उदयपुरमा बजार अनुगमन : तीन पसललाई जरिवाना, डेढ लाखको सामान जफत
![उदयपुरमा बजार अनुगमन : तीन पसललाई जरिवाना, डेढ लाखको सामान जफत](https://annapurnapost.prixacdn.net/media/albums/bazar-anugaman_wRw3OMna69_6eDuQclgWA.jpg)
उदयपुर : चाडपर्व नजिकिदै जाँदा जिल्लास्थित संयुक्त बजार अनुगमन टोलीले सक्रियता बढाएको छ। चाडपर्वमा विशेषगरी व्यापारीले बजारमा कृतिम अभाव सृजना गरी कालोबजारी गर्ने,म्याद गुज्रेका सामग्री बिक्री वितरण गर्ने सम्भावनालाई मध्यनजर गरी टोलीले जिल्ला भित्रका बजार अनुगमनलाई तीब्रता दिएको हो ।
जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेलको नेतृत्वमा करदाता सेवा कार्यालय गाईघाट,घरेलु तथा साना उद्योग कार्यालय गाईघाट,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय गाईघाटको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।
टोलीले बेल्टार बजारमा रहेका ३३ वटा पसलमा छड्के अनुगमन गरेको छ । त्यसक्रममा तीनवटा पसललाई जरिवाना र करिब डेढ लाख बराबरको समान जफत गरेको टोली प्रमुख सहायक प्रजिअ पोखरेलले बताए ।
उनका अनुसार सुशिला ट्रेडर्स, दमक होटललाई १०/१० हजार र जयअम्बे सप्लायर्सलाई ३ हजार गरी २३ हजार जरिवाना गरिएको हो । विशेषगरी अन्तशुल्क दर्ता नगरी मदिरा बेचबिखन गर्ने होटलका समान जफत गरिएको उनले बताए ।
अनुगमनमा १८ वटा पसल घरेलुमा दर्ता नभएको पाइएको छ भने १२ वटा पसलमा हस्ताक्षर नभएको पाइएको छ । बजार अनुगमन चाडवाड केन्द्रित मात्र नभएर अन्य समयमा समेत हुने गरेको सहायक प्रजिअ पोखरेलले बताए ।
टोलीले आमजनताको चाहना अनुसार बजारलाई मर्यादित र चुस्त बनाउन अनुगमन गरिएको बताए । स्थानीय व्यापारीले भने व्यापार व्यवसाय धरासायी बनेको बेला बजार अनुगमनको नाममा जरिमान गर्नु राम्रो नभएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)