राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जलेश्वरमा सुरु
महोत्तरी : महोत्तरीको जलेश्वरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक बसेको छ।
सोमबार दिउँसोबाट सुरु भएको सो बैठकमा पार्टीका पदाधिकारीसहित ३९ केन्द्रीय सदस्य र २१ सांसद सहभागी रहेका छन्। पार्टी स्रोतका अनुसार मंसिर १३ गतेसम्म जारी रहने सो केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन प्रस्तुत हुने भएको छ।
प्रदेश सभापतिहरूले सम्बन्धी प्रदेशको राजनीति तथा सांगठनिक अवस्थाबारे प्रतिवेदन प्रस्तुत गर्ने पार्टीका केन्द्रीय उपाध्यक्ष डिपी अर्यालले जानकारी दिएका छन्।
सभापति रवि लामिछानेले मंगलबार बस्ने बैठकमा पार्टीको राजनीति प्रतिवेदन प्रस्ताव पेस गर्ने कार्यसूची रहेको रास्वपाका संगठन विभाग प्रमुख कवीन्द्र बुर्लाकोटीले बताएका छन्।
पार्टी सभापति रवि लामिछानेले पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै मधेसको समग्र अवस्था बुझ्नका लागि महोत्तरी सदरमुकाम जलेश्वरमा पार्टीको केन्द्रीय समितिको बैठक बसेको जानकारी दिएका छन्।
यसअघि मधेसका आठवटै जिल्लामा गई समग्र अवस्था बुझेकाले यस बैठकले मधेसको हितमा अवश्य नै ठोस निर्णय लिइने सभापति लामिछानेले धारणा राखेका छन्।
प्रतिक्रिया दिनुहोस !