चलिरहोस् विकास बहस

चलिरहोस् विकास बहस

‘नेपाल किन बनेन ?’ भन्ने सम्बन्धमा बडेबडे नीतिनिर्माता, नेता र ‘राष्ट्रसेवक’हरूका धीर गम्भीर विचारहरूको विद्युतीय, छापा, अनलाइन सञ्चारमाध्यमबाट ‘सेवन’ गर्न पाइएकै छ। तर ‘अजीर्ण भोजनं विषम्’ अर्थात् अपच भएको बेला खाना खानु विषसमान हुन्छ भनेजस्तै अकिंचनजस्ता ठीकैठीकै बौद्धिक क्षमता भएका, लाभको पदमा नरहेकाहरूले यस्ता गरिष्ट विचारहरू अनियन्त्रित रूपमा सेवन गर्दा अपच भइ स्वास्थ्यमै तलमाथि पर्न जान सक्ने पनि देखिन्छ।

त्यसो भइहाले राज्यले आफ्नै खर्चमा विदेश लगी उपचार गरिदिने सम्भावना भएन। स्वदेशमै समेत निःशुल्क उपचार गरिदिने सम्भावना नभएको अनि कर तिर्नु एकमात्र दायित्व भएको वर्गको व्यक्ति हुँदा त्यस्ता सुविचारहरू सेवन गर्न जति लालायित भए पनि मनै मारेर ‘मुख बार्नु’ पर्ने अवस्था छ। समाजवादी र पुँजीवादीको फ्युजनमा सबै ‘सरसुविधा’ पनि विकासकै लक्षणहरू हुन् शायद।

अनि यस सहरका सडकहरूमा ओहोरदोहोर गर्दा जे जति मात्रामा ‘सित्तैमा’ धुलो, धुवाँ ‘खान’ पाइन्छ, त्यो सबै अकिंचनजस्ता करदातालाई विकासको बोनसको रूपमा प्राप्त भएको होला, होइन ? तर एउटा हाइसन्चो पनि दिएको छ, यस राज्यप्रणालीले अकिंचनजस्ता ‘ओल्ड–फ्यासन्ड’हरूलाई। उकालो–ओरालो गरेर जसोतसो ‘आई ह्याब अराइब्ड’ भन्ने अवस्थामा नपुगेकै भए पनि देश र समाजको चिन्ता गरिरहन पाउने वातावरण भने बनाइदिएको छ।

अझ चिन्ता गर्ने विषयहरूको कहिल्यै कुनै कमी नहोस् भनेर विशेषगरी यस संघीय, लोकतान्त्रिक, धर्मनिरपेक्ष गणतन्त्रका तीन प्रमुख दलका ‘नव श्री ३’ हरू हरेक दिन लोकमाझ विषयवस्तु पस्किन्छन्। ती कहिले युद्ध सरदारको रूपमा प्रस्तुत हुन्छन् अनि देशको भूखण्डमा सल्किएको साम्प्रदायिक हिंसा अन्त्य गर्न शान्तिपूर्ण उपायको खोजी गर्नुको साटो आगोमा पेट्रोल खन्याउन खोज्छन्। कहिले आफैं न्यायाधीश, आफैं निर्णायक मण्डली अनि आफैं जल्लाद बनेर प्रियपात्रहरूलाई अक्षम्य अपराधका घटनामा समेत उन्मुक्ति दिन्छन्। कहिले तिनका नानाथरी भ्रातृ संगठनहरूले नौरंगी माग राखेर आन्दोलन गर्छन्। आमनागरिकको जीवन ठप्प पार्छन्।

श्री ३ हरू भ्रष्टाचारका फायलहरू सुविधानुसार खोल्छन्। सुविधानुसार बन्द गर्छन्। प्रियपात्रहरूलाई उन्मुक्ति दिन अनि आँखाको कसिंगर भएकाहरूलाई तह लगाउन पारंगत छन् ती। लोकगरिबी, भ्रष्टाचार, सगरमाथाको चुचुरोतर्फ उन्मुख मूल्यवृद्धिले झन्झन् आक्रान्त हुँदै गइरहेको गणतन्त्रमा नेता र तिनका प्रियजनहरूका, आसेपासेहरूका सोखहरू राजषी ठाँटबाँट, इमेल्डा मार्कोस, तानाशाहहरूको जीवनशैली बिर्साउने खालका छन्। के हामीले खोजेको मूर्खको स्वर्ग (फुल्स प्याराडाइज), केरा गणतन्त्र (बनाना रिपब्लिक) यही होइन र ? ‘वी गेट ह्वाट वी डिजर्भ’ होइन र ?

श्रीसम्पत्तिका पूजक हौं हामी, ‘चरणका दास’ भइसकेका छौं हामी। सदा कुनै दैवी नायकको, तारणहारको पर्खाइमा छौं। गणतन्त्रका ‘राजा’ ठानेकाहरू अलोकप्रिय भइसकेको परिप्रेक्ष्यमा, पारिपट्टिका कुनै दिव्यपुरुषले हाम्रो उद्धार गर्छन् कि भन्ने झिनो आशा भने बाँकी छ। चरम हतासामा हामीले यो संकट सागर आफैं पौडेर तर्न सक्छौं भन्ने विश्वाससमेत गुमाएर आर्तपुकार गरिरहेका छौं। आर्तपुकार सुनेर पारिबाट आइरहेछन् स्वनामधन्य बाबाहरू, गुरुहरू। तिनले जतिसुकै होच्याउन् हामीलाई, जति निर्मम प्रहार गरुन् स्वदेशविरूद्ध, हामीलाई छुँदैन किनभने ती उदाउँदो विश्वशक्तिका दूतहरू हुन्। ऊ रिसायो भने खाइपाई आएको त खोसिन्छ खोसिन्छ थप विपद् पनि आइलाग्छन् कि भन्ने भयले हामी वीर जातिलाई छोपेको छ।

टोलटोलका आलिसान महलहरूमार्फत, सडकमा गुडिरहेका टेस्ला, मर्सेडिज बेन्ज, हमरलगायतका कारका साथै डुक्याटी, क्रसफायर, हार्ले डेविडसन, केटिएमजस्ता महँगा बाइकमार्फत जुन ‘समृद्ध नेपाल, सुखी नेपाली’का झलकहरू ‘फ्रि’मा देख्न पाइरहेको छ नेपाली लोकले त्यसको स्रोत के हो ? त्यो सुख, त्यो समृद्धिको पाइपलाइन कहाँबाट सुरु भएर कहाँ पुगेर टुंगिएको छ ? राजनीतिमार्फत लोक र देशको सेवा गरेकै भरमा अमेरिकी/युरोपेली मापदण्डको जीवन बाँच्न सक्ने अवस्था छ सरकारी कर्मचारीलाई तलब खुवाउनसमेत हम्मे परिरहेको हाम्रोजस्तो ‘विशिष्ट’ परिस्थितिमा ? आफ्नो अवस्था त ‘न्याउली चरी के भन्छ आधा सञ्चो आधा बिसञ्चो’ बोलको गीतले प्रतिविम्बित गरेकै छ।

कति बिल गेट्स, एलन मस्क, जेफ बेजोस्, मुकेश अम्बानी, आनन्द महिन्द्राजस्ता पात्रहरू छन् अवस्था हालत बनाइएको यस देशमा ? यहाँनेर स्पष्ट पारुँ– अकिंचन कर छलेर, अपराधको राजनीतीकरण र राजनीतिको अपराधीकरण गरेर, खैरा क्षेत्रहरूमा खेलेर, राज्यप्रणालीमा रहेका छिद्रहरूबाट फाइदा उठाएर समृद्धिको शिखरमा पुगेका पात्रहरूको कुरा गर्नु नै छैन। स्वार्थको द्वन्द्वमा पौडेर समृद्धिको तर मार्ने नवधनाढ्यहरूको पनि कुरा गरिरहेको छैन। हुन त ‘ठूलाठूला’ पापकर्महरू नगरी छ्यालब्याल हुने गरी धनार्जन गर्न सकिन्न भनिएको छ (ग्रेट वेल्थ इन्वल्वस ग्रेट सिन्स)।

सरकारी सेवामा यस्ता कर्मचारी पनि थिए (अझै पनि होलान्) जो सरुवा भइगएको जिल्लामा टेकेको केही काल बित्नेबित्तिकै जग्गाजमिन जोडिहाल्थे। त्यस्ता ‘पुरुषार्थीहरू’ कर्मचारीवृत्तमा ‘पृथ्वीनारायण शाह’का नामले चिनिन्थे भन्ने अकिंचनले सुनेको हो। के राजनीतिक नेतृत्वको आशीर्वादबिना यस्तो पौरखी कर्म गर्न सके होलान् त ‘राष्ट्रसेवकहरू’ले ? अनि त्यस्ता ‘प्रचण्ड प्रतापी भूपति कर्मचारीहरू र नेताहरू’ मिलेपछि ललिता निवास काण्ड मञ्चन हुनु कुन अचम्मको कुरा भयो ?

त्यसै पनि नेपाली समाजलाई सत्ता, शक्ति, धनदौलतबाहेक केही चाहिँदैन क्यार ! ती सबै जसरी आर्जन गरिएको होस् के मतलव ? बेलाबेला हुने सामाजिक, धार्मिक, आध्यात्मिक जमघटहरूमा समेत तिनै ‘पुरुषार्थी’हरूका ‘विरोचित’ कर्महरूको चर्चा हुन्छ, महिमा–मण्डन हुन्छ, इमान्दारहरूको, स्वाभिमानीहरूको मानमर्दन गर्न कुनै कसर बाँकी राखिन्न। अचम्म त के भने हाम्रा जस्ता ‘राजनीतिज्ञ’ र राष्ट्रसेवकहरू हुँदा पनि यो एक थान देश जसोतसो जीवित छ। अनि अकिंचनजस्ता ‘रेबल विदआउट ए कज’ जस्ता लाग्ने पात्रहरू कथा लेख्नकै लागि नै भए पनि आजसम्म जिउँदै छौं। यो कम्ता सुखद आश्चर्य होइन।

रह्यो नेपालको विकास किन भएन भन्ने ‘यक्ष प्रश्न’। बिम्बमा भन्नुपर्दा सडकका खाल्डाहरू र टोलका महलहरू, लोकको बिजोग अवस्था र विदेशी–खासगरी स्विस ब्यांकमा बढ्दै गएको केही नेपालीको ब्यांक ब्यालेन्स–बीच ‘नन्सेन्स कोरिलेसन’ देख्नेका लागि ‘नेपालको अविकास’ ‘रकेट साइन्स’भन्दा पनि दुरुह विषय हो। बुद्धिविलास जारी रहोस्, ज्योतिर्लिंगको आदि–अन्त्य पत्ता लगाउन ब्रह्मा र विष्णुले गरेको शत्प्रयास जारी रहोस्, आइएम एन्जोइंग दिस एक्ससाइज थोरोली। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.