सिमरा विमानस्थलमा हवाइ इन्धन डिपो राख्न सम्झौता
![सिमरा विमानस्थलमा हवाइ इन्धन डिपो राख्न सम्झौता](https://annapurnapost.prixacdn.net/media/albums/simara-airport_20220603092519_IhdEqoQIxs_kfxDuUoh8H.jpg)
सिमरा : काठमाडौंबाट छोटो दुरीमा रहेको सिमरा विमानस्थलमा हवाइ इन्धन डिपो राख्न सम्झौता भएको छ। आयल निगमको सिनामंगलस्थित हवाइ इन्धन कार्यालयका प्रमुख प्रदीपकुमार यादव र सिमरा विमानस्थल कार्यालयका प्रमुख सूर्यबहादुर खत्रीले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सम्झौतासँगै अब सिमरा विमानस्थलमा अवतरण गर्ने जहाजले इन्धन भर्न सक्ने छन्। इन्धन भर्ने सुविधा छठलगत्तै सुरु गर्ने गरी सम्झौता भएको हवाइ इन्धन कार्यालयका प्रमुख यादवले जानकारी दिए।
डिपो स्थापना गर्नका लागि नागरिक उड्डयन प्राधिकरण सिमराले पाँच कठ्ठा जमिन उपलब्ध गराउनेछ। सोही जमिनमा हवाइ डिपो स्थापना गरिनेछ।
देशकै पुरानो विमानस्थलमध्येको एक सिमरा विमानस्थलमा हवाइ इन्धन भर्ने डिपो स्थापनाका लागि माग हुँदै आएको थियो। इन्धन भर्ने सुविधा नहुँदा काठमाडौंमा मौसम र `एयर ट्राफिक´का कारण अवतरण गर्न नसकेका जहाज भैरहवा र विराटनगर डाइभर्ट हुँदै आएका थिए।
काठमाडौंबाट छोटो दुरीमा भए पनि डिपो नहुँदा जहाज अन्यत्र पठाइने गरिएको थियो। आन्तरिक हवाइ सेवा प्रदायक संस्थाले पनि सिमरामा इन्धन भर्ने सुविधा उपलब्ध गराउन माग गर्दै आएका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)