‘आफैं पाल्दै, आफैं खाँदै’
![‘आफैं पाल्दै, आफैं खाँदै’](https://annapurnapost.prixacdn.net/media/albums/kulhura-bitaran_IP98sYtVg5_2uZrCCbNwy.jpg)
भोजपुर : ग्रामीण भेगका गर्भवती तथा सुत्केरी महिलाहरूको स्वास्थ्य पोषणलार्ई ध्यानमा राख्दै पौवादुङमा गाउँपालिकाले ल्याएको ‘आफैंँ पाल्दै आफैंँ खाँदै’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ। गाउँपालिकाको यो कार्यक्रमले गाउँपालिकाका ६ वटै वडामा गर्भवती तथा सुत्केरी महिलाहरू एउटा भाले, दुईवटा पोथी कुखुरा वितरणबाट लाभान्वित बनेका छन् ।
गाउँपालिकाले सञ्चालन गरेको उक्त कार्यक्रमले प्रसूति भएका र गर्भवती ग्रामीण महिलाहरूका लागि सहज बनाएको स्थानीय रमिला तामाङ बताउँछिन्। गाउँपालिकाबाट पाएको कुखुरा पालेर घरमै पौष्टिक आहारको रूपमा अण्डा उत्पादन हुने भएकाले कार्यक्रम लाभदायक भएको उनले सुनाइन्। भनिन्, ‘प्रसूति जस्तो संवेदनशिल अवस्था र उचित पौष्टिक आहाराको अभावलार्ई यो कार्यक्रमले हामी ग्रामीण विपन्न महिलाहरूका लागि एकदमै सहज बनाईदिएको छ।’ यसबाहेक गाउँपालिका तथा वडा कार्यालयबाट महिलाका लागि अन्य विभिन्न सहयोग पनि पाइरहेको उनले बताइन्।
कार्यक्रम अन्तर्गत वितरण गरिएको कुखुरा पालेर अण्डा, मासुको रूपमा प्रयोग गर्न सक्ने गाउँपालिकाले जनाएको छ। ‘गर्भवती र सुत्केरीको स्वास्थ्यलार्ई लक्षित गरेर आफैंँ पाल्दै आफैं खाँदै कार्यक्रम ल्याएका छौं’ गाउँपालिका अध्यक्ष किरण राईले भने, ‘गर्भवती र सुत्केरी महिला दिदीबहीनीहरूलार्ई भाले र पोथी कुखुरा वितरण गरेपछि उहाँँहरूले आफैंँले पालेर खान सक्नु हुनेछ। महिलाको पोषणलार्ई ध्यानमा राख्दै यो कार्यक्रम ल्याएका हौँ।’
यसअघि पछि गाउँपालिकाले सुत्केरीका लागि ‘रातोभाले’ कार्यक्रमलार्ई निरन्तरता दिँदै आर्थिकवर्ष २०८०÷०८१ बाट थप यो कार्यक्रम ल्याइएको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए। उक्त कार्यक्रमको प्रभावबाट गाउँपालिकाभित्र घरमै हुने प्रसूति चलनलार्ई शून्यमा झारिएको उनले बताए। नियमित रूपमा गर्भ परीक्षण गराउने र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालार्ई गाउँपालिकाले आवश्यक प्रोत्साहन गर्दैै आएको छ।
कार्यक्रम अन्तर्गत गर्भवती र सुत्केरी महिलाहरूलार्ई वर्षमा दुईपटक वितरण गरिँदै आएको गाउँपालिकाकी उपाध्यक्ष ज्योत्सना राईले बताइन्। यसरी वितरण गरिएको कुखुराको पोथीबाट उत्पादित अण्डा र कुखुरा उपभोग गर्ने भएपछि अन्य विकल्प खोज्नुपर्ने बाध्यता कम भएको उनको भनाइ छ। ‘सबै वडामा पहिलो चरणको कुखुरा वितरणको काम अन्तिम अवस्थामा पुगेको छ’,
उनले भनिन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)