सौर्य र नवीकरण ऊर्जामा दुबईको छलाङ
दुबई : पृथ्वीमा दिनानुदिन बढ्दै गइरहेको तापक्रम र जलवायु परिवर्तनको असरले अति प्रभावित हुने मुलुकमध्ये यूएई पनि एक हो । सन् १९९० देखि सन् २०२२ सम्मको अवधिमा औसत एक दशमलव २७ डिग्रीले यूएईको तापक्रम बढिरहेको तथ्यांकले देखाएको छ । यसलाई नियन्त्रण गर्न नसकिए सन् २०७० सम्म यूएईलगायत मध्यपूर्वको औसत तापक्रम ३५ डिग्रीभन्दा बढी हुने र त्यसले मध्यपूर्वको मानव जीवनलाई प्रभावित पार्न सक्ने निष्कर्षसहित यूएईले उत्सर्जन उत्पादनमा कमी ल्याई जलवायु परिवर्तनको असरलाई कम गर्न विभिन्न उपायहरू चाल्न सुरु गरेको हो ।
यूएईले सन् २०३० सम्म उत्सर्जन आधा कम गर्ने र सन् २०५० सम्म शून्य उत्सर्जन मुलुकमा दर्ज गर्ने प्रतिबद्धतासहित सन् २०१६ मा पेरिस सम्झौतामा हस्ताक्षर गरेको थियो । यसपालिको कोप–२८ सम्मेलनमा विशेषगरी यूएईले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न महत्वपूर्ण एजेन्डाहरू छलफलका लागि अघि सार्नेछ । स्वच्छ ऊर्जा उत्पादनको मोडालिटी, विकसित देशहरूमा भएको कार्बन उच्च उत्सर्जनको कारण जलवायु परिवर्तनले प्रभावित मुलुकहरूलाई दिइने क्षतिपूर्ति (लस एन्ड ड्यामेज प्याकेज), नवीकरण ऊर्जा र आर्थिक स्रोतको उपायहरूका बारेमा सम्मेलनमा महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ ।
सामुद्रिक किनाराको उचाइ वृद्धि, उच्चआद्रतामा वृद्धि, खडेरी र सुक्खायाम र मरुभूमिमा चल्ने बालुवासहितको आँधीबेहरीको मारमा मध्यपूर्वका देशहरू परेका छन् । जलवायु परिवर्तनको कारणले थप वृद्धि हुने भन्दै यसलाई कम गर्ने रणनीतिसहित यूएईले यो सम्मेलनको आयोजना गरेको हो । सम्मेलन क्षेत्रमा प्लास्टिकजन्य उत्पादनलाई प्रतिस्थापन गर्दै कागज र अन्य प्राकृतिक निर्मित सामान मात्रै प्रयोगमा ल्याइनेछ ।
स्वच्छ ऊर्जा उत्पादन गर्ने रणनीतिअनुसार नै यूएई सरकारले अबुधाबीमा १ सय मेगावाट क्षमताको साम्स सौर्य ऊर्जा केन्द्रको स्थापना गरेको छ । त्यसैगरी अबुधाबी मै रहेको मस्दार सिटी संसारकै एकमात्र पर्यवरणीय सहरका रूपमा विकास गरेको छ । जसमा ११ मेगावाट सौर्य ऊर्जाबाट उत्पादन गरिएको छ । यसैगरी सन् २०२० मा यूएई सरकारले २ गिगावाट क्षमताको दाफ्रा सोलार प्रोजेक्टको घोषणा गरेको छ । २० किलोमिटर वर्ग क्षेत्रफलभित्र बन्ने उक्त प्रोजेक्ट निर्माणको क्रममा छ । यसबाट संसारको सबैभन्दा सस्तो मूल्यमा बिजुली उत्पादन हुनेछ । जसको मूल्य माइनस ४ दसमलव ९७ दिराम अर्थात् १ सय ९३ रुपैयाँ प्रतिकिलोवाट ऋणात्मक हुनेछ । यसैगरी दुबई स्वच्छ ऊर्जा उत्पादन केन्द्रले सन् २०३० सम्म २५ प्रतिशत र सन् २०५० सम्म ७५ प्रतिशतभन्दा बढी उत्पादन सौर्य ऊर्जा र ऊर्जा नवीकरण प्रविधिबाट गरिने जनाएको छ ।
दुबईले पनि ५ गिगावाट क्षमताको मोहम्मद बिन रसिद सौर्य ऊर्जा उत्पादन केन्द्रको घोषणा गरिसकेको छ । यसैगरी दुबई र अबुधाबीले सहरबाट उत्पादन हुने फोहोरलाई प्रयोग गरी ऊर्जा उत्पादन गरिरहेका छन् । यूएईले बिजुली गाडीको प्रबद्र्धनमा पनि जोड दिन थालेको छ । यूएईको कार बजारको एक प्रतिशतभन्दा धेरै बिजुली कारले ओगटेको छ । आजकल यूएईको बाटोभरी यत्रतत्र बिजुली कार दौडिएको देख्न सकिन्छ भने सार्वजनिक ट्याक्सीसमेत सौर्य ऊर्जाबाट सञ्चालित प्रयोगमा ल्याउन थालिएका छन् ।
यूएईले संसारभरमा हालसम्म ५० बिलियन डलर क्लिन इनर्जी प्रोजेक्टमा खर्च गरिसकेको छ भने सन् २०३० सम्म थप ५० बिलियन डलर खर्च गर्ने प्रतिबद्धता जनाएको छ । यूएईले गत अगस्त महिनामा अमेरिकासँगको साझेदारीमा थप १०० बिलियन डलर क्लिन इनर्जी प्रोजेक्टमा खर्च गर्ने सम्झौता पनि गरेको छ ।
सौर्य ऊर्जा र ऊर्जा नवीकरण प्रविधिमा यूएईले गरेको छलाङलाई संसारभरले आश्चर्यजनक ढंगले हेरेको पाइन्छ । सम्भवत यूएई कोप–२८ दुबईमा आयोजना गरेर कार्बन उत्सर्जन घटाउन आफूले गरेको अनुकरणीय कार्यलाई विश्वसामु प्रदर्शन गर्न चाहन्छ ।
कोप–२८ सम्मेलन (संयुक्त राष्ट्र जलवायु परिवर्तन फ्रेमवर्क सम्मेलन) नोभेम्बर ३० तारिख अर्थात् मंसिर १४ गतेबाट दुबईमा सुरु हुँदैछ । १३ दिनसम्म चल्ने सम्मेलनमा विश्वका ५० भन्दा बढी राष्ट्र प्रमुखहरूसहित झन्डै १ सय ९५ देशका प्रतिनिधिहरूले भाग लिनेछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ सहित वनमन्त्री शक्ति बस्नेत नोभेम्बर २९ तारिक यूएई आउने कार्यतालिका छ । प्रधानमन्त्री दाहालले नोभेम्बर ३० तारिख यूएईमा रहेका नेपाली कामदार तथा व्यवसायीहरूसँग छलफल गर्ने कार्यक्रम रहेको अबुधाबी दूतावासले जनाएको छ । त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नोभेम्बर ३० तारिख यूएई आइपुग्ने छन् । डिसेम्बर १ मा उनले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चीनले भने राष्ट्रपति सि चिङफिङका विशेष दूतका रूपमा दीन छुछियाङलाई पठाउने भएको छ । उनी चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य हुन् ।
उत्सर्जनका कारण हुने जलवायु परिवर्तनले पृथ्वीलाई पारेको असर र त्यसको न्यूनीकरणका बारेमा सम्मेलनमा छलफल हुनेछ । सन् २०२१ मा दुबईका राजा यूएईका उपरास्ट्रपति तथा प्रधानमन्त्री मोहम्मद बिन रसिद अल मक्तुमले सम्मेलनको घोषणा गरेका थिए । सम्मेलन दुबईको एक्स्पो सिटीमा हुनेछ । यही स्थानमा गत वर्ष दुबई एक्स्पो सम्पन्न भएको थियो । कार्यक्रम स्थललाई ग्रीन जोन र ब्लु जोन गरी दुई भागमा बाँडिएको छ । ब्लु जोनमा विश्वभरबाट आएका सरकारी प्रतिनिधिहरू, सरकार प्रमुखहरू, राष्ट्रध्यक्षहरूले सभा सम्मेलन गर्नेछन् भने ग्रीनजोन सर्वसाधारणलाई खुला गरिनेछ ।