धनुषामा पेस्तोल देखाएर लुटपाट
![धनुषामा पेस्तोल देखाएर लुटपाट](https://annapurnapost.prixacdn.net/media/albums/lutpat_k6nIfG2hXv_RsJRyJWw75.jpg)
ढल्केवर : धनुषामा एक घरमा डकैती भएको छ। गएराति धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित रामकेवल महतोको घरमा डाकाहरुको समूहले पेस्तोल देखाएर धनमालहरु लुटपाट गरेको हो।
मध्यराति घर पछाडिको बाटोबाट प्रवेश गरी घरमा डकैती गरेको प्रहरीले जनाएको छ। पीडितको भनाइलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले भने ‘पाँचजनाको समूहमा हातहतियारसहित घरमा प्रवेश गरेको डाँका समूहले नगद, सुनचाँदीको गरगहना, मोबाइलसहितका धनमाल लुटपाट गरेको हो।’
कार्कीले भने,‘पुरुषलाई कोठामा थुनेर महिलाको कोठाबाट नगद र गरगहनाहरु लुटेको छ। बन्दुक देखाएर धनमाल लुटपाट गरेको भन्ने छ। बन्दुकै होला भनेर भन्न सकिँदैन। ’
डाकाहरुलाई प्रतिकार गर्न खोज्दा ज्यान लिने भन्दै पेस्तोल ताकेर मोबाइल फोन, श्रीमतिको मंगलसुत्र लुटपाट गर्दै घरमा रहेको दराज, पेटी फुटाएर नगद, गरगहना डकैती गरेको पीडित महतोको भनाई छ। डाँका समूहले घरबाट नगद ५० हजार, डेढ तोला सुन, ३० तोला चाँदी र ३ सेट मोबाइल फोन लुटेर लगेको उनले बताए। पीडित महतो धन्तेरसका दिन(शुक्रबार) मात्रै महेन्द्रनगरको एक बैंकको एटिएमबाट नगद ३० हजार झिकेर ल्याएको बताए।
घटनामा प्रहरीले खासै चासो नलिएको स्थानीयको आरोप छ। राति १२ बजेको घटनालगतै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जानकारी गराउँदा पनि राति १ बजे मात्रै आएको भन्दै उनीहरुको आक्रोश छ।
यता ईलाका प्रहरी कार्यालय भने घटनाबारे जानकारी पाएपछि डाँका समूहको खोजतलासमा जुटेको जनाएको छ। घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)