सुकेटारलाई उपाधि
फिदिम : फिदिम–१३ जेभालेमा सम्पन्न दशमी मेला पुरुष फुबटल प्रतियोगिताको उपाधि फिदिम–१४ सुकेटार फुटबल क्लबले हात पारेको छ। पञ्चमी भञ्ज्याङको खेल मैदानमा सम्पन्न फाइनलमा फालेलुङ–६ लाई ४–१ गोलले हराउँदै सुकेटारले उपाधि जितेको हो। सुकेटाराको जितमा दिनेश शेर्मा एक्लैले दुई गोल गरे। प्रकाश राईले थप अर्को गोल गरेर जित पक्का गरेका थिए। फालेलुङका विवेक राईले आत्मघाती गोल गर्दा सुकेटारले गोल अन्तर फराकिलो बनाएको थियो। फालेलुङका दिल लिम्बूले सान्तवना गोल गरेका थिए।
खेल अवधिभर सुकेटारले फालेलुङलाई दबाबमा राखेको थियो। खेलको पहिलो हाफमा दुई गोल गरेको सुकेटारले दोस्रो हाफमा थप दुई गोल गरेको थियो। पहिलो हाफमा एक गोल फर्काएको फालेलुङले थप गोल गर्न नसक्दा उपविजेतामा सीमित बन्न पुग्यो। सुकेटारले एक लाख ३१ हजार नगद पुरस्कार पायो। उपविजेतामा सीमित बनेको फालेलुङले ७५ हजार नगद पुरस्कारमा चित्त बुझायो।
आयोजक टोलीका युनस राई प्रतियोगिताको उदयीमान खेलाडी घोषित भए। सुकेटारका विवेक मगर उत्कृष्ट गोलरक्षक र सुकेटारकै रोशन आङ्देम्बे उत्कृष्ट डिफेन्डर घोषित भए। वाईसीएलका निर्देश राई उत्कृष्ट खेलाडी बने।
प्रतियोगिताका विजेतालाई प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कमल जबेगुले पुरस्कार प्रदान गरेका थिए। प्रतियोगितामा ३२ टोलीले सहभागिता जनाएको आयोजक समितिका सल्लाहकार गजेन्द्र राईले जानकारी दिए।