निरोगी बनाउने रजहर

निरोगी बनाउने रजहर

नवलपुर : १५ वर्षअघि रजहरमा प्राकृतिक चिकित्सालय सुरु हुँदा धेरैको प्राकृतिक उपचार पद्धतिमा विश्वास नै थिएन। त्यसबेला बिरामी पाउनै मुस्किल थियो, अहिले बिरामीले पालो पाउनै मुस्किल छ। कहलिएका राजनीतिज्ञदेखि कलाकार, व्यवसायी, चिकित्सक सबैको रोजाइ बनेको छ, रजहरको सामुदायिक प्राकृतिक चिकित्सालय। पछिल्लो समय सेलिब्रेटीका रूपमा चिनिएकाहरू रजहर गएर बस्न थालेका छन्। 

तीमध्येका एक हुन् जनगायक जीवन शर्मा। शर्माले दुईपटक चिकित्सालयमा पुगेर शरीरको सर्भिसिङ गराए। पहिलोपटक २५ दिन बसे, दोस्रो बसाइमा १५ दिन। शरीर हलुंगो र फुर्तिलो बनाएर फर्किए। ‘जिब्रोले रुचाएको खाँदा शरीर बिग्रिने रैछ। रजहरमा गएपछि शरीर चिनेर आएँ। खानपानको सभ्यता र संस्कार सिकाइने रैछ। बस्ने वातावरण र उपचार पद्धति यस्तो छ कि बिरामी भएर होइन नहुँदै जाने ठाउँ हो यो,’ उनले भने, ‘थोत्रो मोटरसाइकल सर्भिसिङ गरेर नयाँ बनाए जस्तै शरीरको पनि सर्भिसिङ गरिँदो रहेछ।’ 

नेकपा मसालका महासचिव मोहनविक्रम सिंह पनि करिब १२ वर्षअघि दुई साता प्राकृतिक चिकित्सालय बसेर उपचार लिए। उपचार पद्धतिबाट प्रभावित बनेका सिंहले आफ्ना स्वास्थ्यका समस्या समाधान गरेर फर्किए। ‘बस्ने खाने जुन नियम छ त्यसले नै शरीर स्वस्थ राख्यो,’ उनले भने, ‘प्राकृतिक चिकित्सालाई सरकारले नै यसलाई प्राथमिकता दिने हो भने धेरै नेपालीले रोगको सिकार हुनु पर्दैन।’

अन्य अस्पतालमा औषधिको सेवन बढी हुने कारण प्राकृतिक उपचार पद्धतिको खोजीमा लागे, नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री राम कार्की। राजनीतिमा सफल भएका कार्की आफ्नो शरीरको स्वास्थ्यप्रति चिन्तित थिए। खानपिन र आहारविहारमा सन्तुष्टि हुने ठाउँको खोजीमा थिए। मधुमेहका कारण असहज महसुस गरेका कार्कीले रजहरको प्राकृतिक चिकित्सालयबारे थाहा पाए। उपचारका लागि रजहर गएपछि उनको मधुमेह नियन्त्रणमा मात्रै आएन, शरीर पुनः सन्तुलित भयो। अस्पतालको उपचार पद्धति र सेवाले चिकित्सालयको १५ दिन बसाइ बितेको पत्तै भएन। 

उनी हरेक वर्ष एकपटक चिकित्सालयमा उपचार गएर फर्किन्छन्। भन्छन्, ‘यो ठाउँ त मोटरको सर्भिसिङ गरेजस्तै शरीरको सर्भिसिङ गर्ने ठाउँ रहेछ। आहार राम्रो, उपचारमा दबाइ प्रयोग नगर्ने अनि यहाँको सेवाभावले आधा रोग निको बनाउने रहेछ,’ कार्कीले भने, ‘हरेक वर्ष सके एक महिना नभए कम्तीमा १५ दिन बस्ने हो भने स्वास्थ्य जोगिने रैछ।’ 

अधिकांश अस्पताल धाउँदा पाएको सास्ती र औषधिले शिथिल बनाएको शरीर लिएर सामुदायिक प्राकृतिक चिकित्सालय आउँछन्। कहीँ कतै केही नलागेपछि मात्रै रोजाइ बन्छ रजहर। जहाँ औषधिको गोलीले होइन मान्छेको बोलीले आधा रोग निको बनाइन्छ। माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले १२ प्रकारका औषधि बोकेर प्राकृतिक चिकित्सालय आए, फर्किंदा ११ थरी छोडेर गए।

 null

एलोपेथिक औषधिले एउटा रोग निको भए पनि अरू समस्या आउन थालेपछि एमालेका नेता लुम्बिनी प्रदेशका पूर्वसहरी विकास, भौतिक पूर्वाधार एवं आन्तरिक मामिला मन्त्री चेतनारायण आचार्य प्राकृतिक उपचारमा लागे। बढी औषधि प्रयोगले फोक्सो, कलेजो तथा मिर्गौलामा समस्या देखिन थाल्यो। उनी रजहर गएर तीन महिना बसे। अहिले नयाँ जीवन पाएको अनुभव सुनाए। ‘एलोपेथिकमा लागेर पैसा र समय दुवै सिध्याएँ। प्राकृतिक उपचारमा लागेर मेरो अरू समस्या पनि हल भयो,’ आचार्यले भने, ‘यो मेरो पुनर्जन्म हो।’ 

प्राकृतिक चिकित्साप्रति विश्वास बढ्दो छ। नेकपा मसालका महासचिव मोहनविक्रम सिंह, एमाले नेतृ वृन्दा पाण्डे, नेकपाका नेता अनिल शर्मा विरही, पूर्वसिडियो सुमन घिमिरे, अभिनेतृ मनिसा कोइराला, कलाकार पशुपति शर्मा, मुटुका सर्जन कोशल तिवारी, नेपाल संस्कृत विश्वविद्यालयका रजिस्ट्रार माधव अधिकारी, गायक अम्बर विरही गुरुङले उपचार लिएर स्वास्थ्य लाभ लिए। 

गायक रमेशराज भट्टराईले रजहरमा उपचार लिइरहेका छन्। शरीरको तौल बढी भएर ६ वर्षदेखि ढाडको नसा च्यापिएको समस्या लिएर रजहर पुगेका उनी अहिले खुसी छन्। अहिले शरीरबाट काँडा झिकेको झैं अनुभव गरेका छन्। ‘ढाडको दुखाइ खुट्टासम्म पुग्न थालेपछि यहाँँ आएँ। दीर्घकालीन रूपमा रोग पालिरहनुभन्दा सधैंका लागि निर्मूल होस् भनेर आएको हो,’ उनले भने, ‘लगभग एक महिनाको अन्तरालमा करिब १० किलो तौल घटाएँ। खानपानमा सुधार गर्ने हो भने रोग नै नलाग्ने रैछ, जुन कुरा ममा लागू भइरहेको छ।’ 

मेडिकलको औषधि महँगोमात्रै होइन, स्वास्थ्य नै कमजोर बनाएको गुनासो गर्नेहरू रजहर पुगेपछि जुनी फेरेको महसुस गर्छन््। भए जानेका अस्पताल धाउँदा केही नभएपछि अन्तिममा बिरामी औषधिको ठेली बोकेर रजहर पुग्छन्। अस्पतालका निर्देशक विनोद पौडेल शरीर नबिग्रिँदै चिकित्सालय आउन सुझाव दिन्छन्। चिकित्सालय पुगेपछि सबैले भन्छन्, ‘पहिलै आउनुपर्ने रहेछ।’ 

जीवन जिउने तरिका नजान्दा महँगो शुल्कमा प्रयोग गरेको औषधि सम्झिँदै धेरैले पछुतो मान्छन्। विभिन्न रोग बोकेर पुगेका बिरामी फर्कने बेला खुसीको सीमा नै हुँदैन। मुख्य गरेर चिकित्सालय पुगेका उच्च पदस्थ व्यक्तिहरूको स्वास्थ्य खराब नै भएको हुन्छ। तनाव व्यवस्थापन, खानापान स्वस्थकर र समयमा नहुने, व्यायामको कमीका कारण स्वास्थ्य बिग्रिएपछि मात्रै आउने गरेको डा.पौडेल बताउँछन्। ‘मानिसक रूपमा स्वास्थ्य राम्रो भएको मैले भेटेको छैन। राजनीतिज्ञलार्ई त जुनसुकै बेला तनाव हुन्छ टिकट पाउँदा पनि तनाव, नपाउँदा पनि तनाव। हारे पनि तनाव जिते पनि तनाव। सबैको स्वास्थ्य खराब नै पाएँ।,’ उनले भने, ‘८० प्रतिशत रोग शरीर र मनको कारणले लाग्छ। यहाँ उपचार गरेर जाने हो भने रोग निको मात्रै होइन, कार्यक्षमता पनि वृद्धि हुन्छ।’

अहिले त सुरुवातमा नै उपचार गर्न आउने चलन चलेको छ। प्राकृतिक उपचार पद्धतिले जीवनशैली परिवर्तन गरेर शरीरभित्र रहेको फोहोर र विकार निकाल्ने हुँदा शरीर स्वस्थ हुने चिकित्सक पौडेल बताउँछन्। थेरापी, माटो चिकित्सा, पानी चिकित्सा, भोजन चिकित्साको माध्यमबाट उपचार हुन्छ। योबाहेक आवश्यक परेकालार्ई फिजियोथेरापी, अक्युपन्चरबाट समेत उपचार हुन्छ। ढाडको समस्या लिएर गएका नेपाल सरकारका पूर्वकानुनमन्त्री यज्ञबहादुर थापा शरीरको अन्य समस्या पनि हटाएर फर्किए। ‘बिरामी भएर उपचारका लागि राम्रो अस्पताल बनाउनेभन्दा बिराम नै नहुने उपायतिर सरकार लाग्नुपर्ने हो,’ उनले भने, ‘शरीरका लागि आहार ठूलो रैछ। यो रोग लाग्नै नदिने अस्पताल रैछ। यसलार्ई सरकारले सहयोग गर्नुपर्छ।’

रोगको उपचारमा रजहरको प्राकृतिक चिकित्सालय नमुनाको छ। आहारविहारमा ख्याल गर्दै योग र प्राकृतिक पद्धतिमा बिरामीलार्ई निको पारिन्छ। अन्य अस्पतालले उपचार गर्न नसकेका जटिल प्रकृतिका रोगी पनि निको भएर गएका छन्। त्यसरी जानेहरूले प्रचार गरेका कारण अहिले प्राकृतिक चिकित्सालयमा पालो पाउनै मुस्किल छ। अस्पतालका अध्यक्ष सन्तबहादुर क्षेत्रीले भने, ‘सबै ठाउँ चाहारेर मात्रै अन्तिममा यहाँँ आउनुहुन्छ। रोग लागेपछि होइन रोग नलाग्दै आउने ठाउँ हो यो।’

उपचारसँगै रोगभन्दा खराब जीवनशैली भन्ने थाहा पाएर जान्छन्। प्राकृतिक चिकित्सालयले के खाने ? कति खाने ? कसरी खाने ? जस्ता कुरा सिकाउँछ। तनावमुक्त जीवन कसरी जिउने ? छोटो समयमा शारीरिक र मानिसक रूपमा कसरी आराम गर्ने ? उमेर समयअनुसार व्यायाम वा योगको अभ्यास, स्वस्थ रहनका लागि अपनाउनुपर्ने अत्यावश्यक जीवनशैलीको कुरा प्राकृतिक चिकित्सालयमा सिकाइन्छ। चिकित्सालयभन्दा पनि जीवनशैली सिकाउने पाठशालाको रूपमा चिनिएको छ यो थलो। अस्पतालमा डुलेर निराश बनेर आउने बिरामीलाई सुरुमा नै निको हुने हौसला दिइन्छ। प्राकृतिक जडीबुटीको सहायतामा उपचार गर्ने गरेको अस्पतालका व्यवस्थापक हरि सापकोटाले बताए। 

‘सर्जरीबाहेक जटिल भनिएका रोगका बिरामीलार्ई पनि बचाउन सकिन्छ। प्राकृतिक चिकित्सा र योग यस्तो विधा हो जसमा प्रतिरक्षात्मक, उपचारात्मक र निदानात्मक तीनवटै आयाममा उपचार गर्ने सिद्धान्त उपयोग हुन्छ।’ सापकोटाले भने, ‘हामी सरकारसँग सहकार्य चाहन्छौं। बजेट र नीति निर्माणमा यो प्राथमिकतामा परोस्।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.