मधेश प्रदेशको प्रसिद्ध कमला नदीमा स्नान गर्नेको भीड

मधेश प्रदेशको प्रसिद्ध कमला नदीमा स्नान गर्नेको भीड
सुन्नुहोस्

महोत्तरी : कातिक पूर्णिमाको अवसरमा मधेश प्रदेशको प्रसिद्ध कमला नदीमा स्नान गर्नेहरुको भीड लागेको छ।  सिरहा र धनुषाको सीमानामा पर्ने पवित्र कमला नदीमा स्नान गर्ने श्रद्धालु भक्तजनहरुको बिहानैदेखि घुइँचो लागेको छ।

आजको दिन कमला नदीमा डुबकी (स्नान) गर्दा मनोकांक्षा पूर्ण हुने, शरिर शुद्धि हुने तथा भुत बैतालको कहरबाट बच्न कुलदेवी देवताको गुहार गर्दा त्यसबाट छुटकारा पाउने जनविश्वास रहेको छ। जसका लागि घरबाट काम्दै धामी झाँक्रीसहितको टोली गएराति नै कमला नदीको सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाट पुगेका छन्।

कमला नदीलाई गंगा सरह मानिन्छ। यहाँ कार्तिक पूर्णिमाको दिन स्नान, दान र व्रत गर्नाले मुक्ति मिल्ने जनविश्वास छ। सृष्टिको आरम्भदेखि नै यो दिनको खास महत्त्व रहेको छ। त्यसैले आजको दिन कमला स्नान गर्न गाउँगाउँबाट लाखौं मानिस उर्लिएका छन्। त्यहाँ पुगेका धामीले लोक भाकामा ‘महराई’गाउँछन्। ‘महराई’एक मन्त्र हो। मिर्दङ–मादल, झ्याली, ढोल र पिपही जस्ता बाजाको तालमा धामीले ‘महराई’ गाएपछि भगताको शरीरमा घरमा पूजिने कूलदेउता आउने मान्यता छ।

मधेशका प्रायः हरेक हिन्दूले घरमा कूलदेवता पूज्छन्। देवतालाई घरका एकजना जो शुद्धि प्राप्त गरेका हुन्छन्, उसले मात्र पूजा गर्छन्। यदि देउता पूजने घरको व्यक्ति अशुद्ध भयो वा निधन भयो भने परिवारकै अर्का व्यक्तिको शरीरमा देउता आउन थाल्छ। देउता आउन थालेपछि कार्तिक पूर्णिमाकै दिन धामीको साहारामा शुद्धि प्राप्त गरिन्छ। शुद्धि प्राप्त गर्ने व्यक्तिलाई भगता भनिन्छ। धामीले कमलामा स्नानअघि भगतालाई सतबैद अर्थात् शपथग्रहण गराउँछन्।

पुरुष भगता पहेँलो धोती र महिला भगता पहेँलो रातो सारीमा सजिएका हुन्छन्। उनीहरु हातमा बलेको आगोसहितको माटोको ढकना (भाँडा) र बेतको लाठी घुमाउँदै चर्को स्वरमा कराउँछन्। भूत जस्तै हाउभाउ देखिने हुँदा ‘पूर्णिमा मेला’लाई भूत मेला भन्न थालिएको छ।

सर्वसधारणले कमला नदीमा स्नान गर्दै कमलेश्वरी मातासंग घर–परिवारको रक्षा, सुख शान्ति र समृद्धिको कामना गर्छन्। कतिपयले मनोकामना पूरा भएको भन्दै बोकाको बली समेत चढाउँछन्। प्रायः व्यक्तिले झाप, लड्डु र फलफूल समेत चढाउँदै पूजापाठ गरेका छन्।

कमलामा प्रत्येक वर्ष कातिक शुक्ल पूर्णिमाको दिन लाग्ने यस मेलालाई धामी झाँक्रीको मेला पनि भनिन्छ। आजका दिन नयाँ नयाँ धामी झाँक्री बन्न सक्ने जनविश्वास रहेको छ। भूत मेलामा स्नान गरेपछि भक्तजनहरुले कमला नदीको शुद्ध पानी आ–आफ्नो घर लैजाने परम्परा रहेको छ। जुन पानीले धार्मिक अनुष्ठा तथा पूजापाठको क्रममा छर्केर शुद्ध पार्न प्रयोगमा ल्याइने गर्दछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.