जलेश्वरस्थित त्रिशूलीमाई मन्दिर सर्वसाधारणका लागि खुला
जलेश्वर (महोत्तरी) : महोत्तरीस्थित त्रिशूलीमाई मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ। जलेश्वरस्थित जलेश्वरनाथ मन्दिरको प्रागणमा अवस्थित त्रिशूलीमाई माताको मन्दिर दसैं अवधिभरका लागि सर्वसाधारण दर्शनार्थीको लागि खुला गरिएको हो।
त्रिशूलीमाईको मन्दिर अन्य समयमा सर्वसाधारणका लागि बन्द हुने गरेको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताए। प्रत्येक वर्ष दसैंको १० दिन मात्र खुला रहने यो मन्दिरमा घटस्थापनादेखि सर्वसाधारणको बिहानदेखि घुइँचो लागेको छ।
त्रिशूल धारण गरेकी त्रिशूलीदेवी भवानीको मन्दिर वर्षभरि खोलिँदैन भने उनको प्रतिमा वर्षभरि कसैले हेर्न वा छुन पाउँदैनन्। तर दसैंमा पुजारीले १० दिनसम्म विशेष पूजाआजा गर्ने, सर्वसाधारणले माताको दर्शन गर्न पाउने र भेटीसमेत चढाउन पाउने व्यवस्था रहेको पुजारी पाठकले बताए।
महोत्तरी लगायत धनुषा, सिरहा, सर्लाही जिल्ला र भारतको सीतामढी तथा मधुवनी जिल्लामा यो मन्दिर निकै प्रख्यात छ। यहाँ नेपाल तथा भारतका विभिन्न जिल्लाबाट हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका छन्।
दसैंमा त्रिशूलीदेवीको पूजा र दर्शन गर्न नपाएका भक्तजन पुनः वर्षभरि माताको मन्दिर खुल्ने प्रतीक्षा गर्नुपर्ने हुन्छ त्यसैले दसैंभरि त्रिशूलीदेवी मन्दिरमा ठूलो भीड लाग्ने तथा लाखौंको भेटी र प्रसाद चढाइने गरिन्छ।
त्रिशूली मन्दिरमा भाकल गरेको कुरा पूरा हुने जनविश्वास रहेको र वर्षमा एकपटक मात्रै माताको दर्शन हुने हुँदा सर्वसाधारणको आस्थाको केन्द्र बनेको छ।