प्रथम पालिकास्तरीय भलिबल प्रतियोगितामा २१ समूहको सहभागिता
गुल्मी : गुल्मीमा बुधबारदेखि सुरु हुने प्रथम पालिकास्तरीय भलिबल प्रतियोगितामा १२ पालिकाबाट २१ समूह सहभागी हुने भएका छन्।
आयोजकले मंगलबार पत्रकार सम्मेलन गरेर प्रथम गुल्मी भलिबल कप को सम्पूर्ण तयारी सकिएको जानकारी दिएको छ।
त्यस्तै बुधबारदेखि कात्तिक १८ गतेसम्म सञ्चालन हुने भलिबल प्रतियोगितामा चन्द्रकोट, छत्रकोट र मदाने गाउँपालिकाका महिला खेलाडी सहभागिता नरहेको जिल्ला भलिबल संघ गुल्मीले जनाएको छ।
जिल्लामा नयाँ खेलाडी उत्पादन, खेलाडीको विकास र खेलको विस्तारका लागि दसैं र तिहार पर्वको अवसरमा नेपालको राष्ट्रिय खेल भलिबलको आयोजना गरिएको गुल्मी भलिबल संघका महासचिव नारायण आचार्यले जानकारी दिए।
पुरुष भलिबल खेलमा प्रथम हुनेले नगद ७७ हजार ७ सय ७७ रुपैयाँ कप, मेडल र प्रमाणपत्र पाउने छन्। त्यस्तै द्वितीय ५५ हजार ५ सय ५५ रुपैयाँ, तृतीया ३३ हजार ३ सय ३३ रुपैयाँ र सान्त्वनाले नगद ११ हजार १ सय ११ रुपैयाँ ,कप, मेडल र प्रमाणपत्र पाउने छन्।
त्यस्तै महिला भलिबल तर्फ प्रथम हुनेले ३५ हजार रुपैयाँ, द्वितीय हुनेले २५ हजार रुपैयाँ, तृतीय हुनेले १५ हजार रुपैयाँ र सान्त्वनाले हुने नगद १० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।