संस्कृतिको साहित्यिक सागर

देउडा

संस्कृतिको साहित्यिक सागर

देउडा संस्कृतिमा यति गहिरो भाव भेटिन्छ। साहित्यानुरागीलाई अनुभव भएको विषय नै हो। सम्पूर्ण नेपालको आदिम संस्कृतिका साथै सङ्लो साहित्य पनि हो। 

असोज रमाइला दिन फुली प्याउली फूल
तिर्खा लाग्या खादै रौंला न सुक् पानी मूल !

वसन्त र शरद ऋतुमा फुल्ने प्याउली फूलले जिन्दगी रमाइलो र सुखद छ भन्ने देखाउँछ। यस्तो आशालाग्दो जिन्दगीलाई अझ हराभरा बनाउन र पानी प्यास मेटाउन पानीका मूलहरू नसुक्नु तिर्खा लागेको बेला पानी पिलाउँदै गर्नु प्रकृति।

पृथ्वी मातालाई हृदयबाट नमन गर्दै एकजना कविले सिर्जना गरेको देउडा संस्कृतिमा यति गहिरो भाव भेटिन्छ। साहित्यानुरागीलाई अनुभव भएको विषय नै हो। देउडा लोकसाहित्य केवल सुदूरपश्चिम र कर्णाली प्रदेशको मात्र साहित्यिक फूलबारी रहेन अब। सम्पूर्ण नेपालको आदिम संस्कृतिका साथै सङ्लो साहित्य पनि हो। यसको भाव पक्ष बुझ्ने हो भने महाकवि लक्ष्मीप्रसाद देवकोटाको उच्चतम कृति मुनामदन जस्तै लाग्ने छ।

देउडाका विविध रूप, रंगहरू छन्। सुख, दुःख, हाँसो, रोदन, मिलन–बिछोडका भावपक्षका देउडाले मानिसलाई एक्लिएको अनुभव गराउँदैन। देउडा नै जिन्दगीको अभिन्न अंग हो भन्ने बोध गराउँछ। त्यसैले त देउडाका कविहरू कुनै बेला आफैं हाँस्छन्, आफैं रुन्छन्। अरू बेला सयौं संस्कृतिप्रेमीसँग डेढी कदममा खेल खेल्ने गर्छन्। साहित्यको उच्चतम विशेषता बोकेकोले देउडा भवसागर हो।

भोट भेणा फर्की आइग्या, जुम्ला स्याउ पाकिग्या,
साईको बाटो हेर्दा हेर्दै यी आँखा थाकिग्या।

देउडाले मानिसको कर्म र प्रकृृतिको नियमबारे सरल तरिकाले व्याख्या गरेको पाइन्छ। असार, साउन महिनामा लामा जातिले नुन र उनका लागि भेडाहरू भोेट लैजाने गर्छन्, भदौ महिनामा घर फर्किन्छन्। जुम्ला, कालीकोट, डोल्पालगायत जिल्लामा भदौमा स्याउ पाकेर लटरम्म भएका बेला स्याउका साथै राडीपाखी बिक्रीका लागि भेडालाई नै भरिया बनाएर जाडो मासमा भित्री मधेसमा या तराईंमा झर्ने गर्छन्। यस्तो बेलामा हे प्रिय !

परदेशबाट तिमी कहिले घर फर्कने ? तिम्रो 
बाटो हेर्दाहेर्दै यी आँखा थाकिसके।

कति गहिरो साहित्य बोकेको छ माथिको देउडाले। लाग्छ, कताकता महाकविको मुनामदन खण्डकाव्यको झलक देउडाले पनि बोकेको छ। मुना घर बस्छिन्, धन कमाउन मदन भोट जान्छन्। मदनको आगमनको बाटो हेर्दाहेर्दै मुनाको जिन्दगी आशामा नै बितेर जान्छ। ठीक त्यसैगरी देउडा साहित्यले पनि गीतका गेडीहरूमा भोटको चर्चा, नुन, तेल र सुनको चर्चा प्रशस्तै मात्रामा गरेको पाइन्छ। जस्तो तलको गीतको भावले भन्छ–
भाग्यमानी देश लाग्या मोटर घुइक्याउँदछन्,
अभागी भोटका कुना भारी चुइँक्याउँदछन्।

हो, देश (भारत) जानु सजिलो छ, काम पाइन्छ, भाषा पनि बुझिन्छ र मोटर पनि चलाउने गर्छन् गोरखाली कामदारहरूले। जसलाई कविले भाग्यमानी सम्झेको छ। त्यसको ठीकविपरीत भोट जाँदा बाटो पनि उकालो छ। भाषा पनि बुझिन्न, नुनको भारी बोकेर पिठ्यूमा बडो कठिन जिन्दगी। यसरी जन्मघर फर्किन्छ भरिया। वास्तवमा हाम्रा बाबुबाजेका पालाको उत्तरी सीमाको नेपाली जनजीवन वर्तमानमा सामान्य परिवर्तन भएता पनि रामकहानी भने उस्तै देखिन्छ।

देउडा गीत संगीत र काव्यले समग्र नेपालीलाई हामी भरियाका सन्तान हौं भनी काव्यिक अलंकार दिने गरेको पनि यही कारणले होला। भोटबाट नुनको भारी बोकेर आएको भरिया घरमा पुगेपछि आफ्नो जिन्दगी सम्झन्छ, पितापुर्खाको समय सम्झिन्छ, अनि भविष्यको सुखी जीवनको कल्पना त गर्छ तर, जीवन संगिनी ओखतीको अभावमा बितेकी हुन्छिन्। साथै सामुन्नेमा गरिबीको ठूलो पर्खाल पनि देख्दछ। अनि देउडामा आफ्नो भावना यसरी पोख्दछ –
धारापानी सुकी गयो पण्पानी चुँदैछ,
गयौ प्यारी मलाई छोडी हृदय रुँदै छ।

महाकविको झैं उच्चतम भाव भेटिन्छ यो देउडा गीत, संगीत र साहित्यमा। यी र यस्तै दर्दनाक कथाहरू, व्यथाहरू प्रशस्त मात्रामा भेटिन्छन् देउडा लोकसाहित्यमा।

आखिर के हो त देउडा ? बुझ्नु जरुरी छ। देउडा, डेउडा र ड्यौणा जे भनेर उच्चारण गर्नुहोस् आखिर भाव एउटै हो। सूदुरपश्चिम र कर्णाली प्रदेशको मौलिक लोकसंस्कृति र लोकविधा हो यो। यसका अलवा छिमेकी भारतको उत्तराञ्चलमा पर्ने कुमाउ, गड्वाल, देहरादूनसम्म पनि देउडा गीत, संगीत र साहित्य फैलिएको छ। वि.सं. १८१६ मा सुगौली सन्धि हुनुभन्दा पूर्व नेपालको सीमा पश्चिममा टिष्टासम्म फैलिएको थियो।

नालापानीको युद्धमा अंग्रेजसँगको लडाइँमा पानी प्यासले छट्पटाएका नेपालीहरूले बाध्य भएर अंग्रेजसामु आत्मसमर्पण गरे। देशभक्त अमरसिंह थापा भक्कानिएर रोएँ। पछि उनी गोसाइँकुण्डमा देहत्याग गर्न पुगे भन्ने इतिहासमा वर्णित छ। त्यसबेलादेखि केही नेपाली देहरादूनमा बसोबास गर्दै आइरहेका छन्। नेपाली संस्कृति, रीतिरिवाज मनाउँदै आएका उनीहरूमा पनि देउडा गीत, संगीत र साहित्यको गहिरो छाप बसेको पाइन्छ।
फुल्दै र पैरदै रौंला दोपात्या हजारी,
गाजो काट्नी पूला लाउनी मेलाकी गजारी।

शरदऋतुमा फूल्ने ए ! सयपत्री पूmल (हजारी) तिमी फुल्दै गर भाइटीकाका बेला म पैरदै गर्छु, दिदीबहिनीलाई पनि सम्झिँदै गर्छु। जसरी सुकेको घाँस (गाजो) काटेर घसारी (गजारी) ले पालेको गाईको सम्झना गर्छिन्। कल्पना गर्नुहोस्, कस्तो साहित्य बोकेको छ देउडाले।

डेढी कदममा खेलिने खेल पनि हो देउडा। हातमा हात समातेर डेढ कदम खुट्टा उचालेर बायाँबाट दाहिने तिर अघि सर्दै गीतको लयअनुसार कदम चलाउनु र गीतमा पनि सँगसँगै गाउनु यसको परमधर्म हो। गीतको भाका बुझेर गाउँदा गोडाको पनि कदम मिलाएर गाउँदै गोलाकार रूपमा घुम्नु देउडाको अर्को परम्परा हो। नियमबद्ध छ देउडा गीत। यदि बीचमा एकजनाले गोडाको कदम बिगार्‍यो, गाउँदा लय (भाका) बिगार्‍यो भने त्यसको असर सम्पूर्ण खेलाडीमा पर्छ र खेल (नृत्य) भताभुंग हुन्छ।

त्यसैले निक्कै होशियारी हुनुपर्छ देउडा नृत्य गर्ने खेलाडीले। जुन सवाल जवाफमा आधारित (दोहोरीपन झल्कने) हुन्छ। यसरी तुरुन्त गीत रचना गर्ने व्यक्ति नै आँसु कवि हुन। खेलमा हारजित हुन्छ। दुई समूहमा विभाजित सो खेलमा दुवै पक्षका गीतांगी (तुरुन्त सबालजवाफ गर्ने व्यक्ति) निक्कै चलाखीपूर्ण तरिकाले गीतहरू रचना गर्ने गर्दछन्। बिसु पर्व, गौरापर्व र अन्य मेलापर्वहरूमा सबै जना मिलेर सुख, दुःख बाँड्दै देउडा खेलिन्छ भने यसलाई देउडा संस्कृति भनिन्छ।

डाडी भाका देउडा गीतको प्राण हो। जुन वियोगान्त र करुणरसमा आधारित हुन्छ। कानमा हात राखेर विरही भावमा मनका वेदनाहरू बिनाताल एउटै सुरमा गाउन सक्ने कलाकार पनि आँसुकवि हुन्। ती आँसुकविका गीतहरू सुन्दा आँसु खस्छ। यी गीतले देउडाको सङ्लो र गहिरो साहित्य बोकेको हुन्छ। यिनै देउडाहरू जुन प्राकृतिक सौन्दर्यका साथै जीवनका आरोह, अवरोधसम्बन्धी, घटनाक्रमसम्बन्धी व्यक्त भएका हुन्छन्। ती भावहरू नै विशुद्ध साहित्य हुन्।

त्यसैले धेरैले व्यक्त गर्दै आएका अर्थ र सुन्दै आएका गीतहरू केवल मनोरञ्जन दिलाउने साधनमात्र होइनन। यी त गहिरो भाव बोकेका साहित्यका अनमोल भण्डार हुन्, प्रकृतिका अलिखित महाकाव्य हुन्। जसलाई जिज्ञासुहरूले पढ्न सक्छन्, सुन्न सक्छन् र दिमागमा कैद पनि गर्न सक्छन्। जसलाई देउडा साहित्य भनिन्छ। अब रह्यो देउडा गीतको परिभाषा।

एउटा कुनै गीतलाई संगीतमा ढालेर सुर, ताल नबिगारी एकल अथवा दोकल कलाकारले शैलीबद्ध रूपमा स्टुडियोमा गाउँछन् भने त्यसलाई गीत गाएको भनिन्छ। संगीतको मीठो शैलीमा गाएकाले ती गीतहरू लोकप्रिय बन्छन्। लय र शब्द नबिगारी गाएका गीतहरू हालसम्म जीवन्त बन्दै आएका छन्।
बारीको खेत बगाई लैगो पारिका खोलाले, 
राधिकाको दर्शन होइझाऊ कृष्णाका चोलाले।

देउडा लोकसाहित्य बन्न देउडाका दुईवटा हरफ हुनु जरुरी छ। एउटामा १४ र अर्को हरफमा १४ वटा अक्षर गरी २८ वटा अक्षर रहेका हुन्छन्। यिनै २८ अक्षरलाई कण्ठमा राखी साहित्यप्रेमी, संगीत र संस्कृतिप्रेमीले आफ्नो शैलीमा प्रस्तुत गर्ने गर्छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.