हत्यामा संलग्न दुई जना १६ वर्षपछि पक्राउ
![हत्यामा संलग्न दुई जना १६ वर्षपछि पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_IW5s79caG3_tfWTsMCcM5.jpg)
विराटनगर : हत्यामा संलग्न दुई जना १६ वर्षपछि मोरङबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा एक जना वृद्ध पुरुष छन्।
मिक्लाजुङ गाउँपालिका–१ का ७० वर्षीय देवीप्रसाद राई र ५० वर्षीय धनकुमार राईलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार देवीप्रसाद मंगलबार र धनकुमार गत शनिबार पक्राउ परेका हुन्। दुवै जनालाई गाउँघरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको दाहालले बताए।
देवीप्रसाद र धनकुमारले २०६४ जेठ २० गते राति मिक्लाजुङ–१ (साविकको रमितेखोला गाविस–४)का ३५ वर्षीय सन्तोष राईको हत्या गरेका थिए। कुटपिट गरेर सन्तोषको हत्या गरेपछि जंगलमा लगेर शव गाडेको प्रहरीको भनाइ छ। प्रहरीले देवीप्रसाद र धनकुमारविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाएको थियो।
जिल्ला अदालत मोरङले दोषी ठहर गर्दै दुवै जनालाई २०६७ सालमा जनही ५ वर्ष कैद सजायको फैसला गरेको थियो। तर, घटनापछि उनीहरु भागेका थिए। सजाय भुक्तान नगरिकन फरार रहेका दुवै जनालाई पक्राउ गरेर प्रहरीले मंगलबार अदालतमा बुझाएको छ। प्रहरीले पेस गरेपछि देवीप्रसाद र धनकुमारलाई अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)