जग्गा बेच्न सरकारी छाप दस्तखत किर्ते, ५ जना पक्राउ
विराटनगर : संयुक्त नाममा रहेको जग्गा व्यक्तिका नाममा ल्याएर बिक्री गर्नका लागि सरकारी छाप दस्तखत किर्ते गरेको कसुरमा प्रहरीले मोरङबाट पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरू ६० वर्ष माथिका र एउटै वडाका बासिन्दा हुन्। रतुवामाई नगरपालिका-४ की ६२ वर्षीया झरियादेवी राजवंशी, ६३ वर्षीय विष्णु राजवंशी, पैखनलाल राजवंशी, ६४ वर्षीय कन्हरूलाल केवरत र ६५ वर्षीय चेतनलाल राजवंशीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेहरूले घरबाटो र जग्गा वर्गीकरणको सिफारिस पत्र बनाउँदा किर्ते गरेको पाइएको छ। उनीहरूले रतुवामाई-३ का वडाध्यक्ष देवीलाल ताजपुरियाको हस्ताक्षर, वडा कार्यालयको छाप र लेटरप्याड किर्ते गर्दै फर्जी चलानी नम्बर राखेर सिफारिस पत्र बनाएका हुन्। सिफारिस पत्र किर्ते रहेको र चलानी नम्बरसमेत नमिलेको डीएसपी दाहालको भनाइ छ।
उनका अनुसार वडाध्यक्ष ताजपुरियाले दिएको जाहेरीका आधारमा पाँच जनालाई पक्राउ गरिएको हो। जग्गा बिक्रीका लागि मूल्यांकनलगायतका काम गर्न वडा कार्यालयबाट घरबाटो र जग्गाको वर्गीकरणको सिफारिस बनाएर जग्गा धनीले मालपोत कार्यालयमा पेस गर्नुपर्ने हुन्छ। उक्त सिफारिसका आधारमा मालपोतले प्रक्रिया अघि बढाउँछ।
मालपोत कार्यालय रंगेलीका प्रमुख सुनील पौडेलका अनुसार रतुवामाई-३ मा ८-९ जनाको संयुक्त नाममा ३ बिघाभन्दा धेरै जग्गा थियो। त्यसलाई व्यक्तिगत नाममा ल्याएर बिक्री गर्नका लागि जग्गा धनीले घरबाटो र वर्गीकरणको सिफारिस बनाएर मालपोतमा पेस गरेको उनको भनाइ छ। ‘सिफारिसका आधारमा मालपोत कार्यालयबाट काम भएर जग्गाको किनबेच पनि सुरु भइसकेको रहेछ। तर, उक्त सिफारिस नै किर्ते रहेको कुरा थाहा भयो,’ पौडेलले भने, ‘त्यसपछि बुझ्न वडा कार्यालयलाई पत्राचार गरियो। वडाबाट सिफारिस नदिएको जवाफ आयो।’
पक्राउ परेकाहरू जग्गा धनी हुन्। संयुक्त नाममा रहेको जग्गा किर्ते सिफारिसका आधारमा मालपोतबाट व्यक्तिका नाममा ल्याएपछि ६ जनाले बेचिसकेको पाइएको मालपोत प्रमुख पौडेलको भनाइ छ। ‘केही जग्गा किनबेच भएर पाससमेत भइसकेको छ। केही जग्गा पास हुन बाँकी छ,’ उनले भने, ‘त्यहीबीचमा जग्गा धनीले किर्ते सिफारिस बनाएको विषय आयो। बुझ्दा वडाबाट सिफारिस नै नबनाएको र किर्ते गरेको खुलेको हो।’
मालपोत कार्यालयबाट जग्गा पास गराउन जग्गा धनीले वडा कार्यालयदेखि घरबाटो र वर्गीकरणको सिफारिस लिएर आउनुपर्ने उनले बताए। ‘सिफारिस हेर्दा दुरुस्तै देखिएपछि मालपोतले जग्गा पासलगायतका प्रक्रिया पूरा गरिदिएको हो,’ पौडेल भन्छन्, ‘किर्ते गरेको कुरा आएपछि वडा कार्यालय र प्रहरीलाई खबर गरियो।’ यो घटनामा पीडित कोही नभएको र जग्गा बेच्ने तथा किन्ने तयार रहेपनि किर्ते गरेर सिफारिस पत्र तयार पारेको पाइएको उनको भनाइ छ।
वडाध्यक्ष ताजपुरियाले पनि उक्त सिफारिस वडाबाट नदिएको तथा आफ्नो हस्ताक्षर, वडाको छाप र लेटरप्याड नै नक्कली रहेको बताएका छन्। चलानी नम्बर गलत राखेर मालपोतमा पेस गरेको पाइएको उनको भनाइ छ। त्यो कुरा मालपोतले आफूलाई जानकारी गराएको ताजपुरिया बताउँछन्। उनका अनुसार जग्गा धनीले सिफारिसवापत तिर्नुपर्ने राजस्व छली गर्न किर्ते कागजात तयार पारेको हुनसक्छ।
गत कात्तिक २ गतेको मिति राखेर किर्ते सिफारिस तयार पारिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरूविरुद्ध प्रहरीले कात्तिक १६ गते अदालतबाट पक्राउ अनुमति लिएको थियो। रतुवामाई-४ झुर्कियाबाट पक्राउ परेकाविरुद्ध सरकारी छाप दस्तखत किर्ते मुद्दा चलाउन आइतबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी दाहालले बताए।
घरबाटो र वर्गीकरण सम्बन्धी समान्य सिफारिस लिनलाई केका लागि किर्ते गर्नु परेको हो भन्ने कुरा अनुसन्धानबाट खुल्ने उनको भनाइ छ। यसमा ककसको मिलेमतो छ भनेर खुल्न बाँकी रहेको जानकारी दाहालले दिए।
प्रतिक्रिया दिनुहोस !