कोसी प्रदेशका विभिन्न स्थानमा ‘यात्रु सहायता कक्ष’
विराटनगर : दसैं, तिहार, छठलगायतका चाडपर्व नजिकिएसँगै सार्वजनिक सवारीसाधनमाथि निगरानी बढाउन कोसी प्रदेशमा ट्राफिक सक्रियता बढाइएको छ । चाडपर्व मनाउन मुलुकका विभिन्न स्थानबाट सार्वजनिक सवारीको प्रयोग गरेर आजतजावत गर्ने यात्रुको सुविधालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सडकमा निगरानी बढाएको हो ।
सडकमा ट्राफिकको उपस्थिति बाक्लो बनाइएको छ । सर्वसाधारणको यात्रालाई सहज बनाउन ट्राफिकै सक्रियतामा प्रदेशका विभिन्न स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ । चाडपर्वलाई लक्षित गरेर स्थापना गरिएका ‘यात्रु सहायता कक्ष’लाई व्यवस्थित बनाउन ट्राफिक प्रहरीको विशेष टोली परिचालन गरिएको छ ।
यात्राका क्रममा यात्रुलाई आइपर्ने सम्भावित समस्यालाई तत्काल सम्बोधन गर्ने उदेश्यका साथ ठाउँठाउँमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेर सञ्चालनमा ल्याइएको कोसी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी सरोज पौडेलले जानकारी दिए । उनका अनुसार कक्षमा परिचालित ट्राफिक प्रहरीले यात्रुका समस्या तत्काल सम्बोधन गर्ने छन् ।
यात्रुको सहजताका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी, सवारी चालक, मजदुरसँग सम्बन्धित संघ संगठन, बसपार्क व्यवस्थापन समितिलगायतका सरोकारवालासँग समन्वय गरिएको पौडेलले बताए । उनका अनुसार चाडपर्वका बेला यात्रुसँग बढी भाडा लिने, यात्रुलाई जथाभावी तान्ने, यात्रुका सामानको सुरक्षा नगर्ने, आरक्षण सिटको कार्यान्वयन नगर्ने, क्षमताभन्दा बढी र कोचाकोच यात्रु राख्नेलगायतका समस्या सार्वजनिक सवारीसाधनमा देखिने गरेको छ ।
साथै, यात्रुलाई सम्मानजनक व्यवहार नगर्ने, गन्तव्यसम्म नपुर्याउने, एकभन्दा बढी यात्रुलाई एउटै सिटको टिकट काटिदिने, मापदण्डविपरीत सवारी सञ्चालन गर्ने, यात्रुलाई बिचल्ली बनाउने, अस्वस्थ्यकर खाना खान बाध्य पार्ने तथा बेचबिखन गर्ने, गैरकानुनी व्यवहार गरेर यात्रुलाई मर्कामा पार्ने गरिएको छ । यात्रुमैत्री व्यवहार गर्न सबैलाई आह्वान गरिएको बताउँदै पौडेलले यात्रुलाई असुविधा पुर्याउने खालका हर्कत गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याइने जानकारी दिए ।
उनका अनुसार यात्राका क्रममा कुनै समस्या परेमा तत्काल ‘यात्रु सहायता कक्ष’मा र ट्राफिक प्रहरीलगायतका सुरक्षा निकायलाई जानकारी गराउन पनि यात्रुहरुलाई आह्वान गरिएको छ । यात्रुको सुरक्षा र सुविधालाई पहिलो प्राथमिकतामा राखेर सवारीसाधन सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरिएको एसपी पौडेलले बताए । यात्रुमैत्री व्यवहार नगर्ने र यात्रुलाई असुविधा पु¥याउनेलाई उन्मुक्ति नदिइने उनको प्रतिबद्धता छ ।
हालसम्म प्रदेशका १९ स्थानमा ‘यात्रु सहायता कक्षा’ सञ्चालन गरिसकिएको छ । झापाको काँकडभिट्टा, बिर्तामोड, दमक, इलामको फिक्कल, धनकुटाको बसपार्क, हिले, साँघुरीगढी, तेह्रथुमको लालीगुराँस चोक, म्याङलुङ्, उदयपुरको त्रियुगा बसपार्क, पाँचथरको फिदिम, भोजपुरको देउराली, खोटाङको सहिदगेट, ताप्लेजुङको फुङलिङस्थित तोक्मेडाँडा, संखुवासभाको खाँदबारी तथा सुनसरीको इटहरी बसपार्क र कोसी गाउँपालिकाको शिवचोकलगायतका स्थानमा कक्ष स्थापना गरेर सञ्चालनमा ल्याइएको हो ।
कक्षा स्थापनालाई यही असोज २८ गतेसम्म निरन्तरता दिइने एसपी पौडेलले बताए । उनका अनुसार प्रदेशका २८ भन्दा बढी स्थानमा कक्ष स्थापनाको तयारी छ ।