मोरङमा नेपाल–भारत समन्वय बैठक : सीमा अपराध नियन्त्रणमा सहकार्यको प्रतिबद्धता
![मोरङमा नेपाल–भारत समन्वय बैठक : सीमा अपराध नियन्त्रणमा सहकार्यको प्रतिबद्धता](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_1hgU8y0OAo_U5X6MLXnaR.jpg)
विराटनगर : मोरङको विराटचोकमा बाहिनीस्तरीय नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न भएको छ। दुई देशीय सुरक्षा अधिकारीबीच बैठक भएको हो।
दुवै देशमा सीमा सुरक्षा तथा भन्सार चोरी निकासी नियन्त्रणको महत्वपूर्ण जिम्मेवारी पाएका सुरक्षा निकायहरू नेपालको सशस्त्र प्रहरी र भारतको सीमा सुरक्षा बल (एसएसबी)का अधिकारीहरू सम्मिलित बैठक भएको हो। बैठकमा सीमा अपराधलगायत सुरक्षा संवेदशीलताका विषयमा गहन छलफल भएको बताइएको छ।
नेपालका तर्फबाट सशस्त्र प्रहरी बल कोसी प्रदेशका प्रमुख डीआईजी अन्जनीकुमार पोखरेल र भारतका तर्फबाट सिलिगुडीस्थित एसएसबीका डीआईजी डीबी सोनारले बैठकको नेतृत्व गरेका थिए।
नेपालका तर्फबाट डीआईजी पोखरेलसहित सशस्त्रका एसएसपी रविनराज कर्णजीत, एसपीहरू, भारतसँग सीमा जोडिएका सशस्त्रका युनिटका इन्चार्जहरूको उपस्थिति बैठकमा थियो।
त्यस्तै, भारतका तर्फबाट विभिन्न सेक्टर हेडक्वार्टरका सेकेण्ड ईन कमाण्डरहरू पुर्नियाका सुरजित पाल, रानीडंगाका अचिन्त्य मित्र, गान्तोकका सुनील कुमारलगायतका एसएसबीका अधिकारीहरू बैठकमा उपस्थित थिए।
बैठकमा सीमा अपराध, अवैध गतिविधि, भन्सार चोरी निकासी, सीमामा हुने अवाञ्छित गतिविधि, दशगजाको अतिक्रमण, लागूऔषध, मानव बेचबिखन एवं ओसारपसार नियन्त्रण तथा रोकथामका विषयमा छफल भएको सशस्त्र प्रहरीले जनाएको छ।
साथै, सूचना आदानप्रदानका माध्यमबाट सीमा क्षेत्रमा हुने आर्थिकलगायत अन्य अपराध नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकाय र अन्य सरोकारवालासँग समन्वय एवं सहकार्य गर्ने सहमति दुवै देशका अधिकारीहरूबीच भएको छ।
चाडपर्वलाई लक्षित गरेर सीमा क्षेत्रबाट हुने आवातजावतलाई सहज एवं व्यवस्थित बनाउन प्रभावकारी ‘हेल्प डेस्क’को स्थापना तथा सञ्चालन गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो।
‘सीमा क्षेत्रबाट हुने जुनसुकै अपराध नियन्त्रणका लागि आपसी समन्वय गर्ने विषयमा दुवै देशका सुरक्षा अधिकारीले प्रतिबद्धता जनाएका छन्,’ सशस्त्रका एक अधिकारी भन्छन्, ‘एकआपसमा द्रुत हिसाबले सूचना आदानप्रदान एवं समन्वय गरेर सीमा सुरक्षालाई प्रभावकारी बनाउने सहमति भएको छ।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)