सर्वसाधारणलाई नयाँ नोट साट्न सास्ती
तानसेन : पाल्पामा सर्वसाधारणले नयाँ नोट साट्न नपाएको गुनासो गरेका छन्। पाल्पामा कात्तिक १ गतेबाट नयाँ नोट वितरण गर्दा सर्वसाधारणले नोट साट्न नपाएका हुन्।
एउटा बैंकबाट मात्र नयाँ नोट सीमित मात्रामा वितरण गरेपछि उनीहरू आक्रोसित भएका हुन्। 'नयाँ नोटका लागि कात्तिक १ गते चार घण्टा लाइन बसियो। आज सकियो भोलि आउनुस् भन्नुभयो, दोस्रो दिन पनि नयाँ नोटका लागि बिहान ८ बजेदेखि लाइनमा बसेको तर पर्याप्त मात्रामा नयाँ नोट नपाएको रित्तो हात फर्किनु पर्यो,' तानसेन-४ का बोधराज ढुंगानाले भने।
गाउँ गाउँबाट मानिसहरू नयाँ नोटका लागि सदरमुकाम धाउँदा समेत नपाएको बगनासकाली-९ की शोभादेवी बस्यालले बताइन्। सबैलाई नयाँ नोट भए खुसी हुने केटाकेटीदेखि लिएर बुढा बुढीसम्मको रोजाइ नै नयाँ नोट हुने गरेको रैनादेवी छहरा गाउँपालिका-६ का सुमन थापाले बताए।
नयाँ नोटका लागि लाइन लागे पनि बैंकबाट सकियो भनेपछि रित्तो हात फर्किएको थापाले बताए।