चाडपर्वका सामान भित्रिए, बिक्लान् कि नबिक्लान् !

चाडपर्वका सामान भित्रिए, बिक्लान् कि नबिक्लान् !

काठमाडौं : दसैं, तिहार तथा छठलगायतका महत्वपूर्ण चाडबाड नजिकिँदै छन्। विदेशबाट धमाधम सामान आयात भइरहेका छन्। तर, मुलुकको आर्थिक मन्दीमा सुधार छैन। त्यसैकारण विदेशबाट ल्याइएका सामान बिक्री नहुने हुन् कि भन्ने पिरलो व्यवसायीलाई छ।

भन्सार विभागका अनुसार चाडपर्व लक्षित उपभोग्य तथा विलासीताका वस्तुहरू गत वर्षभन्दा अधिक नै भित्रिएका छन्। लत्ताकपडा, रक्सी, खसीबोका, मसला (जिरा/धनियाँ), दाल, चामल, गेडागुडी, खाने तेल, फलफूल, जुत्तादेखि विद्युतीय उपकरणको आयात ह्वात्तै बढेको छ। यस्तै, गाडी तथा मोटरसाइकललगायतका वस्तुको आयात पनि बढेको छ। यस्तावस्तु ल्याउने क्रम अझै जारी छ। 

गत आर्थिक वर्षको दुई महिनाको तुलनामा यसपटक चाडपर्व लक्षित करिब १ दर्जन वस्तुको आयातमा वृद्धि भएको छ। विभागका अनुसार नयाँ तयारी पोसाकको आयात ४३.८८ प्रतिशतले बढेको छ। यसपटक ७ अर्ब १८ करोड ५३ लाख ५७ हजार रुपैयाँ बराबरका तयारी कपडा आयात भएका छन्। यस्तै जुत्ताको आयात पनि ३३.३२ प्रतिशतले बढेको छ। २ अर्ब २५ करोड २२ लाख रुपैयाँ बराबरका जुत्ता आयात गरिएका छन्। बजारमा गत वर्षका लताकपडाको (स्टक) बाँकी नै रहेको व्यवसायीहरू बताउँछन्। नयाँ सामान पनि पर्याप्त आयात भइसकेका छन्। तर, बिक्री भने उत्साहजनक नभएको व्यवसायीको गुनासो छ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल अहिले मुलुकमा चरम आर्थिक शिथिलताले समग्रमा आयात–निर्यात नै घटेको बताउँछन्। ‘उद्यमी, व्यापारी–व्यवसायी, उपभोक्तासँग पैसा छैन,’ अग्रवाल भन्छन्, ‘अधिकांश पसल बन्द छन्। सटर खाली हुँदै गएका छन्। उत्पादनमूलक क्षेत्र पनि ४२–४४ प्रतिशतभन्दा बढी चल्न सकेको छैन।’ 

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य विलासिताका वस्तुको बिक्री कम भएकाले व्यवसायीहरू अब त्यस्ता सामान ल्याउने पक्षमा नरहेको बताउँछन्। ‘चाडपर्व लक्षित गरेर सामान्यतयाः व्यवसायीहरूले बढी सामान भित्र्याउने गर्छन्,’ उपाध्यक्ष वैद्य भन्छन्, ‘दैनिक उपभोग्य वस्तु त बिक्री होलान। तर, विलासिताका वस्तु खासै विकेका छैनन्। बजार नै सुनसान छ नि !’ विगतका वर्षभन्दा ४० प्रतिशत कम आयात भएको वैद्यको भनाइ छ। ‘राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत चालू पुँजी कर्जाको गाईडलाइनले कर्जाको सीमा कस्यो,’ वैद्य भन्छन्, ‘यसैकारण व्यवसायीहरू अप्ठ्यारोमा परेका छन्। चालू पुँजी कर्जा खुकुलो नभएसम्म यस्तो स्थिति रहिरहन्छ।’ बाहिरबाट सामान ल्याएर बेच्नेभन्दा पनि साउन मसान्तको ब्याज कसरी तिर्ने भन्ने पिरलोमा व्यवसायी रहेको उनको भनाइ छ। 

भन्सार विभागका अनुसार जीवित जनावर (खसीबोका) को आयात पनि २५३.६४ प्रतिशतले बढेको छ। गत वर्ष भदौमा ३ करोड ८३ लाख १८ हजार रुपैयाँका खसीबोका आयात भएका थिए। यसपटक ४ गुणाले बढेर १३ करोड ५५ लाख ७ हजार रुपैयाँ बराबरका खसीबोका ल्याइएका छन्। ताजा मासु पनि भित्रिने क्रम बढेको छ।

गत वर्षभन्दा २० प्रतिशतले बढी मासु ल्याइएको छ। यसपटक ३८ लाख ६२ हजार रुपैयाँबराबरका ताजा मासु खरिद गरिएको हो। चाडपर्वमा प्रायः रक्सीजन्य पदार्थको खपत बढी हुन्छ। व्यवसायीले गत वर्षको तुलनामा ९२.५३ प्रतिशतले बढी अल्कोहलका उत्पादन भित्र्याइएका छन्। गत वर्ष भदौमा ३२ करोड २३ लाख हाराहारीमा रक्सीजन्य पदार्थ ल्याएका थिए। यसपटक ६२ करोड ११ लाख ८२ हजार बराबरका रक्सीजन्य पदार्थको आयात भएको विभागले जनाएको छ। 

बजारमा सामान बिक्री नभएकाले व्यवसाय नै कमजोर भएको गुनासो गर्छन्– राष्ट्रिय व्यवसायी संघका संस्थापक अध्यक्ष नरेश कटुवाल। ‘बजारमा व्यापार जिरो छभन्दा पनि हुन्छ,’ कटुवाल भन्छन्, ‘तर नयाँ सामान ल्याएका ल्यायै छन्। आउनेक्रम जारी छ। बजारमा पुरानो स्टक सामान पनि उस्तै छ।’ यसपटक तिजमा पनि राम्रो व्यापार नभएको उनले बताए।

‘होलसेलबाट खुद्रा बजारमा सामान गए पनि खुद्रा बजारमा व्यापार नै छैन,’ उनले भने, ‘स्थितिनाजुक छ। बजार अहिले पनि सुनसान देखिन्छ।’ बैंकहरूले सहकारीको जस्तो चर्को ब्याज लिएकाले साना व्यवसायी झन् मारमा परेको उनको तर्क छ। ‘सहकारी सकिनु भनेको साना व्यापारी पनि सँगसँगै सकिने हुँदो रहेछ,’ उनले थपे। 

दसैंमा उपभोग्य वस्तु बढी खपत हुन्छन्। विशेष गरी माछामासुको आयातसँगै आन्तरिक उत्पादनको पनि यो बेला बढी प्रयोग हुन्छ। यससँगै, जिरा, धनियाँ, बेसार, खुर्सानीलगायतका मरमसला आइटमको पनि प्रयोग बढ्छ। यसकारण गत वर्षभन्दा यसपटक मसला ३२.६० प्रतिशतले बढेर करिब १ अर्ब ८४ करोड ७७ लाख २२ हजार रुपैयाँको भित्रिएको छ। पछिल्लो समय जीराको मूल्य अत्याधिक बढ्दा बजार मूल्य प्रतिकेजी न्यूनतम साढे १२ सयदेखि साढे १५ सय हाराहारीसम्म पुगेको छ।

यस्तै, मुगी, रहर र मुसुरोलगायतका दालहरू प्नि ३०.५७ प्रतिशतले बढी आयात भएका छन्। २ अर्ब ५४ करोड ८५ लाख ५० हजार रुपैयाँ बराबरका दालहरू भित्र्याइएका छन्। चामल, गेडागुडी जस्ता खाद्यान्न पनि २२.८१ प्रतिशतले बढेर ९ अर्ब ३१ करोड ३ लाख ८८ हजार बराबरको भित्रिएको छ। पछिल्लो समय भारतले चामलको निर्यातमा कडाइ गरेकाले यसको आयातमा कमी छ। तर, फलफूल सदावहार उपभोग भइरहने वस्तुमा परे पनि यसपटक यसको वृद्धि पनि १८.६३ प्रतिशत छ। २ अर्ब ९३ करोड १७ लाख ८४ हजार रुपैयाँका फलफूल भित्रिएका छन्। 

विद्युतीय उपकरणको माग बजारमा बढ्दो छ। गत वर्षभन्दा १८.६० प्रतिशतले बढी अर्थात् ११ अर्ब ६७ करोड ७२ लाख रुपैयाँ बराबरको विद्युतीय उपकरण आयात भएका छन्। यस्तै सवारी साधन पनि १० अर्ब ८२ करोड ४५ लाख रुपैयाँ बराबर भित्रिएका छन्। चाँदीको आयात २३.७७ प्रतिशतले वृद्धि भएको छ। ४४ करोड ६४ लाख ६६ हजार बराबरको चाँदी र ४ अर्ब ५६ करोड ६ लाख ४७ हजार बराबरको सुन आयात भएको छ। सुन आयात भने १६.१२ प्रतिशतले घटेको छ।

केन्द्रीय बैंकले पर्याप्त विदेशी मुद्रा सञ्चिति नभएको भन्दै सुन आयातको कोटा दैनिक १० किलोमा सीमित राखेको थियो। तर, भदौ १० गतेदेखि दैनिक २० किलो पुर्‍याइएको छ। परिमाण बढेसँगै सुन आयात पनि बढ्ने व्यवसायीहरू बताउँछन्। 

चिनीको आयात घट्यो, भाउ आकासियो

चाडबाडमा धेरै उपभोग हुनेमा पर्छ, चिनी। यसपटक चिनीको आयात ह्वात्तै घटेको छ। तर, आपूर्ति कम भएको भन्दै बजारमा चिनीको मूल्य आकासिएको छ। गत वर्षको तुलनामा आधा (५६.५७ प्रतिशत) चिनी आयात घटेको हो। गत वर्ष भदौसम्म २६ करोड ९५ लाखको चिनी आयात भएको थियो। यसपटक ११ करोड ७० लाख हाराहारीकको चिनी भित्रिएको छ। प्रतिकिलो ८० रुपैयाँमा पाइने गरेको चिनीको मूल्य ह्वात्तै बढेर १३० देखि १५० रुपैयाँसम्म पुगेको छ। कतिपय आयातित वस्तुको तुलनात्मक वृद्धि नभए पनि आयातको आकार भने ठूलो छ। खाने तेल ८ अर्ब ६६ करोड ५४ लाख २० हजार, पीठो २ करोड १६ लाख, तरकारी २ अर्ब ८२ करोड, नटसहरू ६९ करोड ९९ लाख बराबरका आयात भएका छन्।

चालु आर्थिक वर्षको दुई महिनामा २ खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख बराबरको वस्तु आयात भएको छ। गत वर्षको तुलनामा यसपटक ५.०६ प्रतिशत कम आयात भएको तथ्यांकले देखाउँछ। विलासिताका वस्तु आयातमा सरकारले प्रतिबन्ध फुकुवा गरेपछि तथ्यांकमा भने खासै फरक परेको छैन। आर्थिक मन्त्रीले व्यवसाय सुनसान बनाएकाले पनि यस्तो अवस्था आएको व्यवसायीहरूको भनाइ छ। 

चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अग्रवाल पनि चालु पुँजी कर्जा गाइडलाइनले पनि व्यवसायी झन अप्ठ्यारोमा परेको बताउँछन्। ‘उद्यमी, व्यवसायीको मूल्यांकन कोष धेरै बढाइएको छ,’ उनले भने, ‘कर्जाको ब्याज भुक्तानी गर्ने अवस्था छैन। यसको पुनर्तालिकीकरण सुविधाको व्यवस्था पनि छैन। चालु पुँजी कर्जा गाइडलाइनले झन् टाइट गरेको छ।’ 

नेपाल राष्ट्र बैंकले ३ करोडसम्मको चालु पुँजी कर्जा उत्पादनमूलकलाई मात्र दिएको छ। उत्पादनमूलक क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ५.३२ प्रतिशत मात्रै योगदान छ। साढे ९४ प्रतिशत बढीले यो सुविधा उपभोग गर्न नपाएको अग्रवालको गुनासो छ। ‘सरकारले अविलम्ब केही कदम चालेन भने निजी क्षेत्र पलायन हुने अवस्था आउन सक्छ,’ उनले भने, ‘आर्थिक गतिविधिमा आएको शिथिलताले सरकारी राजस्व पनि कम उठेको छ।’

एलसी खोल्नै हच्किन थाले व्यवसायी 

उपभोक्ताको क्रयशक्ति अर्थात् खर्च गर्ने क्षमता घट्दा बजारमा चहलपहल कम छ। व्यवसायीहरूले विगतका वर्ष जस्तो व्यवसाय गर्न नसक्दा छिमेकी मुलुकबाट थप सामान अर्डरका लागि एलसी (प्रतितपत्र) खोल्नसमेत हच्किन थालेका छन्। नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे चाडबाड नजिकिँदै गर्दा बढ्नुपर्ने चहलपहल नबढेकाले व्यवसायीहरू एलसी खोल्नै हच्किन थालेको बताउँछन्।

‘उत्पादनमूलक सिमेन्ट, डन्डी उद्योगहरू आधाले घटेका छन्,’ उनले भने, ‘सरकारले निर्माण व्यवसायीहरूको भुक्तानी पनि टुंग्याएको छैन। यस्तो अवस्थामा त सरकारले व्यवसायीको मनोबल बढाइदिनुपर्ने हो नि !’

अर्थतन्त्र चलायमान नभएकाले पनि व्यवसायीहरू आयात गर्न डराएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणा बताउँछिन्। ‘अहिले व्यवसाय अप्ठ्यारोे अवस्थामा छ,’ राणा भन्छिन्, ‘मागअनुसारको आपूर्ति हुन्छ। तर, माग नै न्यून छ। सामानहरू ल्याउँदा बिक्री नहुने डरले आयात घटेको छ।’ बजारमा पैसा नभएकाले कर्जा उठ्न नसकेको राणा बताउँछिन्। ‘आयातकर्ताले सामान ल्याउन जोखिम देखेका छन्,’ उनले भनिन्, ‘अर्कोतिर युवाहरू बिदेसिने क्रम बढ्दो छ। जनसंख्याको ठूलै हिस्सा बाहिरिएकाले पनि माग कम हो।’ व्यवसायीका सटरहरू धमाधम बन्द भइरहेको उनले बताइन्।

‘खुलेका सटरमा पनि व्यापार छैन,’ राणाले भनिन्, ‘दसैंको बेला माग उच्च हुनुपर्ने हो। तर, यसो भइरहेको छैन। ५० प्रतिशत कममा दिँदा पनि सामान बिक्री भइरहेको छैन।’ आन्तरिक राजस्व र करका लागि सरकारी निकायले निगरानी बढाएकाले पनि व्यवसायी झन दुरुत्साही भइरहेको उनले बताइन्। ‘अधिकांश अनौपचारिक व्यापार छ,’ उनले भनिन्, ‘खुला सीमा भएकाले चोरी सामानहरू पनि भित्रिएके छन। तर, यसमा अनुगमन छैन। यसले सच्चा व्यवसायीलाई प्रभावित बनाइरहेको छ।’ 

ठूला मुलुकबाट हुने आयात वृद्धिदरमा संकुचन 

कुल आयातको ६० प्रतिशत हिस्सा ओगट्ने छिमेकी मुलुक भारतसँगको व्यापार वृद्धि घटेको छ। गत आवको दुई महिनामा १ खर्ब ६९ अर्ब ६५ करोड रुपैयाँ वस्तु आयात भएको थियो। हाल ५.२ प्रतिशतले घटेको छ। भारतबाट १ खर्ब ६० अर्ब ७६ करोड रुपैयाँबराबरको आयात भएको छ। 

सबैभन्दा बढी आयात हुने ७ मुलुकबाट गरिने खरिद पनि तुलनात्मक रूपमा कमी आएको छ। अस्ट्रेलिया, फ्रान्स, ओमन, अमेरिका, इन्डोनेसिया र अर्जेन्टिना बढी आयात हुने मुलुक हुन्। ठूला मुलुकमा आयात वृद्धिदर न्यूनतम साढे १ प्रतिशतदेखि अधिकतम ७४ प्रतिशतसम्मले संकुचन भएको छ। मोरक्को, जर्मनी, युक्रेन, मलेसिया, यूएई, चीन र थाइल्यान्डबाट हुने आयातमा वृद्धि भएको छ। गत आवमा मोरक्कोबाट आयात भएको थिएन तर यसवर्ष भने २ अर्ब ३८ करोडको वस्तु आयात भएको छ। 

निर्यात पनि घट्यो 

अन्तर्राष्ट्रिय बजारमा नेपालबाट निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने मुख्य वस्तुहरूमध्ये उनी कार्पेट तथा गलैंचा, पश्मिना सल, चिया, हस्तकलाका सामानको निर्यात तुलनात्मक रूपमा घटेको छ। यी मुलुकका आशालाग्दा निर्यातित वस्तु हुन्।

गत वर्षको दुई महिनामा २ अर्ब १३ करोड ३५ लाख निर्यात भएको ऊनीको कार्पेट ११.२० प्रतिशतले घटेर १ अर्ब ८९ करोड ६४ लाखमा सीमित भएको छ। यो प्रायः युरोपीयन मुलुक, अमेरिकामा निर्यात हुन्छ। गलैंचा विलासिताको वस्तु भएको र अहिले अन्तर्राष्ट्रिय स्तरमा अर्थतन्त्र खस्किएकाले पनि माग कम भएको नेपाल गलैंचा उत्पादन तथा निकासीकर्ता संघका अध्यक्ष ई.तेञ्जिङ शेर्पाले बताए।

उत्पादित ऊनीका गलैंचा ९९ प्रतिशत निर्यात हुन्छ। तर, यसको माग जाडोयाममा हुने भएकाले अहिले गर्मीमा कम निर्यात भएको हो। यसको निर्यात घट्नुमा आन्तरिक कारणसमेत छन्। सरकारले यसपटक मजदुरको न्यूनतम पारिश्रमिक १५.३३ प्रतिशतले वृद्धि गर्दा १७ हजार हाराहारी पुगेको छ। अध्यक्ष ई. शेर्पा भन्छन्, ‘यसले गर्दा गलैंचा उत्पादनको लागत बढ्यो। अर्कोतिर बैंकको ब्याजदर अत्याधिक हुँदा पनि लागत बढ्यो। आयातकर्तालाई व्याज सहुलीयत छ तर निर्यातकर्तालाई भएन। यस्ता कारणले लागत महँगो हुँदा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न गाह्रो हुँदा निर्यात प्रभावित भएको हो।’ 

चियाको निर्यात पनि १५.६८ प्रतिशतले घटेको छ। गत वर्ष दुई महिनामा ९४ करोड ७१ लाख निर्यात भएको थियो। घटेर ७९ करोड ८५ लाख ९६ हजार रपैयाँ बराबर मात्रै भयो। यसैगरी पश्मिनाको सल पनि ११.२३ प्रतिशतले घटेर ५२ करोड २३ लाख रुपैयाँ हाराहारीमा मात्रै निर्यात भयो। पछिल्लो समय पश्मिनाका सलमात्र नभई स्विटर, पञ्जा, टोपी, मोजालगायतका तयारी सामान समेत निर्यात हुने भएकाले सलको तथ्यांक मात्रै हेर्न नहुने बताउँछन्, नेपाल पश्मिना उद्योग संघका अध्यक्ष विजयकुमार दुगड। उनकाअनुसार कोभिडपछि पश्मिनाको बजार बढेको छ। 

यता पाम र सोयाबिन तेलको निर्यात पनि ह्वात्तै घटेको छ। विदेशबाट कच्चापदार्थ आयात गरेर ३० प्रतिशत भ्यालुयाड (अतिरिक्त शुल्क) सहित यी तेल निर्यात गर्ने गरिन्छ। भारतले यस्ता तेलका कच्चापदार्थ ल्याउन गरेको कडाई फुकुवा गरेपछि नेपालको बाटो भएर आउने यी तेलको निर्यात हवात्तै घटेको हो। बाहिरिने वस्तुको आकार तथा मूल्य पनि घट्न गएको छ। किनभने कुल निर्यातमा आधाभन्दा बढी हिस्सा यही वस्तुको थियो। गत आवको दुई महिनामा १ अर्ब ९६ करोड ८६ लाख ३२ हजार रुपैयाँ हाराहारीमा निर्यात गरिएको सोयाबिन तेल अहिले स्वात्तै घटेर ३५ हजार रुपैयाँ मात्रै बिक्री भएको छ। यस्तै गत वर्ष ५ अर्ब ६९ करोड ४५ लाख ९९ हजार निर्यात भएको पाम तेल ८६.७८ प्रतिशतले घट्यो। ८७ लाख २६ हजार रुपैयाँमा सीमित हुन पुग्यो। गत आवको दुई महिनामा कुल निर्यात २८ अर्ब ६८ करोड रुपैयाँको थियो। हाल ७.७९ प्रतिशतले घटेर २६ अर्ब ४४ करोड ७० लाख हाराहारीमा सीमित छ। 

नेपालको निर्यातमा आशालाग्दा करबि २ दर्जन वस्तुहरूको निर्यातमा सुधार देखिएको छ। अलैंची १२०.३७ प्रतिशतले बढेको छ। दुई महिनामा १ अर्ब ५० करोड निर्यात भएको छ। अम्रिसो ८८.४५ प्रतिशतले वृद्धि भएर २१ करोड २९ लाख रपैयाँबराबरको बिक्री भएको छ। यसपटक सिमेन्ट निर्यात ०.६२ प्रतिशतले बढेर १६ करोड ४८ लाख ४३ हजारको निर्यात भयो। सिमेन्टको क्लिङ्कर २५ करोड ३६ लाख हाराहारी निर्यात भएको व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रले बताएको छ। यसैगरी निर्यात सुधार भएका वस्तुहरू अदुवा, दाल, टुथपेस्ट, औषधीय जडिबुटी, तयारी पोसाक, धागो आदि छन्। 

बढी निर्यात हुने मुलुक 

यूएई, चीन, हङकङ, फ्रान्स, अस्ट्रेलिया, जर्मनी, यूके, डेनमार्क र जापानमा निर्यात बढेको छ। क्यानडा, अमेरिका, भारत, इटाली टर्कीमा गत वर्षको तुलनामा निर्यात घटेको छ। 


अर्थतन्त्र चलायमान भएको छैन। त्यसैकारण सामान आयात गर्न व्यवसायी डराएका छन्। जहिले पनि मागअनुसारको आपूर्ति हुन्छ। तर, अहिले माग नै न्यून छ। 
– भवानी राणा, पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ 

अहिले चरम आर्थिक शिथिलताले समग्रमा आयात–निर्यात नै घटेको छ। उद्यमी, व्यापारी–व्यवसायी, उपभोक्तासँग पैसा छैन। उत्पादनमूलक क्षेत्र पनि ४२–४४ प्रतिशतभन्दा बढी चल्न सकेको छैन।
– कमलेशकुमार अग्रवाल 
वरिष्ठ उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्स

चाडबाड नजिकिँदै गर्दा पनि चहलपहल बढेन। उत्पादनमूलक सिमेन्ट, डन्डी उद्योगहरू आधाले घटेका छन्। यस्तो अवस्थामा सरकारले व्यवसायीको मनोवल बढाइ दिनुपर्छ।
– वीरेन्द्रराज पाण्डे 

उपाध्यक्ष, नेपाल उद्योग परिसंघ

गलैंचा विलासिताको वस्तु हो। अन्तर्राष्ट्रिय स्तरमा अर्थतन्त्र खस्किएकाले पनि माग कम भएको हो। बैंक ब्याज, ज्यालालगायतले लागत महँगो पर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न गाह्रो भएको छ। 
– ई.तेञ्जिङ शेर्पा
अध्यक्ष, नेपाल गलैंचा उत्पादन तथा निकासीकर्ता संघ 

चाडपर्व लक्षित गरेर सामान्यतया व्यवसायीले बढी सामान 
भित्र्याउँछन्। तर, पछिल्लो समय बजार सुनसान जस्तै छ। विगतका वर्षभन्दा ४० प्रतिशत कम आयात भएको छ। मौद्रिक नीतिमार्फत चालू पुँजी कर्जा गाइडलाइनले कर्जाको सीमा कसेपछि समग्र व्यवसायीहरू यस्तो अप्ठ्यारोमा परेका हुन्। 
– सुरकृष्ण वैद्य
उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ 

पश्मिनाको बजार बढेको छ। कोभिडपछि पश्मिनाको निर्यातमा सुधार भएको छ। अहिले सलको मात्रै निर्यात घटेको देखिए पनि यसका अन्य आइटमको निर्यात राम्रै छ।
विजयकुमार दुगड 
अध्यक्ष, नेपाल पश्मिना उद्योग संघ

अहिले बजारमा सामानको माग घटेकाले व्यवसाय कमजोर भएको छ। केही सामान होलसेलबाट खुद्रा बजारमा गएको छ। तर, खुद्रा बजारमा व्यापार छैन। त्यसैकारण व्यापारको स्थिति नाजुक देखिएको छ। 
– नरेश कटुवाल, अध्यक्ष, राष्ट्रिय व्यवसायी संघका संस्थापक


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.