मोरङको पथरीशनिश्चरेमा महिलाको हत्या आशंका
विराटनगर : मोरङको पथरीशनिश्चरेमा महिलाको हत्या भएको आशंका गरिएको छ। पथरीशनिश्चरे नगरपालिका-१ हुमानचोकमा परिवारसहित डेरामा बस्दै आएकी अन्दाजी २५ वर्षीया चाँदनी चौधरीको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार कोठा भाडामा लिएर चाँदनीसहित उनका पति अन्दाजी ३५ वर्षीय मुकेश चौधरी र २ नाबालक छोराहरू बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
स्थानीय प्रेमबहादुर श्रेष्ठको घरमा २ महिनादेखि परिवारसहित डेरा बस्दै आएकी चाँदनीको मृत्यु शंकास्पद देखिएको हो। पानीपुरी र चटपटेको व्यापार गर्दै आएकी उनी घरको ओछ्यानमा सुतिरहेको अवस्थामा सोमबार दिउँसो २:५० बजेतिर मृत फेला परेकी थिइन्।
घाँटी कसेको र टाउकोमा कुनै वस्तुले प्रहार गरेको चोट रहेको अवस्थामा शव फेला परेको डीएसपी दाहालले बताए। उनका अनुसार चाँदनीका पति र नाबालक छोराहरू घरमा भेटिएनन्।
इलाका प्रहरी कार्यालय पथरीबाट इन्सपेक्टर सुशील पाण्डे नेतृत्वको टोली घटनास्थल पुगेको छ। शव पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ।