मुगुको छायाँनाथमा चल्यो नगरबस
मुगु : छायाँनाथ रारा नगरपालिकाले नगर बस सेवा सञ्चालनमा ल्याएको छ। नगरपालिकाले बिहीबारदेखि नगर क्षेत्रभित्र नगरबस सेवा सञ्चालन गरेको हो। पालिकाले ८४ लाखमा दुईवटा बस खरिद गरेको छ।
नगरपालिका भित्रका ३४ रुट मध्ये पहिलो चरणमा सदरमुकाम गमगढीबाट आठ वटा रुटमा नगर बसले सेवा दिने नगरपालिकाले जनाएको छ। वडा नम्बर १४ बाम गाउँसम्मको २२ किलोमिटरसम्मको रुटमा बिहीबार औपचारिक रुपमा उद्घाटन गरिएको हो।
नगरपालिकाको १४ वडाका ८७ बस्तीमध्ये दुई बस्तीमा सडक पुगेको छैन। अन्य सबै बस्तीमा सडक पुगेको भए पनि सर्वसाधारणले सहुलियत दरमा यातायात सेवा प्रयोग गर्न पाएका थिएनन्।
गमगढीदेखि बाम गाउँसम्म भाडा जीपहरूले प्रतिव्यक्ति एकतर्फी ६ सय रुपैयाँ भाडा लिने गरेका छन्। नगर पालिकाले आफ्नो सेवामार्फत प्रतिव्यक्ति ३ सय र अपांगता भएका व्यक्ति र जेष्ठ नागरिकलाई नगरबस सञ्चालन कार्यविधि अनुसार भाडामा छुट हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीले जानकारी दिए ।
नगरपालिका नगरबस सञ्चालनमा ल्याएपछि वडा नम्बर १३ र १४ का स्थानीय खुसी भएका छन्। नगरबस सञ्चालन आउनुअघि दुईतर्फी एक हजार २ सय भाडा तिर्दै आएका थिए। अहिले ६ सय रुपैयाँमा आवतजावत गर्न पाउने भएपछि स्थानीयवासी खुसी भएका छाँयानाथ रारा नगरपालिका-१४ का तिलक बुढाले बताए।
नगरबस सञ्चालनमा आएको यो सडक खण्ड सदरमुकाम गमगढी र हुम्ला जोड्ने सडक हो। नगरपालिकाले सहुलियत दरमा यातायात प्रयोग गर्न पाउने वातावरण बनेको सांसद ऐनबहादुर शाहीले बताए।
नगर प्रमुख विष्णुकुमार भामले आफ्नो चुनावी नारामानगरवासीको सहज यातायात पहुँचका लागि आफ्नो पाँच वर्षे कार्यकालमा चारवटा नगरबस खरिद गर्ने प्रतिबद्धताअनुसार पहिलो पटक दुई वटा बस खरिद भएको बताए।