जमघटपछिको स्वास्थ्य

जमघटपछिको स्वास्थ्य
सांकेतिक तस्बिर।

जुनसुकै समाजलाई पनि खुसी र चाडबाडले प्रभाव पार्छ नै। तर, नेपाली समाजमा फरक छ। हामी एक साता पहिलेदेखि नै र एक साता पछिसम्मै रमाइरहन्छौं। माग बढ्दा आपूर्ति बढाउनुपर्ने अर्थशास्त्रीय नियमभन्दा माग बढेपछि मिसावट, मूल्य बढाउने प्रवृत्तिले नेपाली बजार आक्रान्त हुने गर्छ। मासु, चिल्लो, मसला, मिठाई, धूमपान र मद्यपान अनि मुखमैत्री छौं हामी अधिकांश, स्वास्थ्यमैत्री छैनौं।

खानपानका सन्दर्भमा ‘छउन्जेल भोजपुरे ख्वाइ, सिद्धिएपछि सिद्रा सुकाइ’ मध्यमवर्गीय परिवारमा व्याप्त छ। यसैका कारण कैयौं स्वास्थ्य समस्या निम्त्याइरहेका छौं। खासमा खुसीको अवसर र जमघटलाई पनि कस्तो बनाउने भन्ने तपाईं हाम्रै हातमा छ। खाना र व्यवहारमा ध्यान नदिँदा अस्पतालमा चाप हुनु स्वाभाविक हो।

उच्च रक्तचाप, मुटु र पेटजन्य समस्या अपच, पखाला तथा निन्द्राजन्य बिरामीको संख्या ह्वात्तै बढ्छ। दीर्घरोगीमा समस्या झन् बढ्छ भने जोखिमको बाटोमा रहेकाहरूमा एकैपटक लक्षण देखिन थाल्छ। लामो समयपछि र अन्तरालमा आउने जमघटमा आवश्यकभन्दा बढी मात्रामा गुलियो, चिल्लो र गरिस्ट खाना खाने हाम्रो बानी छ। 

खानपिनमा गुलियो, अमिलो, पिरो, नुनिलो र चिल्लोको मात्रा बढी भएको आहार, विहार हामीलाई मनपर्छ। जसले निद्रासमेत असन्तुलन हुन गई स्वास्थ्यमा गडबड हुन्छ। प्रशस्त रक्सी नभए, मनग्गे खान नपाए, धूमपानको फूर्तिफार्ती नलाए हाम्रो धित मर्दैन। नाचगान र गफगाफ नगरे अनि जुवातास नखेले चाड मानेजस्तो नहुने सोच धेरैमा पाइन्छ।

चित्ताकर्षक रंग मिसाइएको मिठाई स्वादका लागि जति मिठो भए पनि गुणस्तरहीन हुन्छ। त्यस्ता हानिकारक मिठाइले भने स्वास्थ्यलाई राम्रो गर्दैन। रंगमा सिसा, पारो, तामाजस्ता तत्व हुन्छन्। तामाको आयनले श्वास–प्रश्वास प्रणालीमा प्रत्यक्ष असर गर्छ भने मांसपेशीलाई क्षतविक्षतपार्छ। पारोयुक्त लबणले घाँटी खसखसाउने, श्वास–प्रश्वासमा समस्या, आन्तरिक सुजनजस्ता समस्या उत्पन्न गराउँछ। पारोले मुख्यतः निष्कासन प्रणाली, मिर्गाेलामा असर तथा तामाजन्य विषादीको संग्रहमा मद्दत पुर्‍याउँछ। सिसाले कोरेको वंशाणु डिएनए र आरएनएसँग अन्तक्र्रिया गरी क्षतविक्षत बनाउँछ। शरीरबाट सजिलै बाहिर नआउने र भित्र पनि नष्ट नहुने यस्ता तत्वहरू लामो समयसम्म शरीरमा रहन्छन्। जुन मन्दबिष हुन्।

पटाकाका नकारात्मक पक्ष अनगिन्ती छन्। यसबाट प्रताडित हुनेमा अधिकांश महिला, १८ भन्दा कम उमेरका बालबालिका र त्यसमा पनि मधेसका बढी हुन्छन्। युनिसेफका अनुसार विश्वमा बर्सेेनि साढे ७ लाख व्यक्तिको डढेर मृत्यृ हुन्छ, जसमा चाडबाडमा पड्काउने पटाका मुख्य जिम्मेवार छ। पटाकामा एउटा आवाजको र अर्काे पड्काइ वा ब्लास्टको प्रभाव हुन्छ। तिखो आवाजले फिर्ता नहुन सक्ने गरी कानको भित्री नशा कमजोर हुनसक्छ भने पड्काइले कानको जाली फुट्नसक्छ। फुटे शल्यक्रिया नै गर्नुपर्छ। कान कराउने समस्या स्थायी वा अस्थायी रूपमा देखिन सक्छ।

५० डेसिवलभन्दा बढी आवाज कान तथा स्वास्थ्यका लागि हानिकारक हुन्छ भने १२५ डेसिवल बढीले कानको पर्दालाई नोक्सान तथा श्रवणशक्ति गुम्न सक्छ। पटाकामा भएको नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड, क्याडमियम, सिसा, तामा, म्यागनिज, सोडियम, सल्फर, म्याग्नेसियम, पोटासियमलगायतले ब्रोङकाइटिस जस्ता श्वास–प्रश्वाससम्बन्धी समस्या निम्त्याउँछ। सास र दमको समस्या हुनेहरू धुवाँबाट बच्नुपर्छ। जसका लागि घरभित्रै बस्ने, बाहिर निस्कँदा मास्क लगाउने तथा दमको औषधि साथमै राख्नुपर्छ। पटाकाका कारण जलिहाले जलेको भाग तुरुन्त चिसो सफा पानीमा डुबाउनुपर्छ। तेल वा घ्यु लगाउनुहँुदैन। पटाका चलाउँदा, दियो बाल्दा तथा खाना बनाउँदा प्रायः दुर्घटना हुन्छ। तसर्थ प्राथमिक उपचारका लागि फस्ट एड बक्स घरमा राख्नुपर्छ। पटाकाका कारण आँखामा कुनै कण परे तुरुन्त सफा पानीले धुनुपर्छ। तब पनि असजिलो महसुस भए चिकित्सकलाई देखाउनुपर्छ।

बच्चाहरू संवेदनशील हुने भएकाले पटका पड्कँदा निस्कने आवाज, हानिकारक प्रदूषकसँगै बारुदका कण फैलिँदा बालबालिकामा केही समय सास फेर्न अप्ठ्यारो, आँखा, नाक सुक्खा हुन थाल्ने हुन्छ। आतेशवाजी र पटकाले आगजनी मात्र हुँदैन, बरु आँखामा चोट, आँखाको ढकनी च्यातिने, दृष्टि गुम्ने, हृदयघात, रक्तचाप, दम, छाला, सास, नाकको एलर्जी, ब्रोङकाइटिस, निमोनिया, कानको जाली च्यातिने, कान कराउने, श्रवणशक्ति नोक्सान हुने, हातखुट्टा जल्ने, टाउको दुख्ने, अनिद्रा तथा कहिलेकाहीँ ज्यानै जानेसमेत स्वास्थ्य समस्या हुनसक्छ। त्यसैले स्वास्थ्य जोगाउन पलपल होस् गर्नुपर्छ, हरेक काममा विचार पुर्‍याउनुपर्छ।

- बुढाथोकी नेपाल चिकित्सक संघका उपाध्यक्ष हुन् 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.