विश्वका शक्तिशाली भूकम्पहरू

इतिहास

विश्वका शक्तिशाली भूकम्पहरू

भूकम्प पृथ्वीमा हुने सबैभन्दा शक्तिशाली र विनाशकारी प्राकृतिक घटनाहरूमध्येमा पर्छ। यस ग्रहमा विगतमा आएका ठूलठूला भूकम्पका कारण ठूलो विनाश निम्तिएको छ।

इतिहासमा पृथ्वीले भोगेका शक्तिशाली भूकम्पहरूले प्रभावित क्षेत्रहरूमा स्थायी प्रभाव छोडेको छ। यी भूकम्पीय घटनाहरू परिमाणमा भिन्न हुन सक्छन्। तर तिनले पारेका मानवीय र भौतिक क्षतिलगायतका विनाशकारी प्रभाव हजारौं वर्षसम्म पनि परिपूर्ति गर्न असम्भव हुन्छ। विश्वमा सबैभन्दा बढी रेक्टर स्केलका पाँच भूकम्प र सबैभन्दा बढी मानवीय क्षति पुर्‍याएका पाँच ठूला भूकम्पहरूका विषयमा यहाँ जानकारी गराइएको छ। 

भल्दिभिया भूकम्प 

यस भूकम्पलाई ग्रेट चिली भूकम्पको नामले  चिनिन्छ। यो विश्वमा रेकर्ड गरिएको हालसम्मकै सबैभन्दा शक्तिशाली भूकम्प हो। सन् १९६०, मे २२ तारिखका दिन स्थानीय समयअनुसार दिउँसो ३ः१५ मा ९.५ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्प करिब १० मिनेटसम्म रहेको थियो।

भूकम्पपछि आएको २५ मिटरसम्मको उचाइसहितको छालले विशाल सुनामी निम्त्याएको थियो। सुनामीले चिलीको तटलाई गम्भीर रूपमा असर पुर्‍यायो। उक्त भूकम्पको धक्का जापान र फिलिपिन्सम्म महसुस गरिएको थियो। भूकम्पमा मृत्यु हुनेको संख्या निश्चित नभए पनि कुल मृतकको संख्या एक हजारदेखि ६ हजारबीचको हुन सक्ने अनुमान गरिएको छ। करिब तीन हजार जना घाइते भएका थिए। 

ग्रेट अलास्का भूकम्प (१९६४) –९.२

सन् १९६४ मा गएको यस भूकम्पलाई गुड फ्राइडे भूकम्प पनि भनिन्छ। भूकम्प अलास्काको प्रिन्स विलियम साउन्ड क्षेत्रमा सन् १९६४ को मार्च २७ शुक्रबारका दिन स्थानीय समयअनुसार साँझ ५ः३६ मा गएको थियो। करिब ४.५ मिनेटसम्म चलेको उक्त भूकम्प अमेरिकी इतिहासमा रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली भूकम्प हो। ९.२ म्याग्निच्युडको भूकम्पले करिब ८.२ मिटरको सुनामी ल्यायो, जसले चेनेगा गाउँलाई नै ध्वस्त पार्‍यो। भूकम्पमा परी कुल १ सय ३९ जनाको मृत्यु भएको विश्वास गरिएको छ।

सुमात्रा भूकम्प 

सन् २००४ मा आएको सुमात्रा भूकम्पलाई हिन्द महासागर भूकम्प पनि भनिन्छ। इन्डोनेसियाको पश्चिमी तटमा केन्द्रबिन्दु  रहेको उक्त भूकम्प २६ डिसेम्बरका दिन गएको थियो। यसको परिणामस्वरूप ३० मिटर अग्लो छालहरूसहितको सुनामी आएको थियो। ९.१ म्याग्निच्युडको उक्त भूकम्पमा परेर करिब २५ हजारले ज्यान गुमाए। यसले सम्पूर्ण ग्रहलाई करिब एक सेन्टिमिटर जति कम्पन गराएको थियो।

भूकम्पबाट निस्किएको ऊर्जा हिरोसिमा एटोमिक बमको तुलनामा १५०० गुणा बढी रहेको बताइन्छ। यसपछि आएको सुनामीलाई हिन्द महासागर सुनामी, दक्षिण एसियाली सुनामी, इन्डोनेसियाली सुनामी, क्रिसमस सुनामी नामले चिनिन्छ। 

तोहोकु भूकम्प (२०११)–९.१

जापानको तटीय क्षेत्रमा सन् २०११ को मार्च ११ मा करिब ९.१ म्याग्निच्युडको विशाल भूकम्प आयो। भूकम्पले ४०.५ मिटर उचाइसम्मका छालहरूसहित ठूलो सुनामी ल्याएको थियो। मानव इतिहासमा यो सबैभन्दा घातक भूकम्पमध्येको एक मानिएको छ। सुनामीले उत्तर–पूर्वी जापानमा व्यापक र गम्भीर संरचनात्मक क्षति पुर्‍यायो। भूकम्पले विमानस्थल, सडक र रेलमार्ग ध्वस्त बनायो। करिब १ लाख २७ हजार २ सय ९० भवन पूर्ण रूपमा भत्किए, २ लाख ७२ हजार ७ सय ८८ भवन आधा भत्किए र ७ लाख ४७ हजार ९ सय ८९ भवनहरू आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

सुनामीले थुप्रै आणविक दुर्घटनाहरू पनि निम्त्याए। मुख्यतया फुकुसिमा दाइची आणविक पावर प्लान्ट परिसरमा ठूला दुर्घटनाहरू भए। भूकम्प र सुनामीका कारण १५ हजार ८ सय ९४ जनाको मृत्यु भयो भने ६ हजार १ सय ५२ जना घाइते भए। त्यसैगरी २ हजार ५ सय ६२ व्यक्ति बेपत्ता भएका थिए। 

कामचट भूकम्प 

रुसको सुदूरपूर्वमा पर्ने कामचटका प्रायद्वीपको तटमा सन् १९५२ को नोभेम्बर ४ मा ९ रेक्टर स्केलको भूकम्प गयो। यसका कारण करिब १५ मिटर उचाइसम्मका छालहरूसहितको ठूलो विनाशकारी सुनामी आयो। यसले कामचटका प्रायद्वीप र कुरिल टापुहरूमा व्यापक क्षति पुर्‍यायो। भूकम्पका कारण करिब १० देखि १५ हजार मानिसको मृत्यु भयो। सुनामीका छालहरू पेरु, चिली र न्युजिल्यान्डसम्म पुगेका थिए। त्यसैगरी भूकम्पको प्रभावस्वरूप अलास्का, अलेउटियम टापुहरू र क्यालिफोर्नियामा करिब १.४ मिटरसम्म सुनामी छालहरू देखा परेका थिए।

मानवीय क्षतिका हिसाबले शक्तिशाली पाँच भूकम्पहरू

शान्सी भूकम्प 

मिङ राजवंशको समयमा सन् १५५६, जनवरी २३ का दिन बिहान सबेरै चीनको शान्सी प्रान्तमा गएको भूकम्प इतिहासमा सबैभन्दा घातक भूकम्प मानिन्छ। यस भूकम्पमा परी ८ लाख ३० हजार मानिसको मृत्यु भएको अनुमान गरिएको छ। सन् २०१० मा हाइटीमा आएको दोस्रो सबैभन्दा घातक भूकम्पमा ज्यान गुमाउनेको संख्याको दोब्बरभन्दा बढी संख्यामा यस भूकम्पमा मानिसले ज्यान गुमाए।

चीनको ९७ भन्दा बढी काउन्टी प्रभावित भएका छन्। केही काउन्टीहरूमा त्यहाँको जनसंख्याको ६० प्रतिशतसम्मको मृत्यु भएको अनुमान गरिएको छ। त्यतिबेला त्यहाँका मानिस ठूला चट्टानहरूमा बनाइएका कृत्रिम गुफाभित्र बसोबास गर्थे। तिनै गुफाहरूभित्र सुतिरहेको अवस्थामा गएको भूकम्पका कारण गुफा भत्किएर ठूलो जनधनको क्षति भएको थियो। चीनको इतिहासमै सबैभन्दा घातक प्राकृतिक प्रकोपमा यो गनिन्छ।  उक्त भूकम्प ८ रेक्टर स्केलको थियो।

हाइटी भूकम्प

सन् २०१० मा हाइटीको पोर्ट–ओ–प्रिन्समा गएको भूकम्प मानव इतिहासको एक डरलाग्दो विनाशमा पर्छ। ७ म्याग्निच्युटको उक्त भूकम्प जनवरी १२ तारिखमा स्थानीय समयअनुसार ४ बजेर ५३ मिनेटमा गएको थियो। यसको १२ दिनपछिसम्म पनि ४.५ र त्योभन्दा बढीका कम्तीमा ५२ वटा पराकम्पहरू गएका रेकर्ड गरिएको थियो। करिब ३० लाख मानिस यो भूकम्पबाट प्रभावित भएको अनुमान छ। भूकम्पमा ज्यान गुमाउनेको संख्या करिव ३ लाख १६ हजार रहेको थियो। 

एन्टिओक भूकम्प

११५ ईस्वीको डिसेम्बर १३ तारिखमा टर्कीको एन्टाक्केमा गएको भूकम्प एन्टिओक भूकम्पले चर्चित छ। त्यतिबेला ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पले एन्टिओक र वरपरका क्षेत्रहरूमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। यसले सिजरिया मारिटिमामा बन्दरगाहलाई नराम्ररी क्षति पुर्‍याएको थियो।

भूकम्पमा रोमन सम्राट् ट्राजन पनि परेका थिए। भूकम्पमा परी अनुमानित २ लाख ६० हजार मानिसले ज्यान गुमाएका थिए। एन्टिओक, डाफ्ने र अपामियाका सहरहरू लगभग पूर्ण रूपमा नष्ट भएका थिए। भूकम्पका बेला आफैं उखेलिएका रुखहरू हावामा उडेर धेरैलाई गम्भीर चोट पटक लाग्नुका साथै कैयौंको मृत्यु पनि भएको थियो।  भूकम्पपछि धेरै दिनसम्म आएको पराकम्पका कारणले पनि बाँचेकामध्येका धेरैले ज्यान गुमाएका थिए। त्यसैगरी भग्नावशेषमा फसेका धेरै मानिसको भोकका कारण मृत्यु भएको थियो।   

एन्टाक्या भूकम्प  

५२५ ईस्वीको अन्तमा टर्कीमा आएको ७ म्याग्निच्युडको भूकम्पले एन्टिओक सहरलाई पूर्ण रूपमा ध्वस्त पार्‍यो। यसका पराकम्प भूकम्प गएको १८ महिनासम्म पनि गएको थियो। भूकम्पमा परी करिब २ लाख ५० हजारको मृत्यु भएको अनुमान छ। यसले बाइजान्टिन साम्राज्यको क्षेत्रमा ठूलो क्षति पुर्‍यायो। भूकम्पपछि लागेको आगो र ठूलो आधीबेहरीले पनि धेरै विनाश निम्त्याएको थियो। 

ताङ्शान भूकम्प

सन् १९७६ मा चीनको ताङ्शान क्षेत्रमा गएको ७.६ म्याग्निच्युटको भूकम्पलाई पनि विनाशकारी भूकम्पको रूपमा लिइन्छ। भूकम्पका कारण ताङ्शानका ८५ प्रतिशत भवनहरू ध्वस्त भएका थिए। अधिकांश राजमार्ग, रेल्वे र पुलहरू भत्किएका थिए। भूकम्पमा परी २ लाख ४२ हजार ७ सय ६९ को मृत्यु भएको थियो। त्यसैगरी १ लाख ६४ हजार ८ हजार ५१ जना गम्भीर घाइते भएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.