चार्टर फ्लाइटको रुट पाइएन, उद्धारमा ढिलाइ

चार्टर फ्लाइटको रुट पाइएन, उद्धारमा ढिलाइ
फाइल तस्बिर।

इजरायलमा फ्लाई दुबई, टर्किस एयरलायन्स, एयर इन्डिया, कतार एयरलायन्सको उडान भने भइरहेको छ।

काठमाडौं : चार्टर फ्लाइटका लागि रुट नपाइएपछि इजरायलबाट नेपालीको उद्धारमा ढिलाइ हुने भएको छ। विद्रोही समूह हमासको आक्रमणपछि इजरायलमा रहेकाहरूले जतिसक्दो चाँडो उद्धार गरिदिन आग्रह गरिरहेका छन्। तर, जहाज तयारी अवस्थामा राखिए पनि हवाई रुट नपाइएका कारण जहाज पठाउन नसकिएको सरकारले जनाएको छ। 

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनलाई मंगलबार टेलिफोन गरेर इजरायलमा रहेका नेपालीलाई फर्काउन र मृतकको शव ल्याउने प्रक्रियामा सहजीकरण गरिदिन आग्रह गरेका छन्। 

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले हवाई रुट खुल्नेबित्तिकै उद्धाररका लागि जहाज पठाइने बताइन्। ‘विमान सेवा नखुलेकै कारण नेपालबाट जहाज नपठाएका हुन्,’ लम्सालले भनिन्, ‘रुट पाउनेबित्तिकै उद्धारमा जहाज पठाउने तयारी अवस्थामा छौं।’ हमासको आक्रमणबाट १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो। बाँकी विद्यार्थी र नेपालीहरूले सरकारको उपस्थिति खोजिरहेका छन्। परराष्ट्र प्रवक्ता लम्सालले संवेदनशील क्षेत्रबाट 

नेपालीहरू सुरक्षित स्थानमा सारिएको जानकारी दिइन्। 

इजरायलस्थित नेपाली दूतावासले पनि हवाईसेवा नै अवरुद्ध भएकाले नेपालबाट विमान ल्याएर उद्धारर गर्ने सम्भावना तत्काल नरहेको बताएको छ। राजदूत कान्ता रिजालले भनिन्, ‘यहाँ (इजरायल) को अवस्था संवेदनशील छ। सुरक्षाकै कारणले इजरायलमा विमानबाट उद्धार गर्न कठिनाइ छ।’ त्यहाँको अवस्था सहज बनेसँगै उद्धारको काम अघि बढाइने उनले जनाइन्।

सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका विमान पठाएर आफ्ना नागरिकको उद्धार गर्ने तयारी गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार ३ सय ८० जनाले स्वदेश फिर्ता हुन् ‘अनलाइन रजिस्ट्रेसन’ गरेका छन्। 

तर, गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष श्रीकृष्ण भण्डारीले विदेशी कम्पनीका जहाजहरू आवत–जावत भइरहेकाले ती जहाजमार्फत नेपालीको उद्धार गर्न सकिने बताए। उनले फ्लाई दुबई, टर्किस एयरलायन्स, एयर इन्डिया, कतार एयरलायन्सको उडान भइरहेकाले ती जहाजमार्फत नेपालीको उद्धार गर्न सकिने बताए। 

‘हामीले फ्लाई दुबईसँग कुराकानी गर्दा दैनिक ३०/४० जनाको दरले पठाउनुस्, हामी लान्छौं भन्नुभएको थियो,’ एनआरएनका अध्यक्ष भण्डारीले भने, ‘राजदूतावास चार्टर विमानको अडानमा छ। पैसा खर्च गरेर भए पनि आफ्ना नागरिक फिर्ता लैजाऊँ भन्नेमा न नेपाल सरकार देखिन्छ, न राजदूतावास।’

परराष्ट्रमन्त्री साउदको आग्रह कोहेनलाई 

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीको उद्धार कार्यमा, मृतकको शव ल्याउन र सम्पर्कविहीनको खोजी कार्यमा सहयोग गरिदिन इजरायलका विदेशमन्त्री एली कोहेनसँग आग्रह गरेका छन्। परराष्ट्रमन्त्री साउदले मंगलबार विदेशमन्त्री कोहेनसँग टेलिफोन कुराकानीमा यस्तो आग्रह गरेका हुन्। 

परराष्ट्रमन्त्री साउदले हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली नागरिकको शव नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन आग्रह गरेका थिए। 

यहाँ (इजरायल) को अवस्था संवेदनशील छ। सुरक्षाकै कारणले इजरायलमा विमानबाट उद्धार गर्न कठिनाइ छ ।
कान्ता रिजाल, राजदूत  

‘मृतकहरूको पार्थिव शरीर ल्याउन थोरै ढिलाइले पनि घरपरिवारका सदस्यहरूमा झन् पीडा थप्ने छ,’ परराष्ट्रमन्त्री साउदले विदेशमन्त्री कोहेनसँग आग्रह गरेका थिए, ‘तसर्थ शवहरू नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन आग्रह गर्छु। त्यसका लागि इजरायलमै स्थित नेपाली दूतावासले आवश्यक समन्वय गर्नेछ।’ 

मन्त्री साउदले आक्रमणमा परी घाइते भएका चार जना नेपाली नागरिकको स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन पनि इजरायल सरकारसँग आग्रह गरेका थिए। उनले आक्रमणपछि सम्पर्कविहीन भएका एक नेपाली नागरिकको अवस्था पत्ता लगाइदिन पनि अनुरोध गरेको मन्त्रालयले जनाएको छ। 

परराष्ट्रमन्त्री साउदले नेपाल फिर्ता हुन चाहनेको विवरण संकलन भइरहेको र फर्कन चाहनेका लागि सहजीकरण गरिदिन पनि विदेशमन्त्रीसँग आग्रह गरेका थिए। जवाफमा इजरायली विदेशमन्त्री कोहेनले मृतक नेपाली नागरिकको शव नेपाल पठाउन, इजरायलमा रहेका नेपालीको सुरक्षा गर्न र घर फर्किन चाहनेका लागि आफ्नो सरकारले उच्चतम् सहयोग गर्ने आश्वासन दिएका थिए। 

मृतकको शव ल्याउन निर्देशन 

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले इजरायलमा हमास विद्रोहीको आक्रमणमा मारिएका १० नेपालीको शव तत्काल नेपाल ल्याउने व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ।

समितिको मंगलबारको बैठकले हमासको आक्रमणपछि इजरायलमा बेपत्ता भएका नेपालीको खोजी कार्य अघि बढाउन र नेपाल आउन चाहनेलाई फिर्ता ल्याउनका लागि समन्वय र पहलकदमी लिने निर्देशन दिएको हो। 

समिति सभापति राजकिशोर यादवले अकल्पनीय घटनाबाट निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउन, घाइतेहरूको शीघ्र स्वास्थ्य उपचार गर्न, बेपत्ता भएकाहरूको खोजी गर्न, अप्ठ्यारोमा परेका नेपालीको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न, पीडित परिवारलाई राहतको व्यवस्था गर्न, स्वदेश फिर्तीको चाहना राख्ने नेपालीलाई तत्काल फिर्तीको प्रबन्ध पहल गर्न समिति सरकारलाई निर्देशन दिएका थिए। बैठकमा सहभागी अर्का सांसद प्रकाशमान सिंहले पनि इजरायलमा रहेका नेपालीको उद्धाररका लागि नेपाल सरकारले यथाशक्य छिटो लाग्नुपर्ने बताएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.