भत्किएको पुल पुनः बनेन, फड्केको भरमा वारि–पारि
उदयपुर : उदयपुरको बेल्टार–सुन्दरपुर जोड्ने त्रियुगा नदीको पुल निर्माणकार्य १३ वर्षदेखि अलपत्र परेपछि विकल्पमा बाँसको अस्थायी पुल निर्माण गरिएको छ। चौदण्डीगढी नगरपालिकाको केन्द्र बेल्टारसँग तीनवटा वडालाई जोड्ने गरी वडा नं ५ सिवाईमा लगाइएको पुलको मुख्य भाग झन्डै २८ महिनाअघि नदीले बगाएपछि हिउँदको समयमा विकल्पमा बाँसको पुल (फड्के) लगाइएको हो।
प्राविधिक पक्षको कमजोरीका कारण निर्माण सम्पन्न नहुँदै बगाएको पुल बन्ने अत्तोपत्तो नभएपछि ५, ९ र १० वटाका स्थानीयले सास्ती खेप्नु परेको छ। त्यसको प्रत्यक्ष मर्कामा नगरपालिकाका उपमेयर मणिकादेवी दुलालसमेत परेकी छिन्। नगरपालिकाको केन्द्र बेल्टार जान उनी सधैं छिमेकी जिल्ला सप्तरीको सप्तकोशी नगरपालिकाको सहारा लिनु पर्छ। नगरपालिकाले उपलब्ध गराएको सवारीसाधन चढेर १५ मिनेटमा नगर कार्यालय पुग्ने ठाउँमा झन्डै एक घण्टाको बाटो घुम्न बाध्य छिन्।
दैनिकजसो एक घण्टाको बाटो घुम्नु परेपछि हिजोआज उनी फुर्सद र काम परेको समयमात्र घर आउँजाउँ गर्छिन्। त्यसबाहेक बेल्टारमा रहेको कोठामा नै बस्छिन्। उपमेयर दुलाल भन्छिन्, ‘घुमाउरो बाटोका कारण दैनिकजसो आवतजावत गर्दा इन्धन बढी खपत हुने र गाडीलाईसमेत मार पर्ने भएकाले मितव्ययिता अपनाउन नगरपालिका नजिक कोठा लिएर बसेको हुँ।’
उपमेयर दुलालकै जस्तो समस्या नगर प्रवक्तासमेत रहेका वडा नं ९ का वडाध्यक्ष प्रकाश राउतको छ। राउत आफ्नै वडा कार्यालय ज्यामिरे जान एक घण्टाको बाटो लगाएर उपमेयरकै रुटबाट हिँड्ने गर्छन्। त्यसो त उपमेयर दुलाल र वडाध्यक्ष राउतमात्र होइन वडा नं ५ र १० का वडाध्यक्ष तुलसीराम ढकाल, धर्मेन्द्र खड्का र तीनवटै वडाका अन्य जनप्रतिनिधिको बाध्यता पनि उही छ। निर्माणका लागि माथिल्लो निकायले समयमा निर्णय लिन नसक्दा अहिले पनि पुल अलपत्र अवस्थामै छ। पुल बनाउने यकिन नभएपछि जनताको सहजताका लागि तत्काल बेल्टारबाट ज्यामिरे हुँदै हडिया आउजाउका लागि स्थानीय युवाहरूको पहलमा बाँसको अस्थायी पुल निर्माण गरिएको वडा नं १० का वडाध्यक्ष धर्मेन्द खड्काले बताए।
नदीकै कारण पालिका केन्द्र जानै असहज भएपछि दुई सय जनाको श्रमदानमा चार हजार घना बाँस खरिद गरी अस्थायी पुल बनाइएको उनले बताए। उनले भने, ‘त्रियुगा नदीमा एक दर्जन बढी खोला मिसिएका कारण हिउँदको समयमा पनि पर्याप्त पानी हुने भएकाले वारपार गर्न समस्या छ। अझ वर्षाको समयमा कस्तो होला आफैं विचार गर्नुस् ?’ स्थानीयको प्रमुख समस्या रहेको पुल निर्माणका लागि संघ र प्रदेशसभाका निर्वाचित जनप्रतिनिधिहरूले प्रतिबद्धता गरे पनि हालसम्म उपलब्धि हुन नसकेको उनीहरूको भनाइ छ। निर्वाचनका बेला प्रतिबद्धता गर्ने र पछि बेवास्ता गर्ने जनप्रतिनिधिको पुरानै रोग रहेकाले जनताले सास्ती व्यहोर्नु परेको वडाध्यक्ष खड्काले बताए।
यही क्षेत्रबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्का चार पटक निर्वाचित भइसकेका छन्। पछिल्लो पटक २०७९ सालको निर्वाचनमा डा. खड्का र कोशी प्रदेशसभाका सदस्य राजन किराँतीले पुल जसरी पनि बनाउने प्रतिबद्धता गरेको स्थानीयले बताए।
समयमा नै पुल नबनेपछि वडा नं ९ का वडाध्यक्ष प्रकाश राउतले बेल्टार–हडिया जोड्न त्रियुगा नदीमा २०७४ सालदेखि हिउँदको समयमा बर्सेनि ह्युमपाइप लगाउने गरेका छन्। वार्षिक करिब १५ लाख रुपैयाँको लागतमा बर्सेनि अस्थायी रूपमा ह्युमपाइप लगाउनु परेको उनको भनाइ छ।
नगरपालिकाका मेयर कालुमान लामाले पक्की पुल स्थानीय तहबाट सम्भव नहुने भएकाले संघ र प्रदेशका प्रतिनिधिमार्फत योजना माग गरिए पनि सुनुवाइ नभएको बताए। उनले भने, ‘सानातिना लाखका योजनाहरू पालिकाले खर्च गर्ने हो, पुल करोडको योजना हो। समग्र हाम्रो पालिकाको बजेट लगाउँदा एउटा पुल पनि बन्न सक्ने अवस्था छैन।’ स्थायी पुल बनिनसकेकाले जनताको सहजताका लागि बर्सेनि खर्च गरेर भए पनि विकल्प तयार गरिएको मेयर लामाले बताए। वडा नं ५ का अध्यक्ष तुलसीराम ढकालले ज्यामिरेमा बाँसको पुल र तलका सर्वसाधारणका लागि २० थान ह्युमपाइप राखेर करिब दुई सय मिटर बाटो बनाउन सुरु गरिएको बताए।
विभागले निर्णय नलिँदा पुनः अनिश्चित
२०७८ असार १९ गते चौदण्डीगढी नगरपालिका वडा नं ५, ९ र १० का जनताका लागि कालो दिन बन्यो। ९० प्रतिशत काम सम्पन्न भइसकेपछि उद्घाटनको तयारीमा रहेको सिवाईस्थित त्रियुगा नदीको पुल बाढीले भत्काएपछि स्थानीयको समस्या पुनः पुरानै अवस्थामा फर्कियो।
लगातारको बाढीले दुई पटक भत्काएको उक्त पुल अहिलेसम्म मर्मत हुन सकेको छैन। पुल नबन्दा स्थानीयवासी पुरानै अवस्थाको कष्टकर जीवन बिताउन बाध्य छन्। १९ गते बाढीले दक्षिणतर्फका तीन वटा फाउन्डेसन पिलर ढालेपछि दुई स्पान भत्केर अलपत्र पारेको थियो। त्यसको १५ दिन नपुग्दै साउन २ गतेको बाढीले पुनः अर्को पिलर ढालेपछि तेस्रो स्पान पनि भत्काएर अलपत्र परेको हो। बाढीले पुल भत्काएको २८ महिना पुग्न लाग्दासमेत मर्मत गर्नेतर्फ सरकारको ध्यान नगएकोमा स्थानीयवासी आक्रोशित छन्। पुल बनाउने वा नबनाउने विषयमा विभागले अहिलेसम्म पनि निर्णय लिन नसक्दा पुल अनिश्चित बनेको छ। भत्किएलगत्तै पुल निर्माणको रेखदेख गर्ने निकाय गाईघाट–दिक्तेल सडक योजना, भौतिक पूर्वाधार मन्त्रालय मातहतको प्राविधिक टोलीले स्थलगत अनुगमन गरेपछि मर्मत गर्ने या पुनर्निर्माण गर्ने भन्ने टुंगो लाग्ने जनाएको थियो।
गाईघाट–दिक्तेल सडक योजनाका इन्जिनियर नारायण थापाका अनुसार विभागले पुनर्मूल्यांकन (भिओ) गरेर पठाउने आदेश भएअनुसार भिओ गरेर पठाएको छ। उनले भने, ‘भत्किएको ठाउँमा बनाउने र नभत्किएको ठाउँमा जाली लगाएर मजबुद बनाउने भन्ने छ, त्यहीँ अनुरूप भिओ गरेर पठाएका छौं।’ बनाउने विषयमा ठेकेदारले सहमति नजनाउँदा चार पटकसम्म भिओ गरेर पठाउनु परेको बताउँदै उनले भने, ‘हामीले ठेकेदारले भने अनुसार नै भिओ गरेर विभागमा पठाएका छौं, त्यसपछि विभागले निर्णय गरेर पत्र पठाउनु पर्ने हो। त्यो अहिलेसम्म आएको छैन।’ बजेट सुनिश्चित भएलगत्तै काम अघि बढाइने उनले बताए। ५ वटा पिलर र ३ वटा स्पान बाढीले भत्काउँदा ४ वटा स्ल्याब भाँच्चिएर कामै नलाग्ने अवस्थामा पुगेको उनले बताए। २०६७ सालमा ९ करोड ७६ लाख लागतमा निर्माण सुरु भएको १३ स्पानको उक्त पुल १३ वर्षसम्म सम्पन्न हुन नसक्नु निर्माण कम्पनीको चरम लापरबाही भएको मेयर लामाले बताए।
तीन वर्षभित्र सक्ने सम्झौता भएको ३ सय ७ मिटर लम्बाइ र साढे ५ मिटर चौडाइको उक्त पुल समयमा काम नहुँदा पुनर्मूल्यांकन (भिओ) गर्दै जाँदा १२ वर्षमा बजेट ११ करोड २७ लाख पुगेको योजना कार्यालयले जनाएको छ। पुल निर्माण ढिला हुनुमा स्थानीयवासीले ठेकेदारको लापरबाही भएको आरोप लगाइरहेका छन् भने निर्माण कम्पनीले आवश्यकताअनुसार सरकारले बजेट नदिएको गुनासो गर्दै आएको छ।