सीमावर्ती मेची नदी किनारमा छठ पूजाको तयारी (फोटोफिचर)
झापा : नेपाल–भारतको सीमा नाकासँग जोडिएको मेची नदी किनारमा छठ पूजाको तयारी पूरा भएको छ। आज बेलुका अस्ताउँदो सूर्य र भोलिपल्ट सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै मनाइने तराईवासीको मुख्य चाड छठ पर्व हर्षोल्लासका साथ मनाउन मेची नदी नयाँ बेहुलीझैँ सिँगारिएको छ।
जिल्लाकै सबैभन्दा फराकिलो र लामबद्ध छठ मनाइने मेची नदी किनारमा नेपाल र भारत दुवै देश व्रतालु परिवार एकसाथ छठ पूजा मनाउने गरेको यहाँको छुट्टै विशेषता रहेको छ। भद्रपुर-५ स्थित मेची नदी किनारको मसानघाटदेखि मेची पुलको मुख्य प्रवेशद्वार हुँदै देवी बस्तीसम्मको करिब डेढ किलोमिटरमा सयौँ घाट निर्माण गरिएको छ।
पूजा स्थलमा पण्डाल, केराको बोट, विभिन्न प्रकार फूल, विभिन्न रंगका अबिरसहित झिलिमिली बत्ती लगाएर सजावट गरिने काम पूरा भइसकेको मैथिल समाज भद्रपुरका अध्यक्ष रमेशचन्द्र झाले जानकारी दिए।
नदी पूर्वपट्टिको भागमा भारतीय व्रतालु र पश्चिम पट्टीको भागमा नेपालका व्रतालुले नदीलाई सङ्गम स्थल बनाएर सूर्य भगवानको पूजा आराधना गर्दै आइरहेकोले यहाँ मनाइने छठको कोशी प्रदेशमै छुट्टै पहिचान ओगटेको अध्यक्ष झा बताउँछन्।
‘यस पटक नदी पूर्वपट्टिबाट बगिरहेकोले नदीमा छुट्टै अस्थायी बाँसको पुल बनाइएको छैन,’ अध्यक्ष झाले भने, ‘नदी किनारमा यस पटक फराकिलो स्थानमा भएकाले भीडभाडलाई व्यवस्थापन गर्न सहज हुन्छ।’
नदीमा किनार वरिपरि बिजुली बत्ति जडान, सरसफाइ, खानेपानी व्यवस्थापन, सुरक्षा बिट, स्वागत गेट, हेल्प डेस्क, सूर्य भगवानको मूर्ति स्थल निर्माणको काम पूरा गर्न करिब ६ लाख रुपैयाँ खर्च लागेको छ। उता देवीबस्ती क्षेत्रमा युनिक समूहले व्रतालु परिवारजनका लागि छुट्टै घाट निर्माण गरिदिएको छ।
समूहले प्रति परिवार १० फुट घाटको १५ सय रुपैयाँसम्म लिए समूहका अध्यक्ष प्रकाश राजवंशीले बताए। गरिब तथा विपन्न परिवारका लागि आवश्यकता अनुसार घाट निःशुल्क उपलब्ध गराइने उनको भनाइ छ।
अघिल्लो वर्षहरूमा तटबन्धमाथि बनाइएको सडक नजिकैबाट पानी बग्थ्यो, घाट पनि त्यही बनाउनु पर्थ्यो। यस वर्ष पानी केही परबाट बगिरहेको छ। ‘जसले गर्दा सडकमा हुने भीडभाड कमसँगै व्रतालु परिवारजनलाई पनि सहज हुन्छ, उनले भने।
बिजुली बत्ती, पण्डाल, सूर्य मन्दिर रंगरोगन, भजन सन्ध्या, पूजा खर्च गरी अनुमानित ४ लाख रुपैयाँ खर्च लागेको उनले बताए। समूहले अघिल्लो वर्ष नै नदी किनारमा स्थायी रूपमै सूर्य मन्दिर निर्माण स्थापना गरेको छ। यहाँ मधेसी समुदायबाहेक अहिले साझा पर्वको रूपमा पहाडी, मारवाडी, बङ्गाली, राजवंशीलगायतका समुदायले मेची नदीमा छठ पर्व मनाउँदै आइरहेका छन्।
मेची नदीमा छठ हेर्न भारतसहित देशका विभिन्न जिल्लाबाट करिब ५० हजार भक्तजन आउने अनुमान रहेको आयोजक समितिले जनाएको छ। सुरक्षाको दृष्टिकोणले पूजाको सामग्री बोक्ने तीन पाङग्रे (ठेला भ्यान) र अशक्त, ज्येष्ठ नागरिकको हकमा सिटी सफारीलाई घाटसम्म जाने दिने निर्णय भएको छ।

दुई पाङग्रे, चार पाङग्रे र ६ पाङग्रे सवारी साधनाको हकमा देबीवस्तीको पशुपति प्रावि नजिकै रोकिने र भन्सार अगाडिबाट जाने ती सवारीसाधनलाई भद्रपुर माविमा पार्किङ गराइनेछ।
नदी किनारमा हुने सम्भावित आपराधिक तथा उच्छृङ्खल गतिविधि रोक्न विभिन्न स्थानमा प्रहरी बिट, पैदल गस्ती, मोबाइल गस्ती परिचालन गर्न १०५ सशस्त्र, ७५ नेपाल प्रहरी र ९ जना ट्राफिक प्रहरी खटिने सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरका डीएसपी श्यामसंगती महर्जनले जानकारी दिए।
जिल्लाको मेचीसहित कनकाई, माई, निन्दा, हडिया, अदुवा, देउनियाँ, बिरीङ, रतुवा, कमल लगायतका नदी किनारहरूमा पनि छठको तयारी पूरा भएको छ।















प्रतिक्रिया दिनुहोस !