जथाभाबी पार्किङ गर्ने सवारीसाधनलाई लक लगाइँदै
![जथाभाबी पार्किङ गर्ने सवारीसाधनलाई लक लगाइँदै](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_2XIRQ0Z1Fv_d6HtdZ8UQx.jpg)
उदयपुर : जथाभाबी पार्किङले बजार अस्तव्यस्त बनेपछि जिल्ला ट्राफिक कार्यालय उदयपुरले सवारीसाधन लक लगाउन सुरु गरेको छ। जथाभाबी पार्किङ नगर्न गरिएको अनुरोधलाई बेवास्ता गरेपछि सवारी राखिएको ठाउँमा नै लक गरी कारबाही सुरु गरिएको हो।
पार्किङ एरियाभन्दा बाहिर ‘नो पार्किङ' लेखिएका ठाउँमा सवारी राख्ने र लामो समयसम्म बेपत्ता हुने गरेकाले कारबाही स्वरूप लक लगाइएको ट्राफिक इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक लोकबहादुर दियालीले बताए।
उनले भने, ‘नगरपालिकासँगको सहकार्यमा निश्चित एरियामा पार्किङ तोकिएको छ, तर त्यसलाई कार्यान्वयन गर्नुको साटो जहाँ ‘नो पार्किङ' लेखिएको छ त्यहीँ गाडी बिसाउने आदत देखिएकाले बाध्य भएर कारबाहीमा उत्रनु परेको हो।'
नजिकदै गरेको दशैं तिहार छैठ लगायतका पर्वमा ट्राफिक अस्तव्यस्त हुने र सम्भावित हुन सक्ने दुर्घटनालाई न्यूनीकरण गर्न पार्किङ व्यवस्थापनमा लागि परेको उनको भनाई छ। भीडभाडका कारण ट्राफिक अस्तव्यस्तताले दुर्घटना निम्त्याउने भन्दै ‘नो पार्किङ'मा सवारी पार्किङ नगर्न कार्यालयले अनुरोध गरेको छ।
दियालीका अनुसार गाईघाट बजार एरियामा अत्याधुनिक भीडभाड हुने बैंक लाइन, मेनचोक, बिपि, पिजि चोक र असारी लाइनमा विशेष पार्किङ व्यवस्थापन गरिएको छ। बजार क्षेत्रमा चाडपर्व अवधिभर किनमेल गर्नेको भीड हुने गरेकाले यस्ता ठाउँमा सहज आवागमन गराउन ट्राफिक प्रहरी लागि परेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)