नेपालमा गुड्यो हाइड्रोजन कार
हाइड्रोजन कारसँगै रिफिलिङ स्टेसन पनि चाहिन्छ भनेर केयूले नेपालको पहिलो रिफिलिङ स्टेसन पनि सञ्चालनमा ल्याउने तयारी गरेको छ।
काठमाडौं : नेपालमा पनि हाइड्रोजन सवारीको सुरुवात भएको छ। धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) ले कात्तिक १८ गते विधिवत रूपमा नै पहिलोपटक हाइड्रोजन कार भित्र्याएको छ।
केयूको प्रयास र सबैको सहयोगमा पहिलोपटक हाइड्रोजन कार ल्याउन सकिएको उपकुलपति प्रा. डा. भोला थापाले बताए। वैकल्पिक इन्धनको स्रोतमा रूपमा हाइड्रोजन इन्धनलाई प्रयोग गर्न सकिन्छ भन्ने स्थापित गर्न यो प्रयासले सहयोग गर्ने उनले बताए। ‘हामीसँग भएको पानीलाई प्रयोग गरी हामीसँग नभएको पेट्रोलियम पदार्थ विस्थापन गर्न हाइड्रोजन प्रविधिको प्रयोग र विकास गर्न जरुरी रहेको छ,’ उनले भने।
केयू स्कुल अफ इन्जिनियरिङका डिन मनिष पोखरेलले विश्वविद्यालयले जहिले पनि वर्तमान र भविष्यमा के आवश्यक छ भनेर अनुसन्धान गर्ने गरेको बताए। प्रचुर मात्राम जलमा धनी भएकाले भविष्यमा हाइड्रोजन इन्धनको सम्भावनालाई देखाउन नै यो प्रयास गरिएको बताए। हुन्डाईको नेक्सो नामक व्यावसायिक हाइड्रोजन इन्धन कारलाई विश्वविद्यालयले ल्याएको केयूका उपप्राध्यापक एवं ग्रिन हाइड्रोजन ल्याबका प्रमुख डा. विराजसिंह थापाले बताए। नेपाल आयल निगमको पूर्णअनुदान सहयोगमा यो कार ल्याइएको थापाले जानकारी दिए। ‘३३ हजार अमेरिकी डलरमा ल्याइएको यो हाइड्रोजन कारमा सरकारले भन्सार छुट दिएको छ। नेपालमा पनि हाइड्रोजन कार सम्भव छ भन्ने देखाउनका लागि उक्त कार ल्याइएको हो,’ थापाले स्पष्ट पारे।
निगम र केयूबीच दुई वर्षअघि हाइड्रोजन ल्याब स्थापना, रिफ्युलिङ सेन्टरलगायतका कार्यका लागि पाँच करोड रुपैयाँ सहयोग उपलब्ध गराउने सम्झौता भएको थियो। सोहीअनुसार नै निगमले केयूलाई अनुदान उपलब्ध गराएको हो। नेक्सो हाइड्रोजन फ्युल सेल एसयूभी हो। यसमा भएको ६ केजी हाइड्रोजन फ्युल सिलिन्डरले ८०० किलोमिटरसम्म कुद्न सक्छ। यसलाई रिफिल गर्न ५ मिनेटको मात्र समय लाग्छ।
हाइड्रोजन कार कसरी चल्छ ?
हाइड्रोजन कार भनेको वास्तवमा विद्युतीय कार नै हो। यसमा विद्युतीय मोटर हुन्छ, त्यो मोटरलाई घुमाउनका लागि बिजुली चाहिन्छ। बिजुली ब्याट्रीको सीमित भण्डारण क्षमताले नपुग्ने हुनाले लामो दूरीमा चल्ने र भारी बोक्ने सवारीमा ब्याट्रीको सट्टामा हाइड्रोजन इन्धन भर्न सकिन्छ। हाइड्रोजनले गाडीभित्र नै फ्युल सेल भन्ने उपकरण हुन्छ, त्यसमा हाइड्रोजन इन्धन पसेपछि हाइड्रोजन र अक्सिजनको मिश्रण भएपछि पानी निकाल्छ।
पानी निस्किने क्रममा त्यसले बिजुली पैदा गर्छ। बिजुली बाइ प्रोडक्ट हुन्छ। त्यो बिजुलीले मोटर कुद्ने हो। ब्याट्रीको भण्डारण क्षमताभन्दा हाइड्रोजनको भण्डारण क्षमता ४ सय गुण बढी हुन्छ। ब्याट्रीले एउटा गाडीलाई १ किलोमिटर धकेल्छ भने त्यही गाडीलाई हाइड्रोजनले ४ सय किलोमिटर धकेल्न सक्छ। धेरै दूरी र धेरै भारीको क्षमता भन्नेबित्तिकै हाइड्रोजन इन्धन अघि आउँछ। पेट्रोल इन्जिन भनेको जस्तै हाइड्रोजन कारको इन्जिनलाई फ्युल सेल पावर ट्रेन भनिन्छ। यसमा हाइड्रोजन छिरेपछि बिजुली निकाल्छ।
त्यसले मोटर घुम्ने हो। सफा ट्याम्पुको जस्तै गरी बिजुलीले यसको मोटर घुम्छ। १ किलोग्राम हाइड्रोजनले सरदर २ सय किलोमिटर चल्न सक्छ। १ किलोग्रामको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिकेजी ५ अमेरिकी डलर छ।
करिब ६ सय रुपैयाँको इन्धन राखेर २ सय किलोमिटर चल्ने गाडी पाइँदैन। विद्युतीय गाडी हाइड्रोजनभन्दा केही सस्तो परे पनि माइलेज दिँदैन। विद्युतीयभन्दा बढी माइलेज दिने र पेट्रोलियम गाडीभन्दा सस्तो पर्ने हुन्छ। यसले हाइड्रोजन लिएर, बिजुली निकालेर गाडी चल्दा यसले निकाल्ने धुवाँ भनेको पानी मात्रै हो। यो पूर्णतया वातावरणमैत्री छ।
रिफिलिङ स्टेसन कसरी चल्छ ?
हाइड्रोजन कारसँगै रिफिलिङ स्टेसन पनि चाहिन्छ भनेर केयूले नेपालको पहिलो रिफिलिङ स्टेसन पनि सञ्चालनमा ल्याउने तयारी गरेको छ।
विश्वविद्यालयले रिफिलिङ स्टेसन उत्पादन मुलुक कोरियाबाट विभिन्न पाटपुर्जालाई एसेम्बल गरेर भित्राएको हो। पाटपुर्जा एसेम्बल गर्नुअघि केयूका अनुसन्धानकर्ता एवं आयोजना इन्जिनियर नितेश यादव नै कोरिया गएर १ महिना बसेका थिए। उनले पाटपुर्जाको चेक जाँचसँगै हाइड्रोजन कारको पनि जाँच गरेका थिए। उनका अनुसार नेपालको सन्दर्भमा कस्तो रिफिलिङ स्टेसन चाहिन्छ भनेर आफैंले नै डिजाइन गरिएको हो। कोरियन टिमसँगै सहकार्य गर्दै पाटपुर्जा एसेम्बल गरिएको हो। उक्त मेसिन सेप्टेम्बरमा नेपाल ल्याइएको थियो।
रिफिलिङ स्टेसनभित्र नै हाइड्रोजन इन्धन उत्पादन गर्न सकिन्छ। यसलाई चाहिने शुद्धता पनि त्यही हुन्छ। हाइड्रोजन गाडी एचफोर प्युरिटी चाहिन्छ। मतबल ९९.९ प्रतिशत शुद्ध हाइड्रोजन चाहिन्छ। त्यसकारण हाइड्रोजन प्युरिफिकेसन युनिट पनि त्यही भित्रै हुन्छ। सुरुमा यहाँ भएको एड्भान्स इलेक्ट्रोलाइजर (पानीलाई टुक्राएर हाइड्रोजन बनाउने प्रविधि)ले हाइड्रोजन बनाउँछ। त्यसपछि हाइड्रोजनलाई शुद्ध बनाउँछ। यसको मतलब त्यहाँ भएको अक्सिजनलगायतका वस्तुलाई हटाउँछ। यसपछि बफर स्टोरेजमा जान्छ। त्यहाँ टेम्पोररी स्टोरेज हुन्छ। त्यसपछि कम्प्रेसन पार्टमा जान्छ। त्यहाँ २ वटा विकल्प हुन्छ, एउटा न्यूनतम ३५० बार र बढीमा ७ सय बारमा इन्धन भर्न सकिन्छ।
यो रिफिलिङ स्टेसनमा इलेक्ट्रोलाइजर गर्न १ दिनमा ५४ लिटर पानी चाहिन्छ। धाराको पानी पनि प्रयोग गर्न सकिन्छ। यसले साढे ६ केजी हाइड्रोजन निकाल्छ। यसका लागि ५ किलोवाट इलेक्ट्रोलाइजर प्रयोग हुन्छ। विश्वमा व्यावसायिक रूपमा सञ्चालनका लागि २ सय किलोवाट क्षमतासम्मका इलेक्ट्रोलाइजर प्रयोग गरेको पाइन्छ। यसले दिनमा एउटा कारलाई हाइड्रोजन इन्धन भर्न पुग्छ। अन्य सवारी भित्रिएमा क्षमता बढाउनुपर्ने हुन्छ। हाइड्रोजन सवारी र रिफिलिङ स्टेसन सञ्चालनको मुख्य समस्या भएको प्राविधिक रूपमा दक्ष जनशक्तिको अभाव भएको इन्जिनियर यादव बताउँछन्।
हाइड्रोजन कसरी बन्छ ?
हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्छ। पानीबाट बिजुली निस्कन्छ। बिजुलीको सहयोगमा पानीलाई टुक्राएर हाइड्रोजन र अक्सिजनलाई अलग–अलग गर्न सकिन्छ। टुक्रिएपछि दुई भाग हाइड्रोजन र एक भाग अक्सिजन तयार हुन्छ।
नौ किलोग्राम पानीबाट १ किलोग्राम हाइड्रोजन निकाल्न सकिन्छ। १ किलोग्राम हाइड्रोजन निकाल्न करिब ५० युनिट किलोवाट आवर लगभग ५ सय रुपैयाँको बिजुली लाग्छ। हाइड्रोजन बनाउनका लागि पानी र बिजुली चाहियो, जुन नेपालसँग प्रशस्त छ। हिमालबाट बग्ने पानी र खेर जाने बिजुलीबाट नै हाइड्रोजन निकाल्न सकिन्छ। पहिला पानीलाई शुद्धीकरण गर्नुपर्छ। पानीबाट खनिज हटाउनुपर्छ। शुद्ध पानी बनाउनु पर्यो। खनिज नहटाए मेसिनमा खिया लाग्छ ।
अहिलेको प्रविधिले केही घण्टादेखि वर्षदिनसम्म हाइड्रोजनलाई भण्डारण गर्न सकिन्छ। हाइड्रोजनलाई आवश्यकता अनुसार तरल, मेटल हाइड्राइड बनाएर ठोस र ग्यास बनाएर भण्डारण वा निर्यात गर्न सकिन्छ। नेपालमा आउने डिजललाई २ प्रतिशतका दरले हाइड्रोजनले विस्थापित गर्न सकिन्छ। यसो हुने हो भने नेपालमा १० वर्षमा करिब ७१ अर्ब रुपैयाँ बराबरको डिजेलको बजार हाइड्रोजन इन्धनले विस्तार हुने अध्ययनले देखाएको छ। प्रत्येक वर्ष खेर जाने बिजुलीबाट हाइड्रोजन निकाल्ने हो भने २०३० सम्म ३ लाख ५० हजार मेट्रिकटन हाइड्रोजन निकाल्न सकिन्छ।
अर्को भनेको, विश्वमा नै सस्तो हाइड्रोजन इन्धन उत्पादन गर्ने सक्ने मुलुकमा नेपाललाई समावेश गरिएको छ। विश्वमा ५ डलर प्रतिकेजीमा उत्पादन भइरहेको हाइड्रोजन ३ डलरसम्म उत्पादन गर्न सकिने एक अध्ययनले देखाएको छ।
कठिनाइ कहाँ ?
हाल बर्सेनि पेट्रोलियम पदार्थ, एलपीजी ग्यास र कोइला निर्यातका लागि मात्रै झन्डै ४ खर्ब रुपैयाँ बिदेसिने गरेको छ। यता, विद्युत् उत्पादन क्षमता करिब ८४ हजार मेगावाट छ। हाल करिब ३ हजार मेगावाट उत्पादन भइरहेको छ।
पानीको उपयोगिता बढाउनका लागि हरित हाइड्रोजन इन्धनको विकासमा सरकारले चासो बढाउन थालेको छ। तर, कस्तो नीति लिने, करको दर कसरी निर्धारण गर्ने जस्ता पक्षमा ध्यान दिन जरुरी रहेको विश्वविद्यालय बताउँछ। यसका लागि नेपाल सरकारले हाइड्रोजनको महत्वलाई बुझेर यसको कानुन, नीति निर्माण, यसलाई इन्धनका रूपमा वर्गीकरण गर्ने लगायतमा काम गर्नुपर्ने उपकुलपति प्रा.डा. थापा बताउँछन्। यस्तै, व्यावसायिक प्रयोजनका लागि भन्सार र करका दरहरू पनि स्पष्ट हुन जरुरी रहेको उनको भनाइ छ।
नेपालमा अहिलेसम्म हाइड्रोजन सम्बन्धी कानुनी व्यवस्था नभएको र नीति तथा कार्यक्रमबाट मात्रै हाइड्रोजनलाई सम्बोधन गर्दै आइएको थियो। नीति तथा कार्यक्रम हरेक वर्ष परिवर्तन हुने हुँदा यसमा दिगो नीति तथा कानुन आवश्यक पर्ने महसुस गर्दै राष्ट्रिय हाइड्रोजन नीतिको मस्यौदा तयार गरेको छ।