चाडपर्व लक्षित सुरक्षा सतर्कता : बैंक तथा वित्तिय संस्थामा बढाइयो निगरानी
विराटनगर : चाडपर्वलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन मोरङमा सुरक्षा सक्रियता बढाइएको छ। कोशी प्रदेशको राजधानी विराटनगर मोरङमै पर्छ। विराटनगर मानवीय चहलपहल, भीडभाड तथा आर्थिक गतिविधि धेरै स्थानभित्र पर्छ। बैंक, वित्तिय संस्था एवं आर्थिक गतिविधि धेरै हुने ठाउँ र महत्वपूर्ण प्रतिष्ठानहरूमा २४ घण्टा नै निगरानी गर्न थालिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार सुनचाँदी पसल, सरकारी तथा गैर सरकारी कार्यालय, एटीएम बुथ, सार्वजनिक स्थल र पसलहरूमा सुरक्षा सतर्कता बढाइएको छ।
चोरी, लुटपाट र डकैती हुनसक्ने सम्भावित स्थानमा प्रहरी उपस्थित बाक्लो बनाइएको दाहाल बताउँछन्। दसैं, तिहार, छैठ लगायतका चाडपर्वलाई लक्षित गरेर सबै ठाउँको सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए। विशेष ढंगले सुरक्षा योजना तयार पार्दै प्रहरी सक्रियता बढाइएको डीएसपी दाहालको भनाइ छ। सुरक्षा व्यवस्था मजवुत बनाउन अपुग प्रहरी माथिल्लो कार्यालयबाट मगाइएको छ।
मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले चार्डपर्वमा सुरक्षाको उचित प्रबन्ध मिलाउन कुनै कसर बाँकी नराखिने बताए। सम्भावित र विगतमा भएका घटना एवं आपराधिक गतिविधिलाई मध्यनजर गर्दै त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाइएको उनको भनाइ छ।
एसपी पोखरेलका अनुसार चोरी, लुटपाट लगायतका अपराध एवं मदिरा सेवनका कारण हुनसक्ने झैझगडालगायत विभिन्न अपराध नियन्त्रणका लागि सादा पोसाक तथा हतियारसहितका प्रहरी परिचालन गरिएको छ।
सुरक्षाका हिसाबले संवेदनशील मानिएका क्षेत्र तथा भित्री सडक र एकान्त स्थानमा प्रहरीको ‘पिकेट ड्युटी’, ‘क्वीक रेस्पोन्स टिम’ तथा साइकल, मोबाइल र पैदल गस्ती परिचालन गरिएको छ। धार्मिक तीर्थस्थल, शक्तिपीठ, मठ मन्दिरलगायत भक्तजनहरूको भीडभाड एवं घुइँचो हुने स्थानको सुरक्षामा विशेष ध्यान दिइएको पोखरेल बताउँछन्।
उनका अनुसार भीडभाडमा हुने चोरी, डकैती र लुटपाटका घटना, मादक पदार्थ सेवन (मापसे)बाट हुने झैझगडा एवं अपराध नियन्त्रण, कालो बजारी, इन्धन तथा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव नियन्त्रण लगायतमा पनि प्रहरीले ध्यान दिइरहेको छ।
चाडपर्वमा यातायातको सहज उपलब्धता, ट्राफिक व्यवस्थापन, तस्करी, हातहतियार तथा लागूऔषध र मदिराको अवैध ओसारपसार नियन्त्रण प्रहरीको प्राथमिकतामा छन्। त्यस्तै जुवा, तास लगायत गैह्रकानुनी खेलहरू र शान्ति भड्काउन खोज्नेलाई पूर्णरूपमा नियन्त्रणमा लिइने एसपी पोखरेल बताउँछन्। उनका अनुसार उद्योग, कलकारखाना, महत्वपूर्ण प्रतिष्ठान, लोकमार्ग तथा अन्य सहायक राजमार्गको सुरक्षा अवस्थामा कुनै कमी आउन नदिइ होटल, लज एवं रेष्टुरेन्टको नियमित चेकजाँचको व्यवस्था मिलाइएको छ।
शंकास्पद व्यक्तिहरू एवं सार्वजनिक स्थलमा हुने गतिविधिको निगरानी, पटकाको ओसारपसार तथा बेचबिखन, सीमा क्षेत्रमा कडाइ, पकेटमारलगायत आपराधिक प्रवृत्तिका मानिसहरूको पहिचान र नियन्त्रण थालिएको प्रहरीले जनाएको छ। मापसे गरेर सार्वजनिक स्थलहरूमा होहल्ला एवं झैझगडा गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही अघि बढाइने जानकारी पोखरेलले दिए।
सवारी साधनमाथि आकस्मिक चेकजाँच सुरु गरिएको छ। प्रहरीले दुर्घटनामा कमी ल्याउन विभिन्न जनचेतनामुलक कार्यक्रम गर्न थालेको छ। अन्य सुरक्षा निकायसँग समन्वय गरेर चाडपर्वमा हुने चन्दा आंतक, ठगीजस्ता क्रियाकलाप नियन्त्रणमा सक्रियता बढाइएको एसपी पोखरेलले बताए।
प्रहरीले चाडपर्वको मुखमा विभिन्न घटनाबाट बच्न सरोकारवाला निकायलाई सजग गराउँदै सबैलाई सर्तकता अपनाउन आग्रह गरेको छ। सीमा अपराध नियन्त्रणका लागि भारतीय ‘काउण्टर पार्ट्स’सँगको समन्वय र सहकार्यलाई पनि प्रहरीले प्राथमिकतामा राखेको छ।
महिला, बालबालिका, अशक्त, ज्येष्ठ नागरिकविरुद्ध हुनसक्ने अपराधको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न उपाय अवलम्बन गरिने भएको छ। चाडपर्वमा अत्यावस्यक सेवाका साधनहरू एम्बुलेन्स र दमकल तयारी अवस्थामा राखिने प्रहरीले जनाएको छ।
कुनै पनि घटनामा परेर घाइते भएकाको उपचारका लागि सबै अस्पताललाई २४ घण्टा नै तयारी अवस्थामा राख्न स्थानीय प्रशासनसँग समन्वय भइसकेको प्रहरीले जनाएको छ।
एसपी पोखरेलले सीसी क्यामेरामार्फत निगरानी बढाउँदै अपराध नियन्त्रणमा प्राविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिए। सीमा नाकाबाट हुने अवैध ओसारपसार नियन्त्रणका लागि प्रहरी सक्रियता बढाइएको उनको भनाइ छ।
यसैबीच, चाडपर्वलाई लक्षित गरेर भारतसँग सीमा जोडिएका स्थानमा तालिमप्राप्त कुकुरसहितको चेकजाँच सुरु गरिएको छ। कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाको निर्देशनपछि मोरङ, सुनसरी र झापाका सिमावर्ती क्षेत्रमा चेकजाँच एवं सुरक्षा कडाइका लागि कुकुरको प्रयोग गर्न थालिएको हो।
सीमा क्षेत्रबाट हुनसक्ने लागूऔषध र विष्फोटक पदार्थको ओसारपसार तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि तालिमप्राप्त कुकुरको प्रयोग गर्न थालिएको बास्तोलाले बताए। उनका अनुसार सीमा नाकाबाट आवतजावत गर्ने शंकित व्यक्ति तथा सवारीसाधनमाथि कडाइसाथ चेकजाँच सुरु गरिएको छ।