सुन्दरताको सुन्दर परिभाषा

मिसेस नेपाल वर्ल्ड– २०२३ का विजेताले २०२४ को जनवरीमा अमेरिकामा हुने मिसेस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।
मृगनयनी आँखा। मोतीजस्तै चम्किला दाँत। स्याउजस्ता गाला। सर्लक्क परेको जिउडाल। सुन्दरी प्रतियोगिता भन्नेबित्तिकै धेरैको दिमागमा यस्तै दृश्य घुम्न थाल्छ। तर, हिंसामा परेकी दुई महिलाले काठमाडौंमा जारी मिसेस नेपाल वर्ल्ड सुन्दरी प्रतियोगितामा सहभागी भएर सुन्दरी प्रतियोगिताको परिभाषा नै बदलिदिएका छन्।
दोलखाकी २४ वर्षीया एसिडपीडित जेनी खड्का र क्यान्सर लागेर एउटा खुट्टा गुमाएकी चितवनकी ३७ वर्षीया सीता सुवेदीले सुन्दरी प्रतियोगितामा सहभागी भएर साहस बटुलेकी छन्। रिबन इन्टरटेनमेन्टको आयोजनामा प्रतियोगिता भरहेको छ, मिसेस नेपाल वर्ल्ड सुन्दरी प्रतियोगिता–२०२३। जहाँ २३ जना कन्टेस्टेन्ट छन्। तीमध्ये जेनी र सीता अरूभन्दा फरक छन्। दुईले सबैको ध्यान खिचेका छन्– हिम्मत र बौद्धिकताले। जुन प्रतियोगितामा एकसे एक दिग्गज विवाहित नारी सहभागी छन्। कोही डाक्टर छन् त कोही बैंकर अनि कोही इन्जिनियर, आदि।
जब पतिले नै एसिड प्रहार गरे
एक महिलाका लागि उसको पति सबथोक हो। जीवन जिउनले आशा, भरोसामात्रै होइन, रथको एक पांग्रा पनि। तर, जेनीको जीवनमा ठीक उल्टो भयो। श्रीमान्ले उनीमाथि एसिड प्रहार गरे। चार वर्षअघि एसिड आक्रमण गरेर सुन्दर अनुहार सधैंका लागि कुरूप बनाइदिए। उनी झन्डै मरेर बाँचिन्। एयर होस्टेज बन्ने सपना थियो उनको। घटनापछि उनी हाल बर्न काउन्सेलरको रूपमा कीर्तिपुर अस्पतालमा काम गर्दैछन्।
‘सुन्दरता त व्यवहारले झल्कन्छ। अनुहारमा लागेको दागले कुनै पनि सपना र लक्ष्यलाई रोक्दैन’, जलनमा परेकाहरूलाई सन्देश दिन सुन्दरी प्रतियोगितामा आएको बताउँदै जेनी भन्छिन्, ‘एउटा पिम्पल आयो भने मान्छे माक्स लगाएर हिँड्छन्। तर, मेरोे अनुहार, घाँटी, हात त एसिडले जलेको छ। शरीरभरी दागैदाग छन्। त्यसो भए यो सुन्दर संसारमा नबाँच्ने त ? पीडा बोकेर घरमै लुक्ने त ? त्यसैले पहिला आफैंले आफैंलाई स्वीकार्नु पर्छ।’
त्यसैले सायद सुन्दर अनुहार भएकाहरूको बीचबाट जे जस्तो स्वरूप भए पनि जेनी प्रस्तुत भइन्। थपिन्, ‘सुन्दरी प्रतियोगितामा भाग लिएकी छु। नतिजा जे जस्तो आए पनि मेरो यो पाइलाले हिंसामा परेका महिला दिदीबहिनीलाई अघि बढ्न आत्मबल र ऊर्जा मिल्छ।’ १० वर्षअघि काभ्रेका एक युवकसँग मायाजालमा परेर जेनी वैवाहिक बन्धनमा बाँधिएकी थिइन्। कक्षा ८ मै पढ्दै थिइन्। १४ वर्षकै उमेरमा उनले विवाह गरिन्। केही दिनमै उनले घरभित्रै पतिबाट हिंसामा पर्न थालिन्। मादक पदार्थ पिएर उनका पति घर आउँथे अनि कुटपिट गरेर यातना दिन्थे।
‘धेरै हिंसा सहेपछि छुट्टै बस्न थालें। एक दिन काठमाडौंको रातोपुलमा पिछा गर्दै आयो। ढोका ढक्ढक्यायो। बोलाएपछि गएँ’, जेनी भन्छिन्, ‘मलाई माया गर्ने भएमात्रै जान्छु नत्र जादिनँ भनें। तँ मेरी भइनस् भने कसैको हुन्न दिन्नँ भन्दै अनुहारमा एसिड छ्यापेर भाग्यो।’ जसलाई उनले विश्वास गरेर जोवन सुम्पिइन्। उही जीवनसाथीले एसिड प्रहार गरेर धोका दियो। रातो पुलमै निसासिइन्। सुन्ने र देख्ने धेरै थिए त्यहाँ तर बिलौनाको धेरैले वास्ता गरेनन्।
‘हारगुहार गरेपछि एकजना दिदीले ट्याक्सीमा हस्पिटल लगिन्। अनि म बाँचें’, उनी सुनाउँछिन्। पतिले उनीमाथि एसिड प्रहार गर्दा उनी कक्षा १० पढ्दै थिइन्। थप्छिन्, ‘जीवनसँग हार मानिनँ। आफूलाई अब्बल बनाउँदै लगें। जलेको शरीरको भाग स्कार्पले छोपेर स्कुल जान थालें। कक्षा १२ पढें।’ जुन अस्पतालबाट उनले पुनर्जीवन पाइन्, त्यही कीर्तिपुर हस्पिटलमा अहिले वर्न काउन्सिलरको रूपमा काम गर्छिन् उनी।
गुमेको खुट्टाले रोकेन लक्ष्य
नृत्य भनेपछि बालापनमा चितवनकी ३७ वर्षीया सीता सुवेदी हुरुक्कै हुन्थिन्। १३ वर्षको उमेर हुँदो हो। २०५७ सालमा लागेको क्यान्सरले खुट्टा नै काटेर फाल्नुपर्ने भयो। ‘अब नाच्न पाइँदैन भनेर एफएम रेडियोको गीतमा तीन घण्टा नाचें। अनि पीडा बोकेर खुट्टा काट्न हस्पिटल गएँ’, विगत सम्झँदै उनी भन्छिन्, ‘त्यहाँ साहित्यकार पारिजातकी बहिनी सुकन्या वाइवालाई अस्पतालमा भेटाएँ। उहाँ श्रीमान्को उपचारका लागि जानुभएको थियो। उहाँले एक खुट्टाले पनि नाच्न सक्ने भन्दै थुप्रैको उदाहरण दिनुभयो।’
एसएसली पास भएपछि नाच र गायनको कोर्सका लागि काठमाडौं आइन् उनी। उनले अहिले झन्डै दुई सय विद्यार्थीलाई नृत्य सिकाइरहेकी छन्। उनले पाटन संयुक्त क्याम्पसबाट नेपाली र त्रिविको ललितकला केन्द्रीय विभागबाट गायनमा स्नाकोत्तर गरेकी छन्। सन् २०१८ मा कलानिधि इन्दिरा संगीत महाविद्यालय पुल्चोक, ललितपुरबाट उनले शास्त्रीय नृत्यांगना (कत्थक नाच)को ‘गोल्ड मेडालिस्ट’ भइन्। २०६८ सालमा उनले विवाह गरिन्। पतिसँग विचार मिलेन। अहिले उनी छुट्टिइन्।
‘घरभित्रै हिंसा भोगें। फरक क्षमता भएका मानिस घरबाट बाहिर निस्किनै सकेका छैनन्’, उनी भन्छिन्, ‘लडिरहें। पढें। सुन्दरी प्रतियोगितामा सहभागी भएर अपांगता भएका व्यक्तिको आवाज बन्न सक्छु भनेर यहाँ आएँ।’ विशेषतः अपांगता भएका महिला घर र समाजभित्र धेरै हिंसामा परिरहेका छन्। ‘अपांगता भएका व्यक्तिमा पनि सुन्दरता छ भन्ने दृष्टिकोणबाट जिन्दगीलाई हेर्नुपर्छ’, सीता थप्छिन्, ‘जिन्दगी सुन्दर छ, आफैंले आफैंलाई माया गर्नुपर्छ, स्वीकार्नु पर्छ भन्ने सचेतनाका लागि काम गर्छु।’
प्रतियोगिताले फरक क्षमता भएका महिलालाई सशक्तीकरणमा योगदान दिने रविन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा बताउँछन्। उनी भन्छन्, ‘जेनी र सीता प्रतियोगितामा सहभागी हुनु साहसिक कार्य हो। उहाँहरूले यहाँ आएर आफूलाई अब्बल सावित गर्नुभयो। एकजना एसिडपीडित हुनुहुन्छ भने अर्को ‘वान लेग डान्सर’ जो अरूका लागि प्रेरणाको स्रोत बन्नु भएको छ।’
मिसेस नेपाल वर्ल्ड– २०२३ का विजेताले २०२४ को जनवरीमा अमेरिकामा हुने मिसेस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।
प्रतिक्रिया दिनुहोस !
