उठिबास लाग्ने त्रासमा माझीबस्ती

उठिबास लाग्ने त्रासमा माझीबस्ती

सिन्धुपाल्चोक : यस वर्ष दीपावलीमा पनि चन्द्रमाया माझीको मुहार मलिनै रह्यो। बत्तीको झिलिमिलीले मनको अँध्यारो हट्न सकेन। बरु, मनमा पीर परिरह्यो– कुन बेला घर लिलाम हुने हो ?’ नहोस् पनि किन ? असोज ४ गते बैंकले घर लिलामीको सूचना जारी गरेपछि चन्द्रमायाका लागि न दसैं, न दीपावली।

यो पीडा चन्द्रमायाको मात्र होइन। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित इन्द्रावती नदी किनारमा रहेको झ्याँडी एकीकृत नमुना माझी बस्तीका ३ सय २२ जनाको सामूहिक पीडा हो। बस्तीका ५३ घरमध्ये ३९ घर धनीले ऋण कर्जा चुक्ता भुक्तानी नगरे लिलामी गरिने सूचना लक्ष्मी सनराइज बैंकले जारी गरेपछि उनीहरूमा चिन्ता थपिएको हो।

‘के गर्ने, कसो गर्ने भन्ने चिन्ताले मात्रै पिरोलिरहेको छ,’ चन्द्रमायाले भनिन्, ‘चाडबाड त मन खुसी भए पो रमाइलो हुने हो, मनभरि पीर बोकेर कसरी हाँस्नु ?’ यसो भनिरहँदा उनको दृष्टि घरतर्फ मोडियो, ‘घरै छैन भने जिन्दगीको भर पनि कम लाग्ने रहेछ, बुढेसकाल लागिसक्यो। थातथलो छाडेर कहाँ जानु ?’, उनले निसाशासँगै चिन्ता व्यक्त गरिन्।

बैंकले असोज ४ गते ३५ दिने सूचना जारी गरी ऋण कर्जा चुक्ता भुक्तानी गर्न भनेको थियो। ऋणीहरूले बैंकबाट उपयोग गरेको कर्जाको बक्यौता रकम तिरी कर्जा नियमित गर्न कर्जा सिफारिसकर्ता स्वेता श्री फाउन्डेसन र ऋणी तथा जमानतकर्तालाई पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दासमेत बेवास्ता गरी कर्जा नियमित नगरेको भन्दै लिलामीको सूचना जारी गरेको थियो।

बैंकले जारी गरेको सूचनाको समयावधि कात्तिक ९ गते नै सकियो। ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका माझीहरूले ऋण तिर्न नसक्ने भन्दै उत्प्रेषण लगायतको आदेश जारी गरी पाउँ भनी उच्च अदालत पाटनमा निवेदन दिए। उच्च अदालत पाटनले बैंकले जारी गरेको असोज ४ गतेको उक्त लिलामी प्रक्रियाको सूचना कात्तिक २४ गतेसम्म कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्‍यो। अदालतले जारी गरेको अल्पकालीन आदेशको समयावधि पनि सकिसक्यो। अब के हुने ? भन्ने त्रासमा माझीहरू छन्। 

कसरी तिर्नु ऋण ?

२०७२ सालको भूकम्पपछि त्रिपालमा बस्दै आएका इन्द्रावती नदी किनारका माझीहरूलाई अभिनेत्री स्वेता खड्काले स्वेता श्री फाउन्डेसनमार्फत घर बनाइदिने प्रस्ताव गरिन्। विपन्न माझी समुदायले प्रस्तावलाई सहर्ष स्वीकार गरे। ०७४ जेठ १५ बाट झ्याँडी एकीकृत नमुना माझी बस्ती निर्माण सुरु भयो।

तर, त्यही बेलाको करिब ४ लाख रुपैयाँ ऋणमा डुबे, माझीहरू। आर्थिक उपार्जनको बाटो नभएका कारण उनीहरूलाई यो ऋण सकस भइरहेको छ। बिहान बेलुकीको छाक टार्न ज्याला मजदुरी गर्नेहरू थप ऋण थाप्लोमा आइलाग्दा मारमा परेका हुन्।

निर्माण सुरु भएको दुई वर्षपछि बस्ती निर्माण भयो। टहरोमा जीवन गुजार्दै आएका ५५ वर्षीया लक्ष्मी माझी र उनका पति ज्ञानबहादुर माझीलाई ०७६ को दशैंको फूलपातीको दिन नयाँ घरमा सर्दा संसारकै सबैभन्दा खुसी लागेको थियो। तर, अहिले त्यो खुसीले सह नै गाह्रो पर्ने पीडा दिएको छ। ‘घरमा सर्दा संसारकै खुसी पाएको जस्तो लागेको थियो’, लक्ष्मीले भनिन्, ‘तर अहिले बैंकले घरजग्गा सबै लिलाम गर्ने भनेको छ। संसारकै सबैभन्दा अभागी हामी दुःखी नै पो हौं कि भन्ने लाग्छ। अब हामी कहाँ जाऔं ?’

जीवनै धान्न धौ–धौ परिरहेका बेला ऋणको बोझले झन् पीर थपेको चन्द्रमाया सुनाउँछिन्। ‘बिहान बेलुका छाक टार्नै गाह्रो छ, बच्चालाई खान दिनु कि भोकै राख्नु भन्ने अवस्था छ’, उनले भनिन्, ‘४ लाख साउँ र त्यसको ब्याज कसरी तिर्नु ?’ ऋणकै पीरले कक्षा ७ पढ्दै गरेकी छोरीले विद्यालय छाडेको उनले बताइन्।

‘आम्दानीको स्रोत केही छैन कसरी पढ्नु भनेर छोरी स्कुल जानै छोडी। अहिले ज्यामी काम गर्छे’, उनले भनिन्, ‘अर्काको जग्गा किनेर घर बनाइयो। जग्गाको ऋण बल्ल–बल्ल तिरियो। बेचुँ भने पनि सबै बैंकमा छ, अब ऋण तिर्न सक्ने केही उपाय नै छैन।’ ऋणको बोझ सम्झँदा इन्द्रावतीमा फाल हालौं कि भन्ने सोच आउने गरेको उनले बताइन्।

स्वेता खड्का र स्वेता श्री फाउन्डेसनले आपूmहरूको उठिबास नै लगाउन खोजेको मिलन माझी बताउँछन्। ‘घर लिलामी प्रक्रियामा गयो भने हाम्रो उठिबास नै हुन्छ, जाउँ भने पूर्खादेखिको ठाउँ नै यही हो कहाँ जानु ?’, उनले भने। जीविकोपार्जनमा सहयोग गर्छु भनेको भएर ऋण लिन सहमत भएको गाजली माझी बताउँछिन्। ‘उहाँले हामीलाई रोजगार दिन्छु, जीविकोपार्जनमा सहयोग गर्छु भन्नु भएको थियो’, उनले भनिन्, ‘न अहिले रोजगारी छ, न त कमाउने ठाउँ नै छ। त्यो ऋण कसरी तिर्नु ?’

आफैंले दुःख गरेर बनाएको घर स्वेताले आपूmले बनाइदिएको भन्ने, तर ऋणचाहिँ आफूहरूको थाप्लोमा पारिदिएकोमा रोष व्यक्त गर्छन्, सीताराम माझी। ‘बस्ती बनाइदिएको हो भन्नेले ऋण पनि तिरिदिनुपर्‍यो नि !,’ उनले भने, ‘उहाँको योगदान इन्जिनियरिङ पाटोमा मात्रै हो। हामीले नै दुःख गरेर घर बनाएका हौं। उहाँले हामीलाई ऋणको भारी मात्रै बोकाइदिनुभयो।’ 

स्वेताकै कारण ऋणमा डुबेको मैया माझी बताउँछिन्। ‘घर बनाइदिनुहुन्छ भनेर हामी सबै खुसी भयौं। तर, ऋणमा पो पारिदिनुभयो। ऋण कसरी तिर्नु ?’ उनले भनिन्, ‘हामी गरिबको केही रोजगार छैन। घरै छोडेर जानु न बस्नुभएको छ। उहाँले बस्तीलाई बिचल्ली पार्नुभयो। हामी अहिले ऋणमा डुबेका छौं।’

माझी समुदायलाई समस्यामा पारेर स्वेता खड्का र स्वेता श्री फाउन्डेसन पन्छिन् खोजेकोे स्थानीय सरकारको ठम्याइ छ। ‘स्वेता श्री फाउन्डेसनले नमुना बस्ती बनाएको छ भनेर देशभर नै चर्चा छ तर माझीहरूलाई चाहिँ ऋण कसरी तिर्ने भन्ने चिन्ता छ’, चौतारा साँगाचोकगढी नगरपालिका–१४ का वडा अध्यक्ष उद्धव नेपाल भन्छन्, ‘नाम कमाइसकेपछि त्यसको जस पनि कसरी लिने भन्ने फाउन्डेसनले जान्नुपर्छ। उहाँहरूले यसरी बिचल्ली बनाएर पन्छनुहुँदैन।’

यता स्वेता श्री फाउन्डेसनकी अध्यक्ष स्वेता खड्का भने घर बनाउने सम्झौता हुँदा नै बैंकबाट लिएको ऋण माझी समुदायले नै तिर्ने निर्णय भएको बताउँछिन्। ‘घर निर्माणका लागि प्राविधिकहरूले तयार गरेको अनुमानित लागत ८ लाख २५ हजार थियो। केही दाताहरूले ढोकालगायत जस्तापाता सहयोग गर्ने प्रतिबद्धता जनाएअनुरूप सो सामग्रीको मूल्य कटाएर ७ लाख मूल्यमा बनाउन सकिन्छ भनी अन्तिम लागत मूल्य निर्धारण गर्ने पनि स्थानीयवासी नै हुन्’, उनले भनिन्, ‘घर निर्माणको सम्पूर्ण जिम्मेवारी बोक्ने पनि निर्माण समिति नै हो। सरकारी अनुदान बाहेक अन्य नपुग रकम ४ लाख ऋण स्वरूप लक्ष्मी सनराइज बैंक (तत्कालीन लक्ष्मी बैंक) बाट लिने भनेर साझा सहमति जुटाउने पनि स्थानीय उपभोक्ता समिति नै हो।’

घर निर्माणको पाटोमा ४ लाख ऋण बोक्नुपर्छ भन्ने थाहा भएरै बस्ती निर्माणका लागि तयार हुने ५३ परिवारमध्येका केही व्यक्तिले अहिले आएर आफूलाई नयाँ घर घाँडो भएको, ऋण थपिदिएको भन्नु नाजायज भएको उनले बताइन्। ‘फाउन्डेसनको तर्फबाट जग्गा सम्याउने, प्राविधिक सहयोग गर्नेलगायत निर्माणका लागि आवश्यक इकुपमेन्ट तथा औजारहरू सहयोग गर्ने भनि पूर्वसहमति भएको थियो। ऋणको विषयमा थिएन’, उनले भनिन्।

‘माझी बस्तीको समस्या मलाई थाहा छ,’ स्वेताले भनिन्, ‘उहाँहरूलाई ऋण बोकाउनु मेरो ध्येय होइन। उहाँहरूलाई बैंकको ऋण तिर्न सक्ने बनाउन हामी विभिन्न आयआर्जनका सीपहरू प्रदान गर्नेछौं। बैंकको ऋण त उहाँहरूले नै तिर्ने हो, ऋण तिर्न सघाउ पुर्‍याउनु मेरो दायित्व हो।’ माझी बस्ती बनाउन आफूले उत्प्रेरकको मात्र काम गरेको उल्लेख गर्दै स्वेताले बस्ती निर्माण माझी समुदाय आफैंले गरेको बताइन्।

‘एनजीओहरूले सबै कुरा गरिदिनुपर्छ’ भन्ने परनिर्भरताको सोचलाई चिर्नको लागि जनताको सहभागिता र लगानीलाई आत्मसाथ गरिएको उनले बताइन्। ४ लाख ऋण बोकेका माझी परिवारले ऋण मात्रै देख्नु तर आफ्नो अचल सम्पत्तिको मूल्य बढेको नदेख्नु बिडम्बनापूर्ण भएको उनको भनाइ छ।

कसरी आयो यो अवस्था ?

२०७२ साल वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका धक्काको केन्द्रबिन्दु सिन्धुपाल्चोक नै भइरहेका बेला यहाँका नागरिक कष्टमा थिए। वैशाख १२, वैशाख २९ लगायतमा गएका भूकम्पका ठूला धक्काहरूले घरहरू भत्काएको मात्र थिएन, अब कसरी बाँच्ने होला भन्ने चिन्ताले सताएको थियो। भूकम्पले सर्वनास गरेपछि सरकारले क्षति पुगेका घरका लागि प्रतिघर ३ लाख रुपैयाँ दिने निर्णय गरेको थियो, त्यतिबेला। सोही रकम वितरणका लागि पुनर्निर्माण प्राधिकरणसमेत गठन गरी रकम वितरण गर्न सहजीकरण गरेको थियो सरकारले।

भूकम्पले सर्वस्व लगेपछि नागरिक पीडामा रहेका बेला स्वेता खड्काको अगुवाइमा स्वेता श्री फाउन्डेसनले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ को माझी समुदायको ५३ घर अर्थात् पूरै बस्ती बनाइदिने घोषणा गर्‍यो। नायिका खड्काले आफ्नै नाममा खोलेको सो फाउन्डेसन त्यतिबेला चर्चामा थियो। नायक श्रीकृष्ण श्रेष्ठको निधन भएका कारण पनि स्वेताले दर्शकको सहानुभूति पाइरहेकी थिइन्। 

०७४ जेठ १५ मा बस्ती निर्माण शुभारम्भ हुँदा त्यहाँका नागरिक कम्ती खुसी थिएनन्। माझी बस्ती निर्माण हुने भएपछि इन्द्रावती नदी किनारको झ्याँडी टोलको रौनक नै फरक थियो। नायिका खड्काले निर्माण गर्ने भनिएको सो बस्ती हेर्न मुलुकका चर्चित कलाकारदेखि सेलीब्रेटीहरू पनि त्यहाँ पुगेका थिए। 

फाउन्डेसनकी अध्यक्ष खड्का र पुनर्निर्माण प्राधिकरणका तत्कालीन कार्यकारी प्रमुख डा. गोविन्द पोखरेलले बस्तीन निर्माणको शिलान्यास गरेका थिए। आवास निर्माणका लागि ३ लाख सरकारी अनुदान र ऋण गरी ३ करोड ७१ लाख जुटाउने र समग्र भौतिक संरचना निर्माणमा फाउन्डेसनले २ करोड ९ लाख रुपैयाँ सहयोग गर्ने गरी एकीकृत बस्ती विकासको काम थालिएको थियो।

स्वेता श्री फाउन्डेसनले बस्ती निर्माणका लागि देश विदेशबाट पैसा संकलन गर्‍यो। नेपालकै कतिपय बैंक तथा वित्तीय संस्थाहरूले सो संस्थालाई सहयोग पनि गरे। माछापुच्छ्रे बैंकले ७ लाख रुपैयाँ सहयोग गरेको सो बस्ती निर्माणमा अन्य थुप्रै संघ–संस्थाहरूले पनि सहयोग गरेका थिए। भौतिक पूर्वाधार मन्त्रालयले १ करोड २१ लाख ६१ हजार ७ सय ५८ रुपैयाँ बस्ती निर्माणको लागि छुट्ट्याएको थियो।

बस्ती निर्माण प्रारम्भ भए लगत्तै फाउन्डेसनले निर्माणका लागि रकम अपुग भएको भन्दै स्थानीयलाई बैंकसँग ऋण लिन अनुरोध गर्‍यो। बैंकले माझी समुदायलाई ऋण दिन आनाकानी गरेपछि फाउन्डेसन जमानत बस्ने गरी लक्ष्मी सनराइज बैंक (तत्कालीन लक्ष्मी बैंक) चौतारा शाखाबाट २ करोड ७३ लाख रुपैयाँ ऋण लिएर बस्ती निर्माण सुरु गरिएको थियो। 

प्रतिघर ४ लाख रुपैयाँ बैंकले दिएको ऋण र पुनर्निर्माण प्राधिकरणले दिएको ३ लाख गरी ७ लाख रुपैयाँमा घर बनाइएका थिए। तर, ऋण, ती सोझा माझीहरूको थाप्लोमा थियो। जुन कुरा कतिपय माझीहरूलाई सुरुमा थाहासमेत थिएन। 

दिनभर कमाएर बिहान बेलुकीको छाक टार्ने माझीहरूसँग किस्ता तिर्ने हैसियत पनि थिएन। ऋणबापतको रकम माझी स्वयम्ले तिर्ने भन्ने सम्झौता भएको स्वेताको तर्क छ। तर, माझीहरू त्यस विषयमा थाहा नभएको र सहयोग आएकाले खड्काले भनेअनुसार कागजातमा ल्याप्चे हानेको बताउँछन्। फाउन्डेसन सो ऋणमा ग्यारेन्टी भने बसेको थियो र सोहीअनुसार ऋण प्रवाह भएको थियो। 

सम्झौताको बुँदा नम्बर ५ मा फाउन्डेसनको दायित्वबारे पनि उल्लेख छ। तर, बैंकमा धितो भने माझी समुदायकै जग्गा राखिएको थियो। यसको अर्थ ऋण तिर्न नसकेको अवस्थामा माझीहरूकै जग्गा लिलाम हुने सर्त थियो। जुन सर्तका बारेमा कतिपय माझीहरू जानकार नै थिएनन्।

बैंकले ऋण दिएपछि त किस्ता उठाउनु नै पर्‍यो। तर, बैंकलाई लामो समयसम्म सावाँ र ब्याज आएन। माझीहरूले तिर्न सक्ने स्थिति यसै पनि थिएन। स्वेता फाउन्डेसनले पनि ऋण तिर्ने कुरामा खास मतलब गर्न छोड्यो। लामो समयसम्म किस्ता नतिरेपछि बैंकले ०८० असोज ४ गते लिलामी प्रक्रियाको सूचना निकाल्यो।

बैंक (साविक लक्ष्मी बैंक) र स्वेता श्री फाउडेसनबीच भएको कर्जा लगानीसम्बन्धी सम्झौताबमोजिम स्वेता श्री फाउन्डेसनको सिफारिसमा ऋणीहरूले बैंकबाट उपयोग गरेको कर्जाको बक्यौता रकम तिरी बुझाई कर्जा नियमित गर्नका लागि कर्जा सिफारिसकर्ता स्वेता श्री फाउन्डेसन र ऋणी तथा जनमानकर्तालाई पटक–पटक लिखित तथा मौखिक ताकेता गर्‍यो। यति गर्दासमेत बेवास्ता गरी कर्जा नियमित नगरेका कारण सूचना निकाल्नु परेको बैंकले जनाएको छ। 

बैंकको ऋण त उहाँहरूले नै तिर्ने हो। उहाँहरूलाई बैंकको ऋण तिर्न सक्ने बनाउन हामी विभिन्न आयआर्जनका सीपहरू प्रदान गर्नेछौं।  
श्वेता खडका,श्वेता श्री फाउण्डेसन

‘बैंक र स्वेता श्री फाउन्डेसनबीच ०७५ असार २६ गते भएको सम्झौताबमोजिम उपरोक्त ऋणीहरूलाई कर्जा प्रवाह भएको र सम्झौताको दफा ५ बमोजिम ऋणीले कर्जा नतिरेको खण्डमा बाँकी बक्यौता कर्जा तिर्ने दायित्व स्वेता श्री फाउन्डेसनको हुनेछ भनी सम्झौता भएको हुँदा सो सम्झौताबमोजिम बैंकको कर्जा चुक्ता गर्नु अनुरोध गरिँदा पनि नतिरेपछि सूचना जारी गरिएको हो’, बैंकले भनेको छ, ‘ऋण र ब्याज नतिरे हामी कानुनबमोजिम ऋणी र स्वेता श्री फाउन्डेसन उपरसमेत आवश्यक कारबाही चलाउँछौं।’ फाउन्डेसनकै जमानतमा बैंकले पीडितलाई २ प्रतिशत ब्याजमा सहुलियत ऋण उपलब्ध गराएको थियो। माझीहरूको सो घर बैंकको ऋणले मात्र बनेको थिएन। बरु सरकारले दिएको ३ लाखसमेत सो घरमा परेको थियो। अझ कतिपय माझीहरूले त ऋण लिएर भन्ने थाहा पाएको भए घर नै बनाउनु किन पथ्र्यो र, जसोतसो जीविका टरिहाल्थ्यो वा सरकारले दिएको रकममै पनि गाउँमा बस्ने घर बन्थ्यो नि भनिरहेका छन्। 

आफूले सरकारको सहयोगमा समेत र दातृसंस्था स्वेता फाउन्डेसनमार्फत पैसा पाएर घर बनाएको र अहिले आएर बैंकले लिलामी गर्न लागेको भन्दै बैंकको सूचना आएको केही दिनपछि स्थानीय ६० परिवारले उच्च अदालतमा लिलामी प्रक्रिया रोक्न माग गर्दै रिट दायर गरेका थिए। माछा मार्नु, बालुवा झिक्ने जस्ता काम गरेर माझी परिवारलाई महिनामा सात हजार जुटाउन मुस्किल पर्ने र ऋण तिर्न नसक्ने भन्दै उनीहरूले अदालत गुहारेका हुन्। 

के छ रिटमा ?

२०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पको कारण हामी निवेदकहरू घरबारविहीन हुन पुगेको र तत्कालीन समयमा सरकारबाट भूकम्पको कारण पूर्णरूपमा क्षति पुगेका घरहरूलाई तीन किस्ता गरेर पुनर्निर्माणका लागि ३ लाख रुपैयाँ दिने भनी निर्णय भएकोमा हामी माझी बस्तीका सबैले उक्त पुनर्निर्माणबापत प्राप्त हुने रकमले जे जस्तो घर निर्माण हुन्छ सोही अनुसारको घर निर्माण गर्ने मनसाय बनाइ बसेको अवस्थामा विपक्षी स्वेता श्री फाउन्डेसनका अध्यक्ष स्वेता भन्ने रन्जना खड्काले ‘भूकम्पले भत्काएको तपाईंहरूको घरको पुनर्निर्माणका लागि मेरो फाउन्डेसनले सहयोग गर्छ भनी प्रस्ताव गरेपछि मुलुककै विख्यात नायिकाको प्रस्तावमा हामी विश्वस्त भयांै। 

नाम कमाइसकेपछि त्यसको जस पनि कसरी लिने भन्ने फाउन्डेसनले जान्नुपर्छ । माझी समुदायलाई यसरी बिचल्ली बनाएर पन्छनु हुँदैन।
उद्धव नेपाल,वडा अध्यक्ष

निजको प्रस्तावबमोजिम भूकम्पले भताभुङ पारेपछि उदास र उदेक लाग्दो यो अवस्थाबाट एउटा सुन्दर, शान्त र मनमोहक बस्ती बनाउने र त्यसको लागि सरकारले दिने अनुदानसमेत गरी नपुग थप रकम हाललाई हामीहरूको जग्गा धितो राखी प्राप्त भएको रकम प्रयोग गर्ने र पछि उक्त ऋण रकमको सावाँ ब्याज विपक्षी फाउन्डेसनले बेहोर्ने र सो सम्पूर्ण कामको जिम्मा विपक्षी फाउन्डेसन र विपक्षी मध्येकी स्वेता भन्ने रन्जना खड्काले भनेपछि हामी निवेदकहरूले सोहीबमोजिम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट प्राप्त भएको ३ लाख रुपैयाँ र साविकको लक्ष्मी बैंकमा हाम्रो घडेरी जग्गा धितो राखी सहुलियत ऋण सहयोगमा चौतारा साँगाचोकगढी–१४ मा अवस्थित हामीहरूको जग्गामा एकीकृत नमुना माझी बस्ती निर्माण भएको हो। 

यसरी उक्त नमुना बस्ती निर्माण सम्पन्न भई हाल हामीहरूले बसोबास गरिरहेका थियौं भने बैंकबाट लिएको ऋणको सावाँ ब्याज हामी भुक्ता गर्न सक्दैनांै तसर्थ सो सावाँ ब्याज तपाईंले नै अबिलम्ब भुक्तानी गरी दिनुहोस् भनी विपक्षीमध्येको स्वेता श्री फाउन्डेसन र उक्त फाउन्डेसनको अध्यक्ष विपक्षी मध्येका स्वेता भन्ने रन्जना खड्कालाई पटक–पटक जानकारी गराउँदा तपाईंहरू ढुक्क हुनुस् हामी सहयोग गर्ने छौं भनी आश्वासन दिनु भए तापनि हालसम्म कुनै सहयोग प्राप्त हुन सकेको थिएन। यसैबीच २०८० असोज ४ गते अचानक ऋण कर्जा चुक्ता गर्ने भनी हामीहरूको नामसमेत प्रकाशित गरी विपक्षी बैंकबाट ३५ दिने सूचना जारी गरिएको रहेछ। 

हाम्रो खेतीपातीले वर्षभरि खानसम्म नपुगिरहेको अवस्थामा तथा भएको रकमसमेत घर निर्माण गर्दा आर्थिक भार परेको अवस्थासमेतमा विपक्षी बैंकहरूलाई भुक्तानि दिनुपर्ने मासिक किस्ता रकम तिर्नका लागि हाम्रो कुनै आय उपाए नरहेको प्रष्ट छ। वर्षभरि खेतीपाती तथा नदीमा माछा मारेर आएको रकमले खानसमेत नपुग्ने अवस्थाका हामीले मासिक रूपमा करिब ७ हजार रुपैयाँको ऋण किस्ता तिर्नमाथि उल्लेखित कारण तथा बेरोजगारी समेतले गर्दा असमर्थ रहेकोमा हामीहरू समेतको नाममा लिलामीको सूचना प्रकाशित गरी कर्जा तिर्न आउनु होला भन्ने पत्राचार भएको थियो।

हामीहरूले यस सम्बन्धमा के रहेछ ? हामीहरूको कर्जा तिर्ने तथा घर निर्माण सम्बन्धमा सम्पूर्ण व्यवस्थाहरू मिलाइसकेको छौं भनी विपक्षी फाउन्डेसनले आश्वासन दिएकोमा हाल कसरी हाम्रो नाममा सूचना जारी भएको हो भनी स्वेता श्री फाउन्डेसनका अध्यक्ष स्वेता भन्ने रन्जना खड्कालाई सम्पर्क गर्दा कुनै चासो र प्रतिक्रिया नदिएको र बैंकमा बुझ्न जाँदा उक्त रकम नतिरे नबुझाए हामीहरू बसोबास गरिरहेको जग्गासमेत लिलाम गरी रकम असुलउपर गर्ने सक्ने भन्ने जवाफ प्राप्त भयो। 

तसर्थ साविक लक्ष्मी बैंकबाट कायम हुन आएको विपक्षी लक्ष्मी सनराइज बैंक चौतारा शाखा सिन्धुपाल्चोकबाट जारी भएको पत्र र बैंकले प्रकाशित गरेको सूचनाको सम्बन्धमा भए गरेका सम्पूर्ण निर्णयबिरुद्ध अन्य वैकल्पिक उपचारको अभावमा प्रस्तुत रिट निवेदन लिई यस सम्मानित अदालत समक्ष उपस्थित भएका छौं।

अनियमितताको आरोप 

एकीकृत बस्ती निर्माणको क्रममा नायिका खड्काको संस्था स्वेता श्री फाउन्डेसनलाई अनियमितता गरेको आरोपसमेत लागेको छ। बस्ती निर्माणमा लागेकी खड्कालाई यस्तो आरोप लगोपछि सांसदसहितको टोलीलाई बस्ती निर्माण स्थलमा राखेर फाउन्डेसनले सार्वजनिक सुनुवाइसमेत गरेको थियो। फाउन्डेसनले बस्ती निर्माणमा अनियमितता नगरेको प्रष्ट्याएको थियो।

तर, स्थानीयले फाउन्डेसनले बस्ती बनाउन के कति खर्च लाग्यो र के कति रकम उठ्यो भन्ने सार्वजनिक नगरेको बताउँदै आएका छन्। ‘फाउन्डेसनले बस्ती बनाउन भन्दै देश विदेशबाट पैसा संकलन गरेको छ’, स्थानीय दिनेश माझीले भने, ‘तर अहिलेसम्म के कति उठ्यो र कति खर्च भयो भन्ने फाउन्डेसनले सार्वजनिक नगरेकाले हामीलाई फाउन्डेसनले तलमाथि गरेको भन्ने शंका छ।’ स्वेताले सुरुमा पैसाको लगानी फिर्ता हुने शर्तमा गरिएको र उनले बस्तीमा थप कुनै सहयोग र लगानी नगरेको माझीहरूको भनाइ छ।

घरै छैन भने जिन्दगीको भर पनि कम लाग्ने रहेछ । बुढेसकाल लाग्यो, थातथलो छाडेर कहाँ जानु ?  चन्द्रमाया माझी, स्थानीय

खड्काले भने आफूले बस्ती निर्माण गर्न फिल्म, विज्ञापन लगायतबाट कमाएको धेरै रकम खर्च गरेको बताइन्। तर, यति नै रकम सहयोग गरेंँ भन्ने हिसाब आपूmले नराखेको उनले बताइन्। स्वदेश र विदेशका विभिन्न व्यक्ति र संस्थाबाट बस्ती बनाउनका लागि उठाएको रकमको हिसावकिताब स्वेता श्री फाउन्डेसनले सार्वजनिक पनि  गरेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.