मुस्ताङमा हिउँ पर्यो, जाडो बढ्यो

जोमसोम : मुस्ताङका उच्चलेंकमा सोमबार राति हिमपात भएको छ। उपल्लो मुस्ताङ हिमपात हुँदा यो वर्ष जाडो ह्वात्तै बढेको छ। समुन्द्री सतहको ३ हजार मिटरदेखि माथिको क्षेत्रमा असोजमै हिमपात भएको हो। जिल्लाको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिका क्षेत्रमा सोमबार राति आशिंक हिमपात भएको लोमान्थाङ गाउँपालिकाका कर्मचारी उदय तिमिल्सिनाले जानकारी दिए।
लोघेकर दामोदरकुण्डको घिलिङदेखि माथिल्लो उत्तरी क्षेत्र कोरलासम्म हिउँ परेको उनले बताए। उपल्लो मुस्ताङमा असोजमै पहिलो पटक हिउँ परेको गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए।
हिमपात भएसँगै बस्तीमा हिउँ जम्न नसके पनि खेतबारी र डाँडाकाँडा हिउँले सेताम्मे भएको अध्यक्ष गुरुङको भनाइ छ। उपल्लो मुस्ताङमा हिउँ परेसँगै चिसो ह्वात्तै बढेको बताइएको छ।
उपल्लो मुस्ताङका अधिकांश नागरिक हिउँदमा जाडो छल्न बेसी झर्ने परम्परा छ। उनीहरू मंसिर लागेपछि जाडो छल्न र घुम्ती व्यापार गर्न बेसी झर्ने सदियौँदेखि प्रचलन छ। तर , यसवर्ष उपल्लो मुस्ताङीहरू जाडो छल्न बेसी झर्न नपाउँदै हिउँ परेको हो।
उपल्लो मुस्ताङमा असोजमै हिउँ परेको यो पहिलो घटना भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उल्लेख गरे। यसअघि कार्तिकको दोस्रो हप्तादेखि वैशाखसम्म हिउँ परेकोमा योवर्ष असोजमै हिउँ पर्दा आश्चार्य लाग्दो तुल्याएको अध्यक्ष बिष्टले सुनाए।
यसैगरी मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-१ मुक्तिनाथ क्षेत्रमा पनि हिमपात भएको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए। हिउँ परेसँगै मुक्तिनाथ क्षेत्रको पाखो हिउँले सेताम्मे भएको उनले बताए। ‘राति अबेरसम्म बाक्लै खालको हिउँ परेको थियो,जमिन अझै तातै छ,उनले भने,‘यसलै परेको हिउँ जम्न पाएन, मुक्तिक्षेत्रको पाखोमा परेको हिउँ अझै देख्न सकिन्छ।'
विगत २० वर्षदेखि मुक्तिनाथमा काम गर्दै आएका सुवेदीले असोजमै हिउँ परेको आफूले पहिलो पटक देखेको बताए। यसैगरी उपल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा सोमबार राति हिमपात हुँदा तल्लो मुस्ताङमा वर्षा भएको थासाङ-२ सौरुका स्थानीय सोजन हिराचनले जानकारी दिए।
जोमसोमदेखि तलको क्षेत्रमा आशिंक वर्षा भएको उनले बताए। मुस्ताङमा वर्षासँगै हिउँ परेकाले यहाँको रैथानीयबालीले फाइदा पुग्ने कृषकहरूले बताएका छन्। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको वातावरणीय क्षेत्र असमान प्रकारको देखिन थालेको छ।
जलवायुले परिवर्तनको असरले यहाँका कृषि,पर्यटन र जैविक विविधता समेत नकारात्म प्रभाव देखिन थालेको छ। कुनै वर्ष भारी हिमपात हुने,कुनै वर्ष कम हिमपात हुने र कुनै वर्ष हिउँ नपर्ने जस्ता प्राकृतिक घटना सिर्जना हुँदा हिमाली क्षेत्रको जीवनशैलीमा समेत असर पर्न थालेको जानकारहरू बताउँछन्।
गत वर्ष हिमपात नहुँदा स्याउ खेतीमा ठूलो असर पारेको कृषि ज्ञानकेन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले बताए। गतवर्ष स्याउको बगैँचा व्यवस्थापन र काँटछाँट गर्ने बेलामा हिउँ पर्ने बेलामा हिउँ नपरेको र वैशाख र जेठ महिनामा स्याउको पोलिनेसन हुने बेला भारी वर्षाले स्याउ खेतीमा ठूलो असर पारेको केन्द्र प्रमुख बस्ताकोटीले उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस !
