पाल्पामा न्वागी महोत्सव
तानसेन : पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका-३ भुवनपोखरी रैनादेवी मन्दिर परिसर गोखुंगामा सर्वसाधारण तथा पाहुनाहरूलाई दही चाम खुवाएर सोरठी नाच्दै न्वागी महोत्सव गरिएको छ।
कृषकहरूले नयाँ धान घर घरमा भित्राएपछि रैनादेवीलाई चढाएर मात्र खाने परम्परा पर्वलाई पश्चिम पाल्पामा न्वागी भन्ने गरिन्छ। रैनादेवी मन्दिर संरक्षण समितिले न्वागी महोत्सवमा सहभागीहरूलाई दही चामल खुवाएर मगरी ठूलो नाच, सोरठी नाच, पञ्चेबाजा, भजन कीर्तनमा नचाएर न्वागी महोत्सव गरेको हो।
न्वागी महोत्सवमा लुम्बिनी प्रदेशका सभामुख, जिल्ला समन्वय समितिका प्रमुख, जिल्लाका राजनीतिक दलका प्रमुखहरूको सहभागिता रहेको थियो। न्वागी महोत्सवमा सहभागी लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगर पश्चिम पाल्पाको ठूलो पर्वका रूपमा न्वागी पर्व रहेको र यस क्षेत्रको परम्परागत कला संस्कृतिको जर्गेना, तथा रैनादेवी मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रदेश सरकारको तर्फबाट पहल गर्ने बताए।
रैनादेवी क्षेत्रमा मनाइएको न्वागी पर्व धार्मिक, ऐतिहासिक र कला संस्कृतियुक्त मौलिक पर्व रहेको छ। गाउँपालिकाका अध्यक्ष रुक्मांगत भट्टराईले रैनादेवी क्षेत्रको विकास निर्माणदेखि मन्दिर पुनर्निर्माणका कामहरूलाई प्राथमिकता दिएर काम गर्दै आएको बताए।
पाल्पा, गुल्मी र अर्घाखाचीका कृषकहरूले नयाँ धानको चामल रैनादेवीलाई चढाएर खाने परम्परालाई न्वागीका रूपमा मान्दै आएको पालिका अध्यक्ष भट्टराईले बताए। रैनादेवी क्षेत्रको परम्परा संस्कृति बचाउन न्वागी महोत्सव गरी सबैलाई दही चामल खुवाउने गरिएको वडाध्यक्ष प्रदीप पौडेलले बताए।
यस क्षेत्रका जनताले रैनादेवीलाई नयाँ चामल चढाएर मात्र घर घरमा प्रयोग गर्ने दिनलाई न्वागी रूपमा मनाउने गरेको वडाध्यक्ष पौडेलले बताए। पश्चिम पाल्पा, पूर्वी अर्घाखाँची र दक्षिण गुल्मी क्षेत्रमा नयाँ धान रैनादेवीलाई चढाएर, देवीको पुजा पाठ गरी खाने प्रचलनलाई न्वागी पर्व भन्ने गरिन्छ। तान्त्रिक विधिबाट रैनादेवी मन्दिर परिसरमा लामाधामीले न्वागीको मिति तोक्ने परम्परा रहेको पाइन्छ।
रैनादेवी मन्दिरमा न्वागी महोत्सवमा आउने सबै भक्तजन, पर्यटक, तथा दर्शकहरूलाई दही चामल खुवाएको थियो। केही वर्षदेखि गाउँपालिकाले स्थानीय कला संस्कृति बचाउन, युवा पुस्तामा कला संस्कृति सिकाउन न्वागी महोत्सवमा स्थानीय भजन, पञ्चेबाजाको प्रस्तुति र सोरठी ठूलो नाच प्रदर्शन गरिएको थियो। स्थानीय कला संस्कृति हेर्न दर्शकहरूको भीडभाड रहेको थियो।