पीडित भोकै, सुगममै थन्कियो राहत

पीडित भोकै, सुगममै थन्कियो राहत
जाजरकोट सदरमुकाम खंलगामा थन्किएको राहत सामग्री। तस्बिर : राजेन्द्र कार्की

जाजरकोट : शुक्रबार राति गएको भूकम्पका कारण घरबारविहीन बनेका पीडितले हालसम्म राहत पाउन सकेका छैनन्। सरकारी तथा गैरसरकारी निकायले भूकम्पपीडितका लागि उपलब्ध गराउने भनिएको राहत सामग्री सुगममै थन्किएको हो। भूकम्पका कारण सबैभन्दा क्षति पुगेको जाजरकोट सदरमुकाम खंलगा र पालिकाको केन्द्रमै राहत थन्किएको छ। 

विभिन्न निकायले उपलब्ध गराएको राहत सामग्री सुगममै थन्किएका कारण सबैभन्दा मारमा दुर्गमका पीडितहरू परेका छन्। जिल्ला प्रशासन कार्यालयले जाजरकोटले एकद्वार प्रणालीबाट राहत वितरण गरिएको जनाएको छ। 

तर, राहत सामग्री दुर्गमका पीडितसम्म पुग्न नसकेको हो। राहत सामग्री सदरमुकाम र पालिकाको केन्द्रसम्म पुगे पनि पीडितले पाउन नसक्दा थप संकट पैदा भएको छ। भूकम्पबाट घरबारविहीन भएको तीन दिनसम्म पनि त्रिपाल, खाद्यान्न र कपडालगायतका राहत सामग्रीहरू नपाउँदा थप समस्या भएको पीडितको गुनासो छ।

जाजरकोटको नलगाडमा पीडितहरू चिसोका कारण बिरामी पर्न थालेका छन्। त्रिपालबिनै चिसोमा रात काट्नु परेका कारण रुघाखोकी र ज्वरोको समस्या देखिएको छ। राहत सामग्री थुप्रिए पनि सडक नपुगेको बस्तीका पीडितले पाउन सकेका छैनन्। दुर्गमका पीडितले मात्र होइन, सदरमुकाम खलंगाभित्रै पीडितले हालसम्म राहत पाउन नसकेको गुनासो गरेका छन्। भेरी नगरपालिका–३ थाप्लेका प्रकाशजंग शाहले भने, ‘भूकम्पले घरै पूरै भत्किएर खुला चौरमा बास भएको छ, तर हामीले आजसम्म त्रिपाल पनि पाएका छैनौं। पीडितको नाममा आएको राहत पहुँचवालाले मात्र पाएका छन्, वास्तविक पीडितले राहत नै पाउन सकेका छैनन्।’

सदरमुकामभित्रैका पीडितले राहत पाउन नसकिरहेको अवस्थामा सडक नपुगेका र विकट क्षेत्रका पीडितले राहत नै देख्न नपाएको समाजसेवी जनक केसी बताउँछन्। उनी भन्छन्, ‘सदरमुकामकै पीडितले राहत पाउन सकेका छैनन्, विकट बस्तीमा राहत पुग्ने कहिले हो ? चिसोमा रात बिताउनुपर्ने बाध्यताका कारण गाउँमा पीडितहरू बिरामी हुन थालेका छन्, पहुँचवालाले नै राहतमा रजाइँ गर्ने अवस्था छ।’ 

भेरी नगरपालिकाकै भूकम्पपीडित तारा विकले घर भत्किएपछि आफूहरू सडकमै सुत्न बाध्य भएको सुनाइन्। उनले भनिन्, ‘राहत नै पाएका छैनौं, एउटा त्रिपाल पनि नहुँदा खुला स्थानमा चिसोमा रात काट्नु परेको छ। हाम्रो टोलमा कोही पनि राहत दिन आएका छैनन्, भत्किएको घर छाडेर 
राहत माग्न कहाँ जाऊँ ?’

जाजरकोटकै बारेकोटका वीरबहादुर नेपालीले भने, ‘मेरो घर भत्किएको छ, बस्नलाई ठाउँ नै छैन। तर, आज तीनदिन भयो, कसैले राहत दिएनन्।’ रातमा निदाउन नसकेको भन्दै उनले बस्ने र खाने टुंगो नभएको सुनाए। भत्किएको घरको मुचुल्का उठाउनसमेत कोही नआएको भन्दै उनले आफ्ना लागि सरकार नै नभएको दुखेसो पोखे। भूकम्पका कारण घरबारविहीन बनेकाहरूले भत्किएको घरबाट सामान नै निकाल्न सकेका छैनन्।
 

बचेका कपडा र खाद्यान्न निकाल्न नपाएका कारण पनि आफूहरू भोकभोकै बस्नुपर्ने अवस्था भएको पीडित कमला वलीले बताइन्। उनले भनिन्, ‘भूकम्पमा भाग्यले ज्यान त जोगायौं, तर अहिले चिसोमा भोकै बस्नुपर्ने बाध्यता छ। सरकारले राहत दिन्छ भन्छन्, हामीले आजसम्म पाएका छैनौं।’
केही स्थानमा राहत वितरण सुरु गरिए पनि पर्याप्त नहुँदा विवाद भएपछि रोकिएको छ। पीडितले राहत पाउन नसकिरहेका बेला स्थानीय प्रशासनले भने प्रभावित क्षेत्रमा राहत पठाउन सुरु भएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माले पीडितलाई राहत उपलब्ध गराउनका लागि प्रयास भइरहेको बताए। 

उनले भने, ‘हामीले उद्धारको काम सकेपछि राहत वितरण थालेका छौं, प्रभावित क्षेत्रमा राहत वितरणका लागि सम्बन्धित पालिकालाई राहत सामग्री हस्तान्तरण सुरु गरेका छौं।’ उनले सोमबारसम्म ६ हजार कम्बल, ७ हजार त्रिपाल र चामल २५ सय बोरा पालिकाहरूलाई जिम्मा लगाएको बताए। पालिकाको जिम्मा लगाइएकाले चाँडै पीडितले राहतले पाउने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.