर बलात्कार गर्ने र मार्नेसम्मका हर्कत हुन्छन्। तीन वर्षकी यस्ती सानी नानी सम्झँदा पिप्पीजस्तै सन्तान जन्माउन् हरेक आमाले। ईश्वरसँग पुकारा गरिरहेछु। हामी अझै जंगली युगमै छौं। जति पढे लेखे पनि शिक्षित र ज्ञानी हुन सकेका छैनौं।

यो कथा लेख्ने स्विडेनी कथाकार अस्ट्रिड, तिमी महान् नारी हौ। तिम्रो यो कथा पढेपछि सबै आमाहरू सन्तान पिप्पी भएको हेर्न चाहन्छन्। पिप्पीसँग जोडिएर सधैं सम्झनामा आइरहने अर्को नाम हो अनुवादक न्यौपाने। कथालाई तोडमोड नगरिकन अझ स्वादिष्ट बनाउँदै पाठकमाझ ल्याउन सक्नु सानो कुरा होइन। यति लामो समय पिप्पीको बाँदर र घोडासँगै बित्यो तर ऊ कहिल्यै निराश र उदास भइनन्।

एकदिन समुद्रमा हराएका बुवा टुप्लुक्क घर आइपुगे। उनी अत्यन्तै खुसी भइन्। उनका साथीलगायत छिमेकी सबै रमाए। बेपत्ता भएका क्याप्टेन बा आएपछि गाउँमा हर्षोल्लास बढ्यो। केही दिनपछि बाले छोरीलाई साथै लिएर जाने भए, बाबु–छोरी मिलेर सिंगो गाउँलाई बिदाइ पार्टी दिए। भोलिपल्ट बिहानै गाउँ छोडेर पानीजहाजमा चढेपछि सबै साथी बिदाइ गर्न आए। उनीहरू पिप्पी अब कहिले आउली भन्दै रोएको देखेर उनको मन नै बदलियो। साथीको मायाले उनी आफैं भक्कानिइन् र गाउँमै बस्ने निर्णय गर्दै जहाजबाट पिप्पी ओर्लिइन्। अन्ततः साथीसँग रमाउँदै, बाँदर र घोडासँग जिस्किँदै उनी आफ्नै गाउँ बसिन्।

पिप्पी साहसी केटीको कथा हो। पिप्पी नारी सशक्तीकरणको ज्वलन्त उदाहरण पनि। उनले अकल्पनीय परिस्थितिहरूको सामना एक्लैले गरिन्। अनपढका बाबजुद उनले कहिल्यै अरूको अगाडि आफूलाई अज्ञानी जस्तो महसुस गरिनन्। सधैं सबैतिर खुसी छर्दै हिँड्ने पिप्पीको समुद्री डाकु बन्ने सपना पो पूरा भयो कि भएन ? पिप्पीसँग अवश्य फेरि भेट हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.