सुनसान बन्दै मुस्ताङ
जोमसोम: दसैं सुरु भएसँगै हिमाली जिल्ला मुस्ताङ सुनसान बन्न थालेको छ।
जिल्लाका विभिन्न विकास आयोजनामा कार्यरत मजदुर तथा जिल्लास्थित सरकारी कार्यालयका अधिकांश कर्मचारी दसैं पर्व मनाउन घर फर्किन थालेपछि मुस्ताङ सुनसान बनेको हो ।
दसैं मनाउन एक साता अघिदेखिनै मजदुर र कर्मचारी घर फर्किन चटारो चलेको म्याग्दी कोरला यातायात प्रालि जोमसोमका प्रतिनिधि पेमा छेतेन विकले जानकारी दिए।
उनले घटस्थापनादेखि दैनिक ५ सय जनाभन्दा बढी मजदुर र कर्मचारी मुस्ताङबाट घर फर्किएको बताए। मुस्ताङबाट पोखरा र काठमाडौं रुटमा चल्ने यात्रुवाहक सवारीको टिकट बुकिङ कमउन्टरमा मजदुर र कर्मचारीको बाक्लै भीडभाड देखिन्थ्यो।
दसैंमा मजदुर र कर्मचारीले स्थानीय कृषि उत्पादन स्याउ, ब्रान्डी, उवाको रक्सी र फापरको पिठो आदी कोशेलीका रूपमा घर लैजान थालेपछि स्थानीय फुटकर व्यवसायी उत्साहित भएका छन्।