सिगारिँदै प्रदेश राजधानी वीरेन्द्रनगर

सिगारिँदै प्रदेश राजधानी वीरेन्द्रनगर

वीरेन्द्रनगर : कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर पछिल्लो समय सिगारिँदै छ । प्रदेशका अन्य जिल्लाको तुलनामा राजनीतिक, प्रशासनिक, आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यको हबका रूपमा रहेको वीरेन्द्रनगरमा मुख्य सडक चार लेनको छ । अन्य भित्री परम्परागत सडकलाई व्यवस्थित र नयाँ सडकको मापदण्ड तय गरेर सुरक्षित सहर बनाउन नगरपालिकाले विभिन्न योजनाहरू अघि बढाइरहेको छ ।

घण्टाघर पार्कलाई व्यवस्थित, फोरलेन सडक र टोलटोलमा उज्यालो बनाउन लाइट जडान गर्ने काम भइरहेका छन् । वीरेन्द्रनगर कर्णाली प्रदेशकै सुन्दर नमुना सहरका रूपमा विकास भइरहेको छ ।

वीरेन्द्रनगरलाई उपमहानगर घोषणाको पहल 

०३३ सालमा उपत्यका क्षेत्रभित्र पर्ने कटकुवा, गोठीकाडा र जर्बुटा गाउँ पञ्चायतभित्र पर्ने केही भागलाई मिलाएर बनेको वीरेन्द्रनगरले ४८ वर्षपछि उपमहानगरपालिकाका लागि आवश्यक पर्ने सबै मापदण्ड पूरा गर्न सक्षम भएको छ । वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले भनिन्, ‘नगरपालिकाको आन्तरिक स्रोत, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिजुली, सञ्चार लगायतका महत्त्वपूर्ण पूर्वाधारको विस्तार भएसँगै वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउन आवश्यक प्रक्रिया अघि बढाइएका छौं ।

नगरसभाले उपमहानगरपालिका घोषणाका लागि कर्णाली प्रदेश सरकारमार्फत केन्द्र सरकारलाई अनुरोध गर्न सार्वजनिक महत्त्वको प्रस्ताव पारित गरेको छ । नगरसभाबाट पारित उपमहानगरपालिका बनाउने एजेन्डा कर्णाली प्रदेश सरकारमार्फत संघीय सरकारमा जानेछ ।’ 

उपमहानगरपालिकाका लागि आवश्यक मापदण्ड दुई लाख जनसंख्या, २५ करोड आन्तरिक राजस्व र आवश्यक प्रशासनिक संरचना हुनुपर्छ । वीरेन्द्रनगरलाई उपमहागरपालिका घोषणा गर्ने पर्याप्त मापदण्ड पूरा भइसकेको प्रमुख ढकालले बताइन् । ०७८ को जनगणनाअनुसार वीरेन्द्रनगरमा १ लाख ५३ हजार ८ सय ६३ जना बसोबास गर्छन् । राजधानीको नगरपालिका भएकाले वीरेन्द्रनगरमा अस्थायी बसोबास गर्नेको संख्या समावेश गर्ने हो भने यो संख्या पाँच लाखभन्दा बढी छ । उपमहानगर बन्नका लागि नगरपालिकाको आन्तरिक वार्षिक औसत आम्दानी २५ करोड हुनुपर्छ । नगरपालिकाले गत वर्ष नै लगभग यो मापदण्ड पूरा गरिसकेको छ । यो वर्ष मात्रै नगरपालिकाले ४३ करोड आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको छ ।

उपमहानगरपालिका बन्नका लागि फोहोरमैला प्रशोधन तथा व्यवस्थापनको उचित व्यवस्था भएको हुनुपर्छ । नगर क्षेत्रबाट संकलित फोहोर वीरेन्द्रनगर–१ तारेभिरमा व्यवस्थापन गरिँदै आएको छ । यहाँ लेदोसहितको फोहोर व्यवस्थापन गर्न प्लान्ट तयार गरिएको छ । वीरेन्द्रनगरमा सभाहल यसअघि नै निर्माण गरिएको छ । विद्युत खानेपानी र सञ्चार सेवाको उपलब्धता पर्याप्त छ । नगरभित्रका प्रमुख सडक कालोपत्रे, आधुनिक पशु वधशाखा र व्यवस्थित शवदाह स्थलको मापदण्डसमेत पूरा भएको छ । नगरपालिकाले आफ्नै नगर अस्पताल सञ्चालन र लाटीकोइलीमा १५ शय्याको अस्पताल निर्माणको क्रममा छ ।

वीरेन्द्रनगरमै तीन सय शय्याको प्रदेश अस्पतालले विशेषज्ञसहितका सेवा सुविधाहरू प्रदान गरिरहेको छ । प्रदेशकै पहिलो १० हजार दर्शकको क्षमता भएको फुटबल रंगशाला निर्माण सम्पन्न हुँदैछ । यो रंगशालामा आगामी चैतमा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गरिँदैछ । वीरेन्द्रनगरको मुख्य सडक फोरलेन सडक र भित्री सडकहरू कालोपत्रे छन् ।

उपत्यकाको चक्रपथको कालोपत्रे सुरु गरिएको छ भने केही कच्ची सडकहरू पक्की बनाउन काम जारी छ । उच्च शिक्षाका लागि दुई विश्वविद्यालय छन् । मध्यपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेको सुर्खेत बहुमखी क्याम्पस छन् । ७९ वटा स्थानीय तह रहेको कर्णालीमा एउटा पनि उपमहानगरपालिका छैन । ७९ मध्ये २५ वटा नगरपालिका र ५४ वटा गाउँपालिका छन् । वीरेन्द्रनगरलाई सिँगारेर कर्णालीकै एक मात्र नमुना उपमहानगरपालिका बनाइँदैछ ।

ठेकेदारविरुद्ध कस्दै कर्णाली सरकार

निर्माण व्यवसायीको लापरबाही र सरकारी उदासीनताका कारण धेरै विकास आयोजनाहरू अलपत्र परेका छन । महत्त्वपूर्ण विकास आयोजना समयमै सम्पन्न नगरी अलपत्र पार्ने निर्माण व्यवसायीविरुद्ध कर्णाली प्रदेश सरकार ‘एक्सन’ मा उत्रिएको छ । प्रदेश सरकारले ठेक्का व्यवस्थापन गरेका सडक पूर्वाधारहरू तोकिएको समयावधिमा पूरा नगरी अलपत्र पार्ने निर्माण व्यवसायीहरूलाई ठेक्का रद्द गर्ने चेतावनी दिएको छ ।

प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले विकास आयोजनाहरूलाई लथालिंग अवस्थामा छाड्ने निर्माण व्यवसायीको सूची मन्त्रालयले तयार गरिसकेको बताए । उनका अनुसार सुरुवातमा निर्माण आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीको सूची तयार गरियो । त्यसपछि ती निर्माण व्यवसायीहरूलाई पटकपटक मन्त्रालयमा बोलाई छलफल गरेर निर्माणमा ढिलासुस्ती हुनुको कारण खोजी गर्ने काम गरियो ।

‘सरकारका तर्फबाट केही सुधार गर्नेपर्ने पक्ष भएमा सुधार गरी काम गर्ने वातावरण निर्माण गरियो,मन्त्री बुढाले भने,‘धेरै आयोजनाको काम पनि अगाडि बढेको छ । तर विभिन्न बहाना बनाएर विकास आयोजना अलपत्र पार्न कसैलाई छुट छैन । अब पनि आयोजनामा ढिलाइ गरे कानुनी बाटो रोज्न बाध्य हुने छौं ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.