इजरायल आक्रमणमा परेर ज्यान गुमाएकाको शव ल्याउन माग गर्दै चक्काजाम
ढल्केवर(धनुषा) : इजरायलमा शनिबार भएको आतंककारी हमलामा ज्यान गुमाएका धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको शवको माग गर्दै चक्काजाम गरिएको छ।
सपहीका स्थानीयहरूले सोमबार बिहान जनकपुर–ढल्केवर सडकखण्ड अवरुद्ध पारेका हुन्। मृतक साहको शव यथाशीघ्र नेपाल ल्याएर परिवारको जिम्मा लगाउन माग गर्दै उनीहरू चक्काजाम गर्दै प्रदर्शन गरेका छन्।
जनकपुरकै मिट कलेजबाट आइएससी उत्तीर्ण गरेका साह सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर मल्टिपल क्याम्पस कैलालीमा कृषि विषयमा स्नातक पढेका थिए। अन्तिम वर्षको पढाइ सकिएपछि कलेजले नै अभ्यासका लागि इजरायल पठाएको थियो।
गत भदौ २८ गतेमात्र ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषिसम्बन्धी तालिम लिनका लागि इजरायल गएका थिए। कृषिसम्बन्धी तालिम लिन उनीसँगै नेपालका अरू २५ जना विद्यार्थीहरू गएका थिए।
इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा विद्रोही समूह (हमास)को आक्रमणमा परी १० जना नेपाली नागरिकको मृत्यु भएको छ।