नेपालका लागि नेपाली
नेपाली नेपालमा मात्रै छैनन्, संसारभर छरिएका छन्। गैरआवासीय नेपाली संगठित पनि छन्। संगठित हुनुको मक्सदै नेपालसँग र नेपालीसँग जोडिनु थियो। अझ नेपाल र नेपालीको उन्नतिका लागि योगदान गर्नु थियो। हो, जसै गैरआवासीय नेपाली संगठित भए उनीहरूले संगठित रूपमै आफ्ना हकहितका लागि आवाज पनि उठाए र आफूहरूले नेपालमा गर्न सक्ने योगदानका लागि सरकारसँग नीतिगत सहयोग पनि चाहे। गैरआवासीय नेपाली (एनआरएन) लाई नागरिकता वितरण त सरकारले मंगलबारदेखि नै सुरु गरिसक्यो।
२० वर्षको एनआरएन अभियानको सम्भवतः सबैभन्दा ठूलो उपलब्धि हो, यो। पक्कै पनि नागरिक प्राप्तिले गैरआवासीय नेपालीलाई नेपालमा लगानीका लागि कानुनी तगाराहरू हटाउँछ र सजिला बाटाहरू खोल्छ। राजनीतिक नभए पनि सांस्कृति र आर्थिक अधिकारसहितको नागरिकताले विश्वभरका नेपालीलाई नेपाल र नेपालीसँग मजबुद तरिकाले जोड्छ, केवल भावनाले मात्रै नभई अब कानुनी हिसाबमा पनि सम्बन्धको गाँठो बलियो पार्छ।
मानिसको स्वाभाव नै एकै ठाउँमा बस्ने होइन। एकै ठाउँमा बस्दा पोखरीको पानी जस्तो जम्छ र लेऊ लाग्छ। जसरी पानी बग्दा सङ्लिन्छ, मानिस पनि अर्काे ठाउँ पुग्दा उभित्रको प्रतिभा निखारिन्छ र प्रगति गर्छ। गैरआवासीय नेपाली पनि त्यसीको दसी हुन्। दुःखले होस् वा सुखले अथवा रहरले होस् या बाध्यताले जो नेपाल बाहिर पुगे, तिनले आज आआफ्ना ठाउँमा प्रगति गरेका प्रशस्त उदाहरण छन्। कर्मको देश जुन भए पनि मूलजरो जोडिएको देश नेपाल भएको हुँदा उनीहरू नेपालसँग टुट्न चाहन्नन् र सक्दैनन्। त्यसलाई राज्यले नै नागरिकता उपलब्ध गराई सम्बोधन पनि गरेको छ।
दोहोरो नागरिकता नेपालको नौलो अभ्यास आफैमा पनि होइन। झन् यसले नेपाललाई फाइदा पुग्ने विश्वास राख्न सकिन्छ। विकसित देशमा गरेको कमाइ एनआरएन नेपालमा ल्याउन चाहन्छन् त त्यसको स्वागतै गर्नुपर्छ। ल्याइरहेका छन् पनि। त्यो अर्ब होइन खर्बमा पुगिसेकेको छ पनि भनिन्छ। धन होस् या सीप या ज्ञान जुनसुकै आर्जन भए पनि विश्वभरका नेपालीको पुँजी नेपाल भित्रनु नै देशका लागि उपलबिध हो। त्यो नेपाल र नेपालीका लागि हितकर हो।
बरु नेपालमा व्यवसाय र उद्यमधन्दाका लागि जति पनि प्रक्रियागत झन्झट छन्, तिनलाई सहज बनाउन भने सरकारले अझै धेरै गर्नुपर्नेछ, जसबाट एनआरएन र विदेशी लगानीलाई हौसला पुग्नेछ।