अशक्तलाई घरमै नागरिकता

अशक्तलाई घरमै नागरिकता
सुन्नुहोस्

टीकापुर : कैलालीको दक्षिणी सीमावर्ती भजनी नगरपालिका-३ कुटीकी ५१ वर्षीय पूर्ण अशक्त एक महिलालाई इलाका प्रशासन कार्यालय टीकापुरले घरमै गएर नागरिकता दिएको छ। 

कुटीकी डम्बराकुमारी अखिल खत्रीलाई इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख चिरञ्जीवी राना नेतृत्वको टोलीले घरमै पुगेर शुक्रबार नागरिकता दिएको हो। २०२८ सालमा जन्मिएकी उनी जन्मजात नै बोल्न सक्दिनन्। उनका दुबै खुट्टा चल्दैनन्। 

दाङ जिल्लाको शान्तिनगर गाउँपालिका-४ एकली पुर्ख्यौली घर रहेकी उनका बुवा, आमा छैनन्। मामा दिपक सापकोटाको घरमै जन्मिएकी उनी त्यसयता भजनीमै मामासँगै बस्दै आएका छन्। ‘हाम्रा घरमै जन्मिएकी हुन्, उनी तीन वर्षको नहुँदै उनका आमा बुवा दाङ जानु भयो, उतै बित्नु भयो’ मामा सापकोटाले भने ‘अपांगता भएकी हुनाले समेत बुवा आमाले हाम्रा घरमा छोड्नु भएको हो।’

सरकारले सामाजिक सुरक्षा भत्ताका रूपमा उपलब्ध गराउँदै आएको अपाङ्गताको मासिक भत्ता नागरिकता नहुँदा साउनदेखि रोकिएको थियो। ‘भाञ्जीको नागरिकता नभएपछि सामाजिक सुरक्षा भत्ता रोकियो’, सापकोटाले भने ‘हामीले वडाध्यक्षलाई आग्रह गरेका थियौं, उहाँले इलाका प्रशासनसम्म पुगेर सबै काम गरिदिएपछि नागरिकता घरमै पाएका छौं।’

साउन महिनादेखि भत्ता नपाउँदा दुःखित भएकी उनी घरमै नागरिकता पाउँदा दङ्ग परिन्। सापकोटाका छिमेकी बुद्धिसिंह पाण्डेले गाउँलेले समेत मुचुल्का गरेर कागजात पुर्‍याएपछि घरमै नागरिकता पाएको बताए। ‘नागरिकता नपाउँदा दुःखित भएकी उनी घरमै नागरिकता पाउँदा निकै खुशी भएकी हुन्’ पाण्डेले भने ‘यिनै मामाकै घरमा जन्मिएकी हुन्, हाम्रा अगाडि हुर्किएकी हुन्, नागरिकता नहुँदा भत्ता समेत रोकिएको थियो।’

भजनी नगरपालिका-३ का अध्यक्ष बिक्रम चौधरीले पूर्ण रूपमा अपाङ्ग, अभिभावकविहीन उनलाई नगारिकता दिलाउन एक महिनादेखि लागेको बताए। उनका मामा सापकोटा र वडाध्यक्ष चौधरीले नै उनलाई नागरिकता दिलाउन सनाखत गरेका हुन्। ‘पूर्ण रूपमा असशक्त भएकी उनको नागरिकता नहुँदा भत्ता समेत रोकिएपछि मैले नै पहल गरेर सबै कागजात तयार गरी प्रशासनसम्म पुगेको थिएँ’ वडाध्यक्ष चौधरीले भने ‘उहाँको अवस्था र समस्या बुझेपछि इलाका प्रशासन कार्यालयका प्रमुख राना सरको टोली घरमै आएर नागरिकता दिएको हो।’

इलाका प्रशासन कार्यालयका प्रमुख रानाले तीन पुस्ते सनाखत गर्ने कोही नहुँदा मामा र वडाध्यक्षलाई सनाखत गरेर घरमै नागरिकता दिएको बताए। ‘भजनीमै जन्मिएकी, सनाखत गर्ने कोही पनि नभएपछि मामा र वडाध्यक्षलाई नै सनाखत गराएका छौं’ रानाले भने ‘उनको जीविकोपार्जनका लागि आउने भत्ता समेत रोकिएको थियो, पूर्ण रूपमा अशक्त भएपछि सबैतिर बुझेर घरमै नागरिकता दिएका हौं।’

हरेक नागरिकको नागरिकता प्राप्त गर्ने अधिकार भएको बताउँदै कार्यालय प्रमुख रानाले हालसम्म नागरिकता नपाएकी उनलाई भत्ताकै लागि भए पनि सम्पूर्ण कागजात पुर्याएर नागरिकता दिएको बताए। ‘हरेक नागरिकलाई नागरिकता प्राप्त गर्ने अधिकार हुन्छ, पूर्णरूपमा असक्त रहेकी उनको भत्ता रोकिएको रहेछ’ प्रमुख रानाले भने ‘वडाध्यक्ष, स्थानीयको मुचुल्का लगायतका कागजात बनाएर घरमै आएर दिएका हौं।’ 

पूर्ण रूपमा अपांगता भएकी उनले घरमै नागरिकता प्राप्त गरेपछि स्थानीयहरू समेत खुशी भएका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.