बुक बिल्डिङको प्रभावकारिता

बुक बिल्डिङको प्रभावकारिता

काठमाडौं : सेयर बजारमा लगानीकर्तालाई बुक बिल्डिङमार्फत निष्कासित प्राथमिक सार्वजनिक सेयर (आईपीओ) किन्न नयाँ अवसर जुरेको छ। अब सेयर बजारमा यसको प्रभावकारिता कस्तो होला भन्ने पनि प्रश्न उठेको छ।

नेपाल धितोपत्र बोर्ड (सेवोन) ले पहिलोपटक असोज २९ गते सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङमार्फत प्रतिकित्ता ४ सय १ रुपैयाँमा आईपीओ निष्कासनको अनुमति दिएसँगै अन्य कम्पनीका लागि पनि बाटो खुलेको छ। यो सुरुवातलाई बोर्डले ऐतिहासिक सफलता ठानेको छ। बुक बिल्डिङमार्फत सेयर निष्कासन गर्न यसले अब सबै कम्पनीलाई बाटो खुलेको नेपाल धितोपत्र बोर्ड (सेबोन) का कार्यकारी निर्देशक तथा प्रवक्ता मुक्तिनाथ श्रेष्ठ बताउँछन्। उनकाअनुसार अब कुनै राम्रो नाफा कमाएका कम्पनी आए भने आम लगानीकर्तालाई यसले धेरै फाइदा पु¥याउँछ। उनी भन्छन्, ‘बजारमा राम्रा कम्पनीको उपस्थिति हुनु भनेको लगानीकर्ताका लागि सकारात्मक पक्ष हो।’

यो व्यवस्थाले लगानीकर्तालाई त्यसबाट निर्धारित मूल्यको आईपीओमा आवेदन दिन जोखिम नहुने सेयर लगानीकर्ता नवराज दाहालले बताए। सेयर लगानीकर्ता दाहालकाअनुसार हामीले  बुक बिल्डिङ पहिल्यैदेखि माग गरिरहेका थियौं। आईपीओ बुक बिल्डिङ विधिबाट आयो भने संस्थागत लगानीकर्ताले अध्ययन गरेर बोलकबोलमार्फत मूल्य निर्धारणमा उनीहरूले भूमिका खेल्ने उनले बताए। ‘अहिले प्रिमियम थपेर अनावश्यक तरीकाले ल्याउने सेयरमा विवादित थियो। यस अवस्थामा बुक विल्डिङमार्फत सेयर मूल्य तोकेर आउनु लगानीकर्ताका लागि राम्रो हो। यो स्वागतयोग्य कदम हो। यो लामो समयदेखि अड्किरहेको थियो,’ उनी भन्छन्, ‘बुक बिल्डिङले विगतमा सेबोनको अध्यक्षको जागिरै खाएकाले आउने हो कि होइन भनेर लगानीकर्ताहरू दोधारमा परिरहेको अवस्थामा टुंगो लागेर सुरुवात हुनु औचत्यिपूर्ण छ।’ अब बुक बिल्डिङबाट आएको आईपीओमा आवेदन दिन लगानीकर्ता त्यत्ति डराउनु नपर्नेमा उनी विश्वस्त छन्। ‘किनभने यसरी आएको कम्पनी कमजोर भनेर शंका गर्नुपर्दैन। यसमा पहिला नै संस्थागत लगानीकर्ता सहभागी भएर उनीहरूले टुंगो लगाएको मूल्यमा पनि डिस्काउन्टमा सर्वसाधारणमा आउने हुँदा यो स्वागत योग्य ठानेको छु,’ उनले थपे।

बुक बिल्डिङमार्फत सेयर निष्कासन गर्न अब सबै कम्पनीलाई बाटो खुलेको छ। अब कुनै राम्रो नाफा कमाएका कम्पनी आए भने आम लगानीकर्तालाई यसले धेरै फाइदा पुर्या‍उँछ। बजारमा राम्रा कम्पनीको उपस्थिति हुनु भनेको लगानीकर्ताका लागि सकारात्मक पक्ष हो। मुक्तिनाथ श्रेष्ठ, कार्यकारी निर्देशक एवं प्रवक्ता, नेपाल धितोपत्र बोर्ड

बुक बिल्डिङमार्फत आएका कम्पनी राम्रा हुने लगानीकर्ताको विश्वास छ। किनभने यसमा आएका कम्पनी वित्तीय अवस्था फिल्टर गरेर संस्थागत लगानीकर्तालाई सहभागीमा मूल्य निर्धारणपछि मात्रै मूल्यको निष्कर्ष निकालिन्छ। यसरी छानिएर कम्पनीहरू आउने भएकाले भोलिका दिनमा कमजोर भएर जान्छन् भन्ने शंका नरहने सेयर लगानीकर्ता दाहाल बताउँछन्। ‘अहिले कमजोर संस्थालाई कुरो मिलाएर स्वीकृति दिए कि भन्ने शंका यो बुक बिल्डिङबाट हट्छ,’ उनले बताए।

नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यकारी निर्देशक तथा प्रवक्ता मुक्तिनाथ श्रेष्ठ बुक बिल्डिङ सफल भएमा प्रिमियममा जानु नपर्ने बताउँछन्। यसो हुँदा कम्पनी बजारमा आउनुअघि आफ्नो भ्यालु थाहा हुने उनको भनाइ छ। उनी भन्छन्, ‘किनभने यसले बजारको मूल्य निर्धारण गरिदिन्छ। अब लगानीकर्तालाई यसले सजिलो हुन्छ। पहिला कम्पनीको अंकित मूल्यमा प्रिमियम राख्दा कसले, किन यत्ति ग¥यो भन्ने प्रश्न उठ्थ्यो। तर, अब यो बुक बिल्डिङमार्फत योग्य लगानीकर्ताले तोकेको मूल्य हो भन्नेमा विश्वास हुन्छ।’ प्रवक्ता श्रेष्ठकाअनुसार सर्वोत्तम सिमेन्टको ६० लाख कित्ता सेयरमा ४० प्रतिशत संस्थागत लगानीकर्ताले किनिसकेपछि त्यत्रो हिस्सा उनीहरूले किन्नु भनेको राम्रो हो भन्ने विश्वास आम लगानीकर्तालाई हुनेमा उनी विश्वस्त छन्।  

बुक बिल्डिङ निर्देशिका, २०७७ ले नेपाल स्टक एक्सचेञ्जको भूमिका पनि तोकिएको छ। बुक बिल्डिङ प्रक्रियामा २ चरणको मूल्य कायम हुन्छ। त्यसमा पहिलो चरणको मूल्य निकाल्ने काम नेप्सेको प्लेटफर्मबाट गर्नुपर्छ भन्ने व्यवस्था छ। अहिले नेप्सेमा विद्युतीय प्लेटफर्म नभएकाले सर्वोत्तम सिमेन्ट र रिलायन्स चिनी मिलको बुक बिल्डिङबाट कट अफ प्राइस निकालेर पठाइसकिएको छ। मुराहरी पराजुली, सूचना अधिकारी, नेपाल स्टक एक्सचेञ्ज

अहिले निस्कासित आईपीओ प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा सेयर खरिद गरिरहेका लगानीकर्तालाई बुक बिल्डिङमा आएको मूल्य देख्दा बढी जस्तो लाग्न सक्छ तर लगानीकर्तालाई महँगो पर्छ वा सस्तो पर्छ भन्नुभन्दा पनि राम्रो कम्पनी बुक बिल्डिङमार्फत आयो भन्ने कुराले अर्थ राख्ने श्रेष्ठको तर्क छ।  

बुक बिल्डिङमा नेप्सेको भूमिका

बुक बिल्डिङ निर्देशिका, २०७७ ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को भूमीका पनि तोकेको छ। बुक बिल्डिङ प्रक्रियामा २ चरणको मूल्य कायम हुन्छ। त्यसमा पहिलो चरणको मूल्य निकाल्ने काम नेप्सेको प्लेटफर्मबाट गर्नुपर्छ भन्ने व्यवस्था छ। त्यस्तो प्लेटफर्म विद्युतीय हुनुपर्छ भन्ने नीतिगत ब्यवस्था छ। यद्यपी विद्युतीय नभए पनि भौतिक रूपमा गर्न सकिनेसमेत उल्लेख छ। तर, अहिले नेप्सेमा विद्युतीय प्लेटफर्म नभएकाले अहिले सर्वोत्तम सिमेन्ट र रिलायन्स चिनी मिलको बुक बिल्डिङबाट कट अफ प्राइस निकालेर पठाइसकेको नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले बताए। उनकाअनुसार धितोपत्रको आईपीओ जारी गर्ने विधि बुक बिल्डिङ विधि हो। यसबाहेक निश्चित मूल्य विधिबाट आईपीओ जारी गरिन्छ। तर, बुक विल्डिङ विधिमार्फत आईपीओ जारी गर्दा बजारले निर्धारण गरेको मूल्यमा हुने गर्दछ। बुक बिल्डिङ आईपीओ जारी गर्ने एक प्रक्रिया हो जसमा निष्कासनकर्ता कम्पनीले प्रस्ताव गरिने मूल्य निर्धारण प्रक्रिया हो। कुनै सामान्य व्यवसाय गरिरहेको कम्पनी आईपीओ जारी गर्न चाहन्छ भने उसले प्रतिकित्ता १०० रुपैयाँ वा सेयर संख्यालाई टुक्ताएर १० रुपैयाँको गुणक हुने मूल्यमा जारी गर्न सक्छन्।

प्रिमियम थपेर अनावश्यक तरिकाले ल्याउने सेयरमा विवादित थियो। यस अवस्थामा बुक बिल्डिङमार्फत सेयर मूल्य तोकेर आउनु लगानीकर्ताका लागि राम्रो हो। यो स्वागतयोग्य कदम हो। यसरी आएका कम्पनी राम्रा नै हुन्छन्। नवराज दाहाल, सेयर लगानीकर्ता

अंकित मूल्यमा प्रिमियम थप्न पल्केका कम्पनीहरू भने आकर्षण नहुने हुन कि भन्ने चुनौती पनि देखिन्छ। यसो हँुदा बुक बिल्डिङ देखाउने दाँत मात्रै हुने होकी भन्ने पनि केहि सेयर जानकारको आशंका छ।

प्रभावकारीतामाथि प्रश्न

कम्पनीहरू स्टक मार्केटमा आएनन् भनेर बुक विल्डिङ प्रक्रियाबाट धेरैभन्दा धेरै मूल्यमा सेयर बिक्री गर्न सकून् भन्ने अवधारणाबाट आएको पनि बताइन्छ। धितोपत्र बोर्डले पहिला एउटा नीति ल्याउने र पछि अर्को नीति ल्याएकाले अघिल्लो नीति ध्वस्त पारिदिने होकी भन्ने पनि केही सेयर विज्ञहरूको आशंका छ। सुरुमा कम्पनीलाई प्रिमियममा सेयर जारी गर्न दिएपछि बुक बिल्डिङ खर्चिलो हुने भन्दै फर्किने खतरासमेत रहेको औंल्याइन्छ। बुक बिल्डिङ वैज्ञानिक आधारमा मूल्य निर्धारण हुन्छ। अंकित मूल्यमा प्रिमियम थप्न पल्केका कम्पनीहरू भने आकर्षण नहुने हुन कि भन्ने चुनौती पनि देखिन्छ। यसो हुँदा बुक बिल्डिङ देखाउने दाँत मात्रै हुने होकी भन्ने पनि केही सेयर जानकारको आसंका छ।

धितोपत्र बोर्डले बुक बिल्डिङका लागि स्वीकृति दिएपछि कम्पनीहरू सुरुमा सूचीकृत गरिएका करीब ८०–९० हाराहारीमा योग्य लगानीकर्ता (इलिजेवल इन्भेस्टर)बीच प्रतिस्पर्धा हुन्छ। यसबाट एउटा मूल्य निर्धारण हुन्छ। यसरी तोकिएर आएको मूल्यलाई प्रक्रियामा चलाउने काम नेप्सेले गर्छ। यसपछि दोस्रो चरणमा फेरि सोही मूल्य सर्वसाधारणमा ल्याएर बिक्री खुला गर्छ। तर, लगानीकर्ताले  उक्त मूल्यमै आईपिओ खरिद गर्नुपर्दैन। किनभने उक्त मूल्यको १० प्रतिशत तलमाथि घटबढ् गरेर आम सर्वसाधारणले आवेदन दिन पाउँछन्। यसमा दुई चरणको बोल (अक्सन)बाट सेयर खरिद गर्न पाइने अवसर छ। 

खुला बजारको मान्यताविपरीत नियन्त्रित र आरक्षित अंकित मूल्यमा सर्वसाधारणमा सेयर जारी गरिरहेको नेपाली धितोपत्र बजारले धितोपत्र (सेयर) को उचित मूल्य पहिल्याउन ‘बुक बिल्डिङ’ विधि कार्यान्वयनमा ल्याएको छ। विद्यमान अंकित मूल्यमा सेयर निष्कासनले स्थापित र मुनाफासहित सकारात्मक नेटवर्थका कम्पनीको सेयर अप्रत्यक्ष छुटमा लगानीसँगै तत्कालीन केही मूल्यगत लाभको अवसर त होला, तर राम्रा कम्पनी बजारबाट हतोत्साहित हुने, लगानीको अवसर गुम्ने सम्भावना पनि रहन्छ। अर्कातिर व्यवसाय सञ्चालन र तत्काल मुनाफा नहुने ऋणात्मक नेटवर्थका कम्पनीलाई अंकित मूल्यमार्फत अप्रत्यक्ष प्रिमियम वा बढी मूल्य तिर्नुपर्नेछ। मूल्यगत द्वन्द्व निरूपण गर्दै उचित मूल्य निर्धारणका लागि ‘बुक बिल्डिङ’ कम्पनी र लगानीकर्तालाई स्वीकार्य विकल्प हुनसक्छ।

यस्ता छन् अवसर

बैंक, बिमा र जलविद्युत्को दबदबा रहेको विद्यमान नेपाली धितोपत्र बजारलाई वास्तविक उद्योग–व्यवसाय (रियल सेक्टर) को उचित सहभागितासहितको अर्थतन्त्रको ऐना बनाउने अवसर ‘बुक बिल्डिङ’ले जुराउन सक्ने सरोकारवाला औंल्याउँछन्। धितोपत्र बजारमा रियल सेक्टरको सहभागिता बढाउन सरकारले १ अर्बभन्दा बढी पुँजी भएकालाई सर्वसाधारणमा धितोपत्र निष्कासनमा प्रोत्साहनसँगै सूचीकृत उत्पादनमूलक, पर्यटन सेवा, जलविद्युत् उत्पादन, वितरण तथा ट्रान्समिसन गर्ने निकायलाई लाग्ने करमा १५ प्रतिशतले छुटको व्यवस्था गरेको छ। 

सहुलियतका बाबजुद धितोपत्र बजार प्रवेशमा अनिच्छुक उद्योग–व्यवसायलाई ‘बुक बिल्डिङ’ले व्यवसाय, मुनाफा र साख प्रतिविम्बित हुने गरी ‘उचित मूल्य’ मा सेयर निस्कासनको अवसरसँगै सूचीकरणमा प्रोत्साहित गर्ने र सर्वसाधारणलाई लगानीको अवसर जुराउने अपेक्षा गर्न सकिन्छ। यससँगै, पुँजी संकलनको राम्रो विकल्प भए पनि धितोपत्र बजारबाट टाढिँदै आएका उद्योग–व्यवसायलाई निश्चित लागत नपर्ने गरी पुँजी संकलन, सर्वसाधारणको सहभागितामार्फत वस्तु तथा सेवामा अपनत्व र बजारीकरण, सुशासनलाई अँगाल्दै कम्पनीको बजार मूल्य र पुँजीकरणसँगै साख र प्रतिष्ठा बढाउने अवसर हुनेछ।

‘बुक बिल्डिङ’का चुनौती 

मूल्य निर्धारण, सूचीकरण र सुशासन, सन्दर्भ मूल्य र लागत प्रमाणीकरण, नियमाकीय क्षमतालगायतमा चुनौती देखिएको छ। मूल्य निर्धारणमा ‘बुक बिल्डिङ’को मूख्य चुनौती सर्वस्वीकार्य र विश्वासिलो ‘उचित मूल्य’ निर्धारण हुनेछ। यसमा उचित मूल्य पहिल्याउन विभिन्न चरण पार गरिँदै गर्दा संलग्न पक्षको जिम्मेवारी र पारदर्शिता निकै महत्वपूर्ण हुनेछ। आरक्षित र अंकित मूल्यमा सेयर खरिद गरिरहेका आमलगानीकर्ताले बढी मूल्य तिर्नुपर्दाको असन्तुष्टिसँगै निर्धारित मूल्यमा प्रश्न उठाउन सक्नेछन्। नियामकले कम्पनीको योग्यता परीक्षणदेखि मूल्य निर्धारणमा सहजीकरण सँगसँगै कम्पनीको विगतको वित्तीय अवस्था र त्यसमा छेडछाड नभएको, ‘अनुमानित मूल्य’ यथोचित भएको, ‘आशय मूल्य’ र ‘कट अफ मूल्य’ तय गर्दा निस्कासन प्रबन्धक र योग्य संस्थागत लगानीकर्ताबाट अनैतिक र गैरजिम्मेवारीपूर्ण कार्य वा मिलेमतो नभएको सुनिश्चित गर्नैपर्छ। तिरिएको प्रिमियम सेयरधनीकै हुने र लाभांशका रूपमा फिर्ता आएमा प्रभावकारी लागत/मूल्य (इफेक्टिभ कष्ट) घट्ने प्रस्ट्याउन सके मूल्यगत विरोध केही कम हुने सेयर विज्ञहर बताउँछन्।

प्रत्यक्ष नियामक नभएका कम्पनीको बोर्डबाट दरिलो नियमनमा सकृय (प्रोएक्टिभ) भूमिका ननिभाउने हो भने आमलगानीकर्ताले विगतको भन्दा कैयौं गुना बढी आर्थिक क्षति बेहोर्ने डर रहेको समेत सेर लगानीकर्ता बताउँछन्। उचित मूल्यमा निस्कासनसँगै सूचीकरणपछि पनि कम्पनीको वित्तीय अवस्था र विवरण प्रकाशन, लाभांश, बजारमा सेयरको आपूर्ति र मूल्य, सूचनामा समान पहुँचजस्ता पक्षमा बोर्डको भूमिका खोजिनेछ। विगतमा अंकित मूल्यमा हजार रुपैयाँ क्षति बेहोरेका लगानीकर्ताले कैयौं गुना बढी नोक्सानी बेहोर्ने मात्र होइन, हकप्रद, बोनसको लालसा देखाएर, माग–आपूर्तिमा छेडछाड (कर्नरिङ) गर्दै सेयरको बजार मूल्यमा खेल्दै अन्ततः कम्पनी वा कारोबार बन्दको खतरा र भयावह अवस्था आउनेछ। हालै श्रीराम सुगर मिल्सको हकप्रदको घटना होस् वा भृकुटी पल्प एन्ड पेपर, गोरखकाली रवर, हरिसिद्धि ब्रिक एन्ड टायल, रघुपति जुट मिल्स, बुटवल स्पिनिङ मिल्स, ज्योति स्पिनिङ, अरुण वनस्पति, नेपाल बिटुमिन एन्ड ब्यारेल, फ्ल्युर हिमालयन, बिराट सु, नेपाल वनस्पति घिउ, नेपाल खाद्यजस्ता नामुद उत्पादनमूलक उद्योगहरूको कथा नदोहोरिएला भन्न सकिन्न।

नियामकीय क्षमतामा बारम्बार सवाल उठिरहेको विद्यमान अवस्थामा ‘बुक बिल्डिङ’ उचित मूल्य निर्धारणको बहानामा टाठाबाठा उद्योग–व्यवसायलाई सेयर प्रिमियम संकलन र अनुचित मूल्यगत नाफाको माध्यम नबन्ने सुनिश्चित गर्न बोर्डलाई सहज छैन। अझ विगतमा सयौं लगानीकर्ताको करोडौं लगानी डुबाएर बदनाम अनि निश्चित व्यक्तिले मनमौजी चलाएका उद्योग–व्यवसायलाई नियमन र सुशासनमा डो¥याउन नसके बुक बिल्डिङ ‘नखाऊँ भने दिनभरिको सिकार, खाउँ कान्छा बाउको अनुहार’ हुन सक्छ। सरोकारवालले जिम्मेवारीपूर्ण भूमिका निर्वाह, अवसरको सदुपयोग र चुनौतीको सामना गर्न सके ‘बुक बिल्डिङ’ कम्पनी र लगानीकर्ताको हितसँगै बजार विकासमा कोसेढुंगा पनि हुन सक्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.